News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री सुहाना आचार्यका लागि रङ्गमञ्च आत्मसन्तुष्टि र स्वतन्त्रताको थलो हो भने फिल्म व्यावसायिक भविष्य निर्माणको माध्यम बनेको छ।
सुहाना आचार्यले अभिनय यात्रा थाल्दै गर्दा दुई फरक क्षेत्रका पहिलो पाइला विपरीत ध्रुव जस्तै रहे – एउटामा उनी सजिलै उभिन सकिन्; अर्कोले उनलाई सोच्न बाध्य बनायो । ती हुन् थिएटर र फिल्म ।
एल्लो कमेडी उनको पहिलो थिएटर प्ले थियो । शिल्पी थिएटरको स्टुडेन्ट प्रोडक्सन अन्तर्गत मञ्चन गरिएको उक्त नाटकमा उनले एयरहोस्टेसको भूमिका निभाएकी थिइन् । तीन महिनाको प्रशिक्षणका क्रममा उनमा यति आत्मविश्वास आइसकेको थियो कि कुनै बेला आफ्नो नाम भन्न पनि काँप्ने उनी मञ्चमा छिर्नेबित्तिकै निर्धक्क हुन सकेकी थिइन् । थिएटरमा सबै आफ्ना साथी र गुरुहरू एउटै परिवार जस्तो भएका थिए । यसले पनि उनलाई सहज बनाएको थियो ।

अर्कोतिर फिल्मको ग्ल्यामरस पर्दा पछाडिको पहिलो अनुभव उनका लागि निकै खराब हुन गयो ।
ए मेरो हजुर ३ को सेटमा सानो भूमिकाका लागि उनी छानिएकी थिइन् । थिएटरको आत्मीयता बानी परेकी उनलाई फिल्म सुटिङको पहिलो दिनमै बिझायो ।
उनी आफूलाई बोलाइएको समयमै सेटमा पुगेकी थिइन् । तर, प्राविधिक गडबढीका कारण लामै समय कुर्नुपर्यो । थकाइलाग्दो प्रतीक्षापछि एकछिन फोन चलाउँदा उनले टिमका एक सदस्यबाट गाली खाइन् – तिमी यहाँ फोन चलाउन आएको कि सिक्न ?
थिएटरमा सबैको स्नेह पाएकी उनी फिल्म सेटको त्यो अलि रुखो व्यवहारदेखि दु:खी भइन् । तर, तत्क्षण उनले बुझिन् – फिल्मको सेटमा कलाकारको भावनाभन्दा बढी प्रविधि र समयको मूल्य हुँदो रहेछ ।
तर, यी दुई विरोधाभासी अनुभवले उनलाई कलाप्रति स्पष्ट सोच बनाउन सहयोग गरेको भने पक्कै छ ।

उनका लागि थिएटर शान्ति हो भने फिल्म भविष्य । उनी यस्तै सुनाउँछिन् । किनकि थिएटरमा आफूलाई स्वतन्त्रता मिल्ने उनको भनाइ छ । त्यहाँ उनले एउटा पात्रलाई जीवन्त बनाउन १५ देखि ३० दिनको समय पाउँछिन् । निर्देशकसँगको सहकार्यमा स्क्रिप्टसँग थप खेल्न पाउँछिन् । पात्रको नशानशा छाम्न पाउँछिन् ।
फिल्ममा उनले यो अनुभव पाउँदिन् । कताकता उनी आफूलाई ‘डमी’ जस्तो महसुस गर्छिन् ।
फिल्ममा अन्तिम समयमा डाइलग दिने र तुरुन्तै क्यामेरा अगाडि बोल्न लगाउने प्रवृत्तिले कलाकारको मौलिकता र सिर्जनशीलता खुम्चने उनको बुझाइ छ । तैपनि, उनी फिल्मलाई तिरस्कार गर्दिनन् । फिल्मको प्राविधिक पक्ष र यसको विशालतालाई सम्मान गर्छिन् । अहिले त उनले आफूलाई मानसिक रूपमै तयार पारेकी छिन् कि फिल्मको सेटमा प्रतीक्षा गर्नु र प्राविधिक जटिलताहरूसँग जुध्नु कलाकारको नियती नै हो ।
थिएटरप्रति भने उनी अलि बढी इमानदार देखिन्छिन् ।
एक पटक उनी शोकै क्रममै बिरामी परिन् । अमर न्यौपानेको चर्चित उपन्यास सेतो धरतीमा आधारित सोही नामको नाटक मञ्चन भइरहेको थियो । प्रेसर लो भएर अस्पताल भर्ना हुनपर्यो । उनलाई स्लाइन चढाइएको थियो । उनको अवस्था हेर्दा सबैले आराम गर्न नै सुझाव दिइहरेका थिए ।

