News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी २९ असारदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा वितरण गर्ने भएको छ ।
- परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नागरिकलाई सहज सेवा उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।
- राहदानी छिटो पुर्याउन हुलाक विभागसँग सम्झौता गरिएको र जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने व्यवस्था मिलाइँदैछ ।
२६ असार, काठमाडौं । सरकारले २९ असारदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन सरकारले नयाँ प्रणालीबाट वितरण सुरु गर्न लागेको बताएका हुन् ।
उनले राहदानीको प्रणाली हाल परिवर्तन गरिएको बताए ।
नयाँ प्रणालीको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको उनको भनाइ छ । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहनसक्ने भए पनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।
नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध रहेको उनले बताए ।
उनले सरकारको नीतिअनुरूप राहदानी सेवालाई समय सापेक्ष, भरपर्दो, प्रविधिमैत्री बनाउन र नागरिकलाई सहजै यो सेवा उपलब्ध गराउने दिशामा तीन वटा कदम लिएको बताए ।
प्रवक्ता क्षेत्रीले भने, ‘नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राहदानी सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यसअन्तर्गत रहेको राहदानी विभाग प्रतिबद्ध छ । राहदानीको प्रणाली हाल परिवर्तन गरी २९ असार २०८३ देखि लाइभ हुने तय भएको छ । यसको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ । त्यसपछि केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहनसक्ने भएपनि राहदानी सेवा, सहज, नियमित र सुचारु रहने अपेक्षा गरिएको छ ।’
प्रवक्ता क्षेत्रीले छापिएका राहदानीहरू शीघ्र सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्याउन हुलाक विभागसँग सम्झौता भइसकेको बताए ।
जुनसुकै जिल्लाबाट पनि राहदानी आवेदन दिन सकिने व्यवस्थाका लागि प्रक्रिया सुरु भएको पनि उनले जानकारी दिए । यसले जनमैत्री सेवा प्रवाह हुने सरकारको विश्वास छ । जो जहाँ बसेको भए पनि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्थाका लागि काम भइरहेको उनले बताए ।
प्रतिक्रिया 4