News Summary
Generated by OK AI. Editorially reviewed.- नाटकले एउटी लेखिका र उनले सिर्जना गरेको पात्रबीचको अन्तर्क्रियामार्फत लेखन प्रक्रियाको आत्मद्वन्द्वलाई चित्रण गरेको छ।
मानौं, तपाईं केही लेख्दै हुनुहुन्छ । तर आफ्नो पात्र, विषयवस्तुलाई लिएर बडो अन्योलमा परिरहनुभएको छ । ठीक त्यसैबेला तपाईंलाई आफ्नो पात्रसँग प्रत्यक्ष कुरा गर्न मन लाग्छ ।
लौकिक संसारमा यो इच्छ्या पूरा हुँदैन । तर कल्पना त गर्न सकियो । कस्तो होला त लेखिरहेको पात्र तपाईंको अगाडि आयो भने ?
कुराकानी के होला ? त्यो पात्रले कस्तो प्रतिक्रिया देला ? कपडा कस्तो लगाउला ?
ठीक यस्तै विषय समेटिएको नाटक ‘फर्स्ट ड्राफ्ट’ अहिले अस्कर कलेजको साधना घर थिएटरमा मञ्चन भइरहेको छ ।
हामीले यो नाटकमा एउटा लेखकको अधुरा सोच र कल्पनाहरू देख्छौं । उसले सिर्जना गरेको पात्रसँगको भलाकुसारी देख्छौं । उनीहरूको क्रियाकलाप देख्छौं ।
यसरी यो नाटकले अलिकता अलौलिक संसार देखाउँदै असंगत थिएटरको झल्को दिन खोजेको छ।
नाटकको घटना सामान्य छ – लेखक र उसको पात्रबीच अन्तर्क्रिया ।

लेखिका मीरा हुन्छिन् । अभिनय उनलाई खुबै मन पर्छ । यता उनले कथा पनि लेखिरहेकी हुन्छिन् । तर, उनमा थुप्रै विचार, असंख्य प्रश्न आइरहन्छन् । आत्मद्वन्द्व भयङ्कर चलिरहेको हुन्छ।
एउटा बिच्दुमा उनको कल्पना र यथार्थको सीमारेखा विस्तारै धमिलो बन्दै जान्छ । र, त्यही सिलसिलामा एक दिन आफैंले सिर्जना गरेको पात्र हिरा अचानक उनको सामु आइपुग्छ ।
त्यसैबीचमा कथा अघि बढ्दै जाँदा हामीले कल्पना, असंगत, अमूर्मता देख्छौं । उत्साह, खसखस र अन्यौलता देख्छौं । जीवनको अर्थ, आध्यामिकता र अस्तित्वको गन्थनमन्थन देख्छौं ।
भनौं, नाटकले हामीलाई ठीक त्यही बिन्दुमा पुर्याउँछ, जहाँ एउटा लेखक आफ्नो पात्र र कथालाई लिएर सकसमा पर्छ । त्यो समयमा उसको मानसपटलमा चल्ने द्वन्द्व नै यो नाटकको मूल विषय हो।
सेट र बिम्ब
नाटकको कथानक जस्तै मञ्च पनि अमूर्त छ । सेटमा बहुतला छ । सम्भवत: ती सोचका तहहरू हुन् । किनकि, पात्रहरू तिनमा तलमाथि गरिरहँदा विषयवस्तुको सान्दर्भिकता पनि तलमाथि परिरहन्छ ।
साथै मञ्चमा तीन रङ (खैरो, रातो र निलो) का मसीका डिब्बाहरू, किताबका नाम भएका पर्खालहरू पनि छन् । जसै पात्रसँग कुरा गर्दै जाँदा मीराले हिरालाई ती रङहरू पिलाउँछिन्; कुराकानीको गतिमा क्रमश: परिवर्तन हुँदै जान्छ । उनीहरू पहिलेभन्दा बढी उत्साहित र अझ विषयमा स्पष्ट हुँदै जान्छन् । लेखनमा जति लेखियो, त्यो त्यति माँझिदै जान्छ ।

यसरी नाटककार तथा निर्देशक कञ्चन संग्रौलाले धेरै थोक यहाँ बिम्बमार्फत भन्न खोजिरहेकी छिन् । अर्कोतिर, संवादमार्फत पनि नाटकमा देखाउन खोजेको विषयवