२५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलअघि मोरक्कोलाई ठूलो झट्का लागेको छ । टोलीका प्रमुख खेलाडी इस्माइल साइबारी चोटका कारण फ्रान्सविरुद्धको महत्त्वपूर्ण खेल गुमाउने भएका छन् ।
मुख्य प्रशिक्षक मोहम्मद उहबीले साइबारी ह्यामस्ट्रिङको चोटबाट पूर्ण रूपमा निको नभएकाले बिहीबार बोस्टनमा हुने फ्रान्सविरुद्धको खेल खेल्न नसक्ने पुष्टि गरेका हुन् ।
‘साइबारी बाहेक सबै खेलाडी पूर्ण रूपमा फिट छन् । यो खेल उनका लागि धेरै चाँडो भयो । तर उनी प्रतियोगिताको बाँकी खेलबाट बाहिरिने अवस्था नआओस् भन्ने आशा छ’ उहबीले भने ।
साइबारीले अन्तिम १६ मा क्यानडाविरुद्ध ३–० को जितका क्रममा ह्यामस्ट्रिङमा चोट बोकेका थिए । त्यसपछि उनी मैदान छाड्न बाध्य भएका थिए ।
हालै डच क्लब पीएसभी आइन्डहोभेनबाट जर्मन क्लब बायर्न म्युनिखमा करिब ५ करोड युरोमा पाँच वर्षका लागि अनुबन्ध भएका साइबारी यस विश्वकपमा मोरक्कोका उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।
उनले समूह चरणका तीनै खेलमा गोल गरेका थिए भने अन्तिम ३२ मा नेदरल्यान्ड्सविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी पनि सफलतापूर्वक प्रहार गरेका थिए ।
साइबारीको स्थानमा क्यानडाविरुद्ध मैदान प्रवेश गरेका सुफियान रहिमीले गोल गर्दै आफ्नो प्रभाव देखाएका थिए । फ्रान्सविरुद्ध पनि रहिमीले सुरुआती टोलीमा स्थान पाउने सम्भावना छ ।
प्रशिक्षक उहबीले टोली क्वार्टरफाइनल पुगेर मात्र सन्तुष्ट नरहेको स्पष्ट पारे । ‘हाम्रो लक्ष्य भोलिको खेल जितेर सेमिफाइनल पुग्नु हो। यहाँसम्म आइपुग्नु नै पर्याप्त हो भन्ने सोच हामीलाई स्वीकार्य छैन,’ उनले भने।
यसैबीच, मोरक्कोका स्टार खेलाडी ब्राहिम डियाजले पनि फ्रान्सलाई चुनौती दिन आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताए ।
‘फ्रान्स उपाधिको प्रमुख दाबेदारमध्ये एक हो। तर हामी पनि उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम छौं, त्यसैले त यहाँसम्म आइपुगेका हौं। टोलीप्रति मलाई पूर्ण विश्वास छ,’ उनले भने ।
मोरक्को सन् २०२२ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग २–० ले बेहोरेको हारको बदला लिँदै फेरि एकपटक अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ ।
प्रतिक्रिया 4