+
+
Shares

वास्तुकलाका युवा प्रतिभा प्रवर्द्धन गर्दै एसियन पेन्ट्स, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे ‘केलेइडोस्कोप च्याम्पियन’

यस वर्षको प्रत्यक्ष परियोजना (लाइभ प्रोजेक्ट) सहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा विकास गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन पेन्ट्स नेपालले आयोजना गरेको ‘केलेइडोस्कोप २०२५–२०२६’ को १३औं संस्करणमा आईओई थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरे प्रथम भएका छन् ।
  • प्रतिस्पर्धामा सुमन बिके द्वितीय र अदिति रिजाल तृतीय हुँदै क्रमशः ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए ।
  • पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नयाँ पुस्ताका आर्किटेक्टहरूलाई जलवायु परिवर्तन र दिगो सहरी विकास जस्ता चुनौती समाधानमा नेतृत्व गर्न आग्रह गरे ।

२६ असार, काठमाडौं । एसियन पेन्ट्स नेपालले वास्तुकला (आर्किटेक्चर) र आन्तरिक डिजाइन (इन्टेरियर डिजाइन) का विद्यार्थीको प्रतिभा तथा सिर्जनात्मकता प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरेको ‘केलेइडोस्कोप २०२५–२०२६’ को १३औं संस्करणका विजेता घोषणा गरेको छ ।

शुक्रबार काठमाडौं ठमेलस्थित अलफ्ट होटलमा विशेष समारोहबीच ‘हिरोज अफ द फ्युचर’ (भविष्यका नायकहरू) थिममा आयोजना गरिएको यस वर्षको केलेइडोस्कोप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

यस वर्षको प्रत्यक्ष परियोजना (लाइभ प्रोजेक्ट) सहरी विकास तथा भवन निर्माण विभागको सहकार्यमा विकास गरिएको थियो । प्रतियोगितामा सहभागी देशभरिका १३ वटा इन्जिनियरिङ कलेजका ३९ जना उत्कृष्ट विद्यार्थीलाई बबरमहलस्थित विभागको ‘एनेक्स भवन’ को अवधारणात्मक डिजाइन तयार पार्ने चुनौतीपूर्ण जिम्मेवारी दिइएको थियो ।

उक्त परियोजनामा सहभागीले नवीन डिजाइन सिद्धान्त प्रयोग गरी प्राविधिक उत्कृष्टता, दिगोपन, विपद् उत्थानशीलता, कार्यक्षमता र नेपाली मौलिक वास्तुकला समेट्नुपर्ने चुनौती सामना गरेका थिए ।

ती चुनौती पार गर्दै सहरी विकास विभागको भवनको सबैभन्दा उत्कृष्ट डिजाइन प्रस्तुत गरेका आईओई थापाथली क्याम्पसका विद्यार्थी पुरुषोत्तम घिमिरेले यस वर्षको केलेइडोस्कोप च्याम्पियन (प्रथम उपाधि) हात पारेका छन् । प्रथम विजेता घिमिरेले ७० हजार रुपैयाँ पुरस्कार पाए ।

यस्तै उत्कृष्ट डिजाइन सहित आईओई पूर्वाञ्चल क्याम्पसका सुमन बिके फस्ट रनरअप (द्वितीय) घोषित हुँदै ४० हजार नगद पुरस्कार प्राप्त गर्न सफल भए भने हिमालय कलेज अफ इन्जिनियरिङकी अदिति रिजाल सेकेन्ड रनरअप (तृतीय) बन्न सफल भइन् । उनले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

यसका साथै, अन्य प्रतिस्पर्धीलाई उछिन्दै ‘उत्कृष्ट १२’ भित्र पर्न सफल अन्य विभिन्न कलेजका विद्यार्थीलाई पनि एसियन पेन्ट्सले प्रमाणपत्र र पुरस्कार सहित सम्मान गरेको थियो ।