थिएटरमा कलाकारहरूले प्रत्यक्ष अभिनय गर्ने हुनाले दृश्यहरूमा छल्न पाइन्न । यही कारण पात्र निभाइरहेको कलाकार बिरामी भए कि त त्यो दृश्य देखाइँदैन अथवा अन्य कलाकारलाई त्यो पात्र निभाउन दिइन्छ । तर, उक्त नाटकमा उनले निभाएको भूमिका अलि विशेष भएकाले ती दुवै विकल्प अपनाउन अलि गाह्रै थियो ।
‘दर्शकहरू पैसा तिरेर मेरो काम हेर्न आउनुभएको हुन्छ । अनि मैले उहाँहरूलाई कसरी निराश पार्न सक्छु ?’ सुहानाको मनमा भने यो प्रश्न किला झैँ भइरहेको थियो । त्यसैले अस्पताल डिस्चार्ज हुनेबित्तिकै सिधै कान्तिपुर थिएटर पुगिन् । शो सुरु हुन लागेकाले हतार–हतार पात्रको ड्रेस लगाइन्।
मञ्चमा उत्रिएपछि शरीरको कमजोरी र मनको प्यानिक कता हरायो, उनलाई थाहै भएन । यसैले उनी मञ्चलाई संसारका सबै दुःख भुलाउने एउटा अनौठो शान्ति मान्छिन् । र, त्यसैलाई आफ्नो कलाकारिताको इन्धन पनि मान्छिन् ।
‘म त हिरोइन बन्ने !’
सुहाना सुनसरीको चक्रघट्टीममा जन्मे, हुर्केकी हुन् । सानोमा अत्यन्तै अन्तरमुखी स्वभावकी थिइन् । अरुसँग बोल्न लाज मान्ने, भीडभाडबाट डराउने र रिसाउँदा पनि कसैलाई केही भन्न नसकेर चिठी लेखेर छाड्ने खालकी थिइन् उनी ।
तर, नाच्न खुब मन लाग्थ्यो ।लुकीलुकी नाँच्थिन् पनि । अनि मनमनै हिरोइन बन्ने सपना बुनिरहन्थिन् । कसैले भविष्यमा के बन्ने भनेर सोध्दा उनी हतारहतार ‘हिरोइन’ भनेर उत्तर दिन्थिन् । शनिबार दिउँसो २ बजे टेलिभिजनमा आउने नेपाली फिल्म हेर्न कहिल्यै छुटाउँदिनथिन् । सीडी/डीभीडी किनेर फिल्महरू हेर्थिन् । सन्चिता लुइँटेल, निरुता सिंह, रेखा थापा उनका प्रेरणा थिए ।

एक पटक ८ कक्षामा पढ्दा उनले काठमाडौं जाने भनेर आमासँग जिद्दी गरिन् । आमाले प्लस टु सकेपछि जानू भनेर जेनतेन उनलाई फकाइफुल्याइ गर्नु परेको थियो । जब उनले प्लस टू सकिन्, त्यसपछि दायाँबायाँ नसोची काठमाडौं आइन् – सन् २०१८ तिर । र, आएको भोलिपल्टै उनलाई एक आफन्तले बत्तिसपुतलीमा रहेको शिल्पी थिएटरसम्म पुर्याइदिए ।
शिल्पीमा पुगेर अभिनयको कक्षामा भर्ना हुँदासम्म पनि उनले फिल्मकै सपना देखिरहेकी थिइन् । नाटकबारे त उनलाई त्यति धेरै ज्ञान थिएन । कक्षा सुरु भएपछि शारीरिक अभ्यास र स्ट्रेचिङहरू देख्दा उनलाई आफू टिभीमा देखिन आएको मान्छेले यस्तो गर्नु परिरहेको छ भनेर अचम्ममा परेकी थिइन् । तर छोटो समयमै उनलाई नाटकको लत लाग्यो ।
आजको दिनमा उनले फिल्मभन्दा नाटक नै बढी गरेकी छिन् ।
एल्लो कमेडी पछि उनले छ पात्रको एकालाप, मुकुण्ड इन्दिरा, सत्तापत्ता नाटक गरिन् । त्यसपछि उनी लस्ट एन्ड फाउन्ड मा पनि जोडिइन् । यो नाटक युरोप टूरमा पनि गएको थियो ।
त्यो बीचमा फिल्म पढ्न कान्तिपुर फिल्म एकाडेमीमा भर्ना भइसकेकी थिइन् । र, त्यसै संस्थाको थिएटर प्रोडक्सन महारानीको जात्रा मा उनी देखिइन् । र, सेतो धरती त भइहाल्यो ।
फिल्मको सन्दर्भमा भने उनले ए मेरो हजुर ४, नाइ नभन्नु ल ६ र एक्टर टेक वानमा अभिनय गरेकी छिन् ।

आगामी दिनमा उनी सकेसम्म फिल्म कम नै गर्ने सोचमा छन् ।
फिल्मको सेटमा डमी बनेर यान्त्रिक बन्नुभन्दा रङ्गमञ्चमा पात्रको नशानशा छाम्दै स्रष्टा बन्नु उनका लागि प्रिय छ । निर्देशकहरूले कलाकारको कामभन्दा अक्सर आफ्नै व्यावसायिक स्वार्थलाई केन्द्रमा राख्ने र तयारीका लागि स्क्रिप्ट र समय नदिने प्रवृत्तिले फिल्मप्रति उनको लगाव कम भएको छ ।
तर, थिएटरमा त्यो अभाव नहुने उनी सुनाउँछिन् ।
फोटो: कमल प्रसाईं

प्रतिक्रिया 4