+
+
Shares

सप्तरीका ३ वटै सिँचाइ प्रणालीबाट पठाइयो पानी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते ८:५५

२५ असार, सप्तरी । कोशी पम्प चन्द्र नहर सिंचाइ व्यवस्थापन कार्यालय, राजविराजले सप्तरीका तीनवटै प्रमुख सिँचाइ प्रणाली-चन्द्र नहर, कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा यस वर्ष समयमै पानी प्रवाह गरेको छ ।

कार्यालयका अनुसार चन्द्र नहरमा असार १० गतेदेखि तथा गत आइतबारदेखि कोशी पम्प नहर र कोशी नहर सहायक वितरण प्रणालीमा पानी पठाइएको हो ।

छिन्नमस्ता गाउँपालिका–१ का किसान आनन्दी यादवले यस वर्ष धान खेतीका लागि सिँचाइको कुनै समस्या नभएको बताए । उनका अनुसार नहरमा समयमै पानी आउनुका साथै बेलाबेलामा वर्षा पनि भइरहेकाले धान रोपाइँ सहज बनेको छ।

कार्यालयका प्रमुख वीरेन्द्र यादवका अनुसार सप्तरीमा कुल ३४ हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने लक्ष्यसहित मूल तथा शाखा नहर गरी करिब एक हजार किलोमिटर नहर संरचना रहेको छ। त्यसमध्ये चन्द्र नहर प्रणालीबाट १० हजार ५ सय हेक्टर, कोशी पम्प नहरबाट १३ हजार १ सय हेक्टर र कोशी नहर सहायक वितरण प्रणालीबाट ११ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ भइरहेको छ।

उनले नहर संरचना पुरानो भएकाले केही स्थानमा पानी पुर्‍याउन चुनौती रहे पनि समयमै पानी छाडिएको र पर्याप्त वर्षा भइरहेकाले यस वर्ष नहरको कमान्ड क्षेत्रका किसानलाई सिँचाइ अभाव नहुने विश्वास व्यक्त गरे।

कार्यालय प्रमुख यादवले नहर सरसफाइका लागि अत्यन्त न्यून बजेट विनियोजन हुने गरेको बताए। उनका अनुसार नहरमा अत्यधिक बालुवा जम्मा हुने गरे पनि नियमित सरसफाइका लागि चालु वर्ष मात्र २८ लाख रुपैयाँ बजेट उपलब्ध भएको छ। बजेट अभावका कारण आवश्यकता र प्राथमिकताका आधारमा मात्रै सरसफाइ गर्नुपर्ने अवस्था रहेको उनले बताए।

चालु आर्थिक वर्षमा कार्यालयले १७ करोड रुपैयाँ विकास बजेट प्राप्त गरेको छ। उक्त बजेटबाट ठेक्का प्रक्रियामार्फत पानी तान्ने पम्प मर्मत, पुराना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, चुहावट हुने स्थानमा पक्की नहर निर्माण तथा आवश्यक स्थानमा कल्भर्ट निर्माण गरिएको कार्यालयले जनाएको छ।

नहरको सुरक्षा तथा रेखदेखका लागि कार्यालयले दैनिक ज्यालादारीमा १०९ जना कर्मचारी परिचालन गरेको छ। साथै नहर प्रणालीको संरक्षणका लागि जिल्लाभर १९ वटा जल उपभोक्ता समिति सक्रिय रहेका छन्।

कार्यालय प्रमुख यादवका अनुसार नहर किनारमा भएको अव्यवस्थित घर निर्माण तथा जग्गा अतिक्रमणका कारण नहर सरसफाइ र मर्मतमा समस्या भइरहेको छ। यसले नहर छेउका किसानलाई समेत खेती गर्न कठिनाइ उत्पन्न गरिरहेको उनले बताए।

‘अतिक्रमण हटाउन कार्यालयले आफ्नो तर्फबाट पूरा गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था मिलाइदिए हामी तत्काल अवैध अतिक्रमण हटाउन तयार छौं’, उनले भने।

यस्तै, बोदेबरसाइन नगरपालिका–५ स्थित कार्यालयको करिब दुई बिघा जग्गा पनि अतिक्रमणको जोखिममा परेको छ। त्यसको संरक्षणका लागि पश्चिम सप्तरी क्षेत्रमा खटिने नहर चौकीदारलाई पुरानो कार्यालय भवनमै नियमित बसोबासको व्यवस्था मिलाउने तयारी भइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?