कार्यक्रमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले विजेताहरूलाई सम्मान गरेका थिए । विजेता विद्यार्थीलाई बधाई दिँदै सचिव सिग्देलले वास्तुकला भनेको भौतिक संरचना निर्माणमात्र नभई समाजको भविष्य र मानिसको जीवनस्तर सुधार्ने वातावरणको सिर्जना गर्नु रहेको बताए ।

आगामी पुस्ताका आर्किटेक्टहरूले जलवायु परिवर्तन, दिगो सहरी विकास र विपद् व्यवस्थापन जस्ता वर्तमानका चुनौती समाधानमा नेतृत्व गर्दै देशको उज्यालो भविष्य कोर्नुपर्ने उनको भनाइ थियो ।

‘तपाईंहरू भौतिक संरचना मात्र डिजाइन गरिरहनुभएको छैन, हाम्रो समाजको भविष्य डिजाइन गर्दै हुनुहुन्छ,’ उनले विद्यार्थीलाई भने, ‘परम्परागत घेराभन्दा बाहिर गएर सोच्नुहोस् र आफ्नो सिर्जनात्मकतालाई वास्तविक विश्वका समस्या समाधान गर्न प्रयोग गर्नुहोस्, तपाईंहरूले डिजाइन गर्ने स्थानहरू समावेशी, वातावरणप्रति जिम्मेवार, आर्थिक रूपमा सम्भाव्य र सांस्कृतिक रूपमा अर्थपूर्ण हुनुपर्छ ।’

केलेइडोस्कोप जस्ता प्रतियोगिताले प्रतिभा प्रदर्शन गर्न र विचार आदानप्रदान गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने बताउँदै सचिव सिग्देलले एसियन पेन्ट्सको प्रयासको प्रशंसा गरे ।

युवा प्रतिभा हुर्काउन उद्योग र शैक्षिक क्षेत्रबीचको यस्तो सहकार्यले सिप विकास र राष्ट्रिय विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

यो प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहबर्द्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यसाथ आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा एसियन पेन्ट्स नेपालका कन्ट्री डारेक्टर अभिमान ब्रारियाले केलेइडोस्कोप प्रतियोगिताको मूल उद्देश्य शैक्षिक संस्था (एकेडेमिया) र उद्योग (इन्डस्ट्री) बीच सहकार्य गर्दै विद्यार्थीलाई व्यावहारिक ज्ञान र पेसागत तयारीमा सशक्त बनाउनु रहेको बताए ।

आर्किटेक्चर क्षेत्रका होनहार युवा प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यले सन् २०१४ देखि सुरु भएको यस प्रतियोगिताले शैक्षिक सिकाइ र वास्तविक कार्यक्षेत्रको अभ्यासबीचको खाडल पुर्ने काम गरिरहेको ब्रारियाले बताए ।

‘हरेक उत्कृष्ट भवनको निर्माण पहिलो इँटा राख्नुभन्दा धेरै अघि नै एउटा भिजन, स्केच, आइडिया र राम्रो भविष्यको कल्पना गर्ने साहसबाट सुरु हुन्छ,’ उनले भने, ‘आज हामी नेपालका भविष्यका आर्किटेक्टहरूको त्यही सिर्जनात्मकता र साहसलाई उत्सवका रूपमा मनाउन भेला भएका छौं ।’

विश्वप्रसिद्ध ‘सिड्नी ओपेरा हाउस’ पनि यस्तै आर्किटेक्चर प्रतियोगिताको उपज भएको उदाहरण दिँदै उनले राम्रो डिजाइनले सिंगो समुदायलाई रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गरे ।

यस प्रतियोगिताले विद्यार्थीलाई कक्षाकोठाको सिद्धान्तबाट बाहिर निस्केर वास्तविक सरकारी परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै उनीहरूको अन्तर्निहित क्षमता उजागर गर्न मद्दत पुर्‍याएको उनको भनाइ थियो ।

एसियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौती मार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ ।

केलेइडोस्कोपको १३औं संस्करण पुन: एक पटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उनीहरूलाई उद्योगसँग जोड्ने एक सफल र प्रभावकारी प्रयासका रूपमा सम्पन्न भएको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?