+
+
Shares

गणेश नेपालीको उपचार खर्च सरकारले बेहोर्ने, थप उपचारका लागि एम्स दिल्ली लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते २३:५०

२५ असार, काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर रूपमा जलेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

घाइतेको स्वास्थ्य अवस्था बुझ्न तथा उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए । उनीहरूले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको पछिल्लो स्वास्थ्य अवस्था र उपचारको प्रगतिबारे जानकारी लिएका थिए ।

चिकित्सकसँगको परामर्शपछि बिरामीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै उनलाई तत्काल भारत लैजान आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको विशेष पहलमा गणेश नेपालीलाई थप उपचारका लागि भारत पठाउने प्रक्रिया अघि बढाइएको हो। यसका लागि आवश्यक सम्पूर्ण समन्वय, प्राविधिक तथा व्यवस्थापकीय तयारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयले गरिरहेको जनाइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यो निर्णय नयाँ नभई कानुनको कार्यान्वयन भएको बताइन् । उनले सरकारले यस्तो अभ्यासलाई निरन्तरता दिने स्पष्ट नीति लिएको पनि उल्लेख गरिन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइसकिएको छ। उपचार खर्चका कारण कुनै समस्या आउन नदिने सरकारको प्रतिबद्धता रहेको मन्त्रालयले जनाएको छ ।

घटनाको कारणबारे सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको छ। साथै प्रभावित नागरिकको स्वास्थ्य, सुरक्षा र उद्धारका कार्यलाई प्रभावकारी बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?