+
+
Shares
नाटक :

नक्कली अदालतको खुला पत्र : इजलास जारी छ

हाम्रो समाजमा ‘इजलास’ अझै जारी नै छ – महिलाहरूमाथि, स्वतन्त्रतामाथि र व्यक्तिगत अधिकारमाथि ।

सापेक्ष सापेक्ष
२०८३ असार २६ गते ९:०६

कहिलेकाहीँ हुन्छ नि, हामी जिस्किँदा जिस्किँदै सँगै भएकोलाई पेच पर्छ । उ रिसाउँछ ।

कहिलेकाहीँ हुन्छ नि, हामी कल्पना गर्दागर्दै कुनै कुरा यथार्थ बनिदिन्छ । हामी अपसादमा फँस्छौं ।

कहिलेकाहीँ हुन्छ नि, हामी झुट बोल्दाबोल्दै सत्य बोल्न पुग्छौं । अनि हामी अनपेक्षित घटनाहरूसँग जुध्न पुग्छौं ।

ठ्याक्कै यस्तै हुन्छ देवयानीलाई । जो मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक इजलास जारी छ को एक पात्र हुन् ।

उनी शिक्षिका र प्रयोगात्मक नाट्य टोलीकी एक कलाकार हुन् । उनी संलग्न नाट्य टोली महिला अधिकार‍सम्बन्धी जनचेतना फैलाउने कचहरी नाटक लिएर कुनै गाउँको सामुदायिक सभाहलमा भर्खरै पुगेको छ । उनीहरूले यसअघि यो नाटक धेरै पटक मञ्चन गरिसकेका हुन्छन् ।

तर, ठीक यसबेला उनीहरूमध्ये एक जना कलाकार बिरामी भएर सभाहलमा आउन सक्दैनन् । त्यसपछि ती कलाकारको सट्टा व्यवस्थापनमा सहयोग गरिरहेका ईश्वर नामक व्यक्तिलाई नाट्य टोलीले नाटकमा सहभागी गराउने निर्णय गर्छन् । तर, ईश्वरले अहिलेसम्म नाटक, अदालत केही देखेको हुँदैन ।

यसैकारण ईश्वरलाई भरे मञ्चन हुने नाटकमा अभ्यस्त गराउन टोलीले नाटकको नयाँ अभ्यास गर्न थाल्छन् । त्यसक्रममा कचहरी नाटकका कलाकारहरूले अदालतमा चलिरहेको इजलासको एउटा काल्पनिक कथा बुन्छन् । सो क्रममा नै देवयानी अभियुक्त बन्छिन् ।

वास्तविक जीवनमा अविवाहित देवायानीमाथि अभ्यास गरिरहेको नाटकमा भ्रुणहत्याको काल्पनिक आरोप लगाइएको हुन्छ । तर, नाटकको अभ्यास हुँदै जाँदा त्यो काल्पनिक आरोप यथार्थ बन्दै जान्छ । यही क्रममै नाटकको बाँकी कथा अघि बढ्छ ।

यसरी इजलास जारी छ नाटकभित्रको नाटक शैलीमा मञ्चन गरिएको छ । यो नाटक भारतीय नाटककार बिजय तेंदुलकरको साइलेन्स ! द कोर्ट इज इन सेसन को नेपाली संस्करण हो । यसलाई विजय विस्फोस्टले नेपाली नाटकमा रुपान्तरण गरेका हुन् भने निर्देशन गुञ्जन दीक्षितले गरेकी हुन् ।

गुञ्जन निर्देशित यो नाटक मुल नाटकभन्दा खासै फरक छैन ।

स्थानीय झल्को दिन पात्रहरूको नाम, सेट, नेपाली गीत/कविता र संवादमा काम गरिएको छ । उसैगरी नाटकको केही भागमा निर्देशक गुञ्जनले निर्देशकीय स्वतन्त्रता समेत प्रयोग गरेकी छिन् ।

सररर हेर्दा इजलास जारी छ एउटा नक्कली अदालत र मञ्चको नियमित कार्य जस्तो लाग्छ । नाटकको केही कमजोरी पाटोलाई छाड्ने हो भने अस्तित्ववाद, पितृसत्ता, सत्यको निर्माण र मानवीय स्वतन्त्रतामाथि प्रश्न उठाइएको पाउन सकिन्छ ।

नेपाली ५० को दशकमा सेट गरिएको इजलास जारी छ मुख्यत: सत्य र झुटको खेल बन्न गएको छ । यसबाट एउटा ठूलो प्रश्न खडा हुन्छ – समाजले सत्य कसरी बनाउँछ ? अथवा बनाइरहेको छ ?

र, यो कुरालाई पात्रहरूको संख्याबाट बडो सुन्दर तरिकाले देखाइएको छ । जस्तो; यो नाटकमा दोष दिने पुरुष र दोष लिने महिला पात्र छन् । त्यसमा पनि सधैं पुरुष पात्रहरूकै आवाज ठूलो हुन्छ । यसले महिला अधिकार‍सम्बन्धी जनचेतना फैलाउने प्रयोगात्मक नाट्य टोलीको उद्देश्य पनि अप्रत्यक्ष तरिकाले साँच्चैको दर्शक समक्ष पुर्‍याउँछ ।

किनकि ती पुरुष पात्रहरू (एउटी महिला पनि) ले कति सजिलै एउटी स्वतन्त्र महिलालाई अनैतिक भनिदिन्छन् र उनको जीवन ध्वस्त पारिदिन्छन् । यथार्थमा देवयानी उनीहरूले सोचेजस्तो बिल्कुल हुँदिनन् । उनी आफ्नो इच्छाअनुसार बाँच्न खोज्ने पात्र हुन्छिन् । भलै उनको अतीत उस्तै अन्धकार छ । जो उनले चाहेर भन्दा पनि समाजका तिनै पुरुष पात्रहरूले बनाइदिएका हुन्छन् – कहिले प्रेमको नाममा । कहिले संरक्षणको नाममा । त कहिले के को नाममा । आखिरीमा उही समाजले उनलाई एउटी ‘खराब महिला’ को तक्मा लगाइ छाड्छ ।

देवयानी त कविता मन पराउँछिन्, गीत गुनगाउँछिन् । आफ्ना विद्यार्थीहरूसँग खेल्न/बस्न रमाइलो मान्छिन् । तर, इजलासका क्रममा उनलाई मनपर्ने कविता पग्लिएको घडी जसरी ढलमलिन पुग्छ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको पागल कविता जरूर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु  । हो, यहीँ कविताको साउन्डमा खेलिएको छ । त्यो प्रयोगले देवायनीको मनोविज्ञान सुन्दर तरिकाले बुझाउँछ ।

सेटले पनि त्यो कुरा धेरै हदसम्म भन्छ ।

साल्भादोर डालीको दी पर्सिस्टेन्स अफ मेमोरी (सरलतामा बुझ्दा पग्लिएका घडीहरू) को सम्झना दिलाउने गरी घडीहरू सेटरभर नै राखिएको छ । सायद देवयानीको समय त्यसरी नै पग्लिएको छ ।

यसैगरी देवयानीले तिनै शब्दहरू अंकित सारी सुरुदेखि नै लगाएकी हुन्छिन्, जुन प्रयोग गरेर बाँकी रहेका पात्रहरूले उनलाई बारम्बार प्रश्न गर्छन् । आरोप लगाउँछन् । आखिरीमा ती प्रश्नहरू खुलस्त हुन्छन् । देवयानीको शरीरमा ती निस्केर दर्शकसम्मै पुग्छन् । यसबाट निर्देशक गुञ्जनले बिम्बात्मक रूपमा महिलाहरूमाथि कसरी समाजको प्रश्न सदा र पूर्वनिर्धारित तरिकाले अंकित हुन्छ भनेर देखाउन खोजेकी छिन् । र, यसमा गुञ्जन सफल पनि भएकी छिन् ।

अनि, कति सजिलै देवयानीलाई चिन्नेहरू अनपेक्षित रूपमा अपरिचित भइदिन्छन् । लाग्छ, उनीहरू इजलासका क्रममै एकाएक रोबोट भए । उनीहरूको हाउभाउ, मुद्राले उनीहरूको मनस्थिति सजिलै बोल्छ । यतिसम्म कि कठघरामा उभिएर बयान दिइरहेकी परिचित देवयानीलाई उनीहरूले एक नजर पनि हेर्दैनन् । मानवता, भावना हराएपछि कोही कस्तो हुन्छ ? ठीक उनीहरू त्यस्तै देखिन्छन् ।

यसरी यो नाटक वैयक्तिक स्वतन्त्रता र समाजको नियम बीचको द्वन्द्व देखाउने माध्यम बनेको छ । नाटकमा एक पात्रले बाँकी पात्रहरूलाई प्रश्न गर्दा बारम्बार भनिन्छ – चुप लागेर बस । त्यो ‘चुप’ को साङ्केतिक भाषा नाटकभर विविध क्षणमा प्रयोग भइरहन्छ । तर त्यो यतिसम्म हुन्छ कि त्यसले नाटकको मञ्चन तयारी गरिरहेकी देवयानीको वास्तविक वेदनालाई नै चुप लगाइदिन्छ । यथार्थमा त्यसरी चुप नबस भन्ने यो नाटकको साङ्केतिक अर्थ पनि हो ।

यद्यपि नाटकभर कुनै ठूलो घटना हुँदैन । सेट परिवर्तन हुँदैन । एउटै कुरा (नाटकको रिहर्सल र अदालतको कोठा) दोहोरिरहँदा नाटक सुस्त बन्न पुगेको छ । बलियो विषयवस्तु हुँदाहुँदै यसै पाटो नाटकको कमजोरी बन्न पुग्छ ।

त्यस्तै अनुवादका क्रममा संवादमा ध्यान नदिँदा अथवा ५० को दशकको नेपाली उच्चारण राम्ररी टिप्न नसक्दा संवादमा पनि समस्या देखिएको छ।

समग्रमा देवयानीलाई लगाइएको आरोप -भ्रुण हत्या- को विषयमाथि पनि नाटकले दर्शकलाई सचेत गराउँछ । त्यो क्रममा नाटक अदालत देखाउने कथा बन्न पुगेको छ । तर यी मुल विषय हुँदाहुँदै हामी कसरी अरूको जीवनमा फैसला सुनाउँछौं भन्ने विषय यस नाटकले अन्तमा उठाउन पुग्छ । जून पङ्क्तिकारको नजरमा प्रमुख हो ।

किनकि हाम्रो समाजमा ‘इजलास’ अझै जारी नै छ – महिलाहरूमाथि, स्वतन्त्रतामाथि र व्यक्तिगत अधिकारमाथि । यो नाटक हेरेपछि लाग्छ – हामी आफैं कुनै न कुनै अदालतका न्यायधिश त बनिरहेकै छौं !

तस्बिरहरू: मण्डला थिएटर

नाटक : इजलास जारी छ

थिएटर : मण्डला थिएटर, थापागाउँ

निर्देशक : गुञ्जन दिक्षित

नाट्य रूपान्तरण : विजय विष्फोट

मञ्चमा : अभिषेक शर्मा राजोपाध्याय, अंकित सिंह, अनुष्का बस्नेत, अनुस्का कार्की, बाल राई, विनय पन्त, जयराम रसाइली, कञ्चन कुमारी दास, मृदुल
कृष्ण, सिम्फोनी, प्रेम देव विश्वकर्मा, समृद्धि चौधरी, सागर भट्टराई, सुप्रिया श्रेष्ठ ।

मञ्चन अवधि : १९ असार देखि १० साउनसम्म

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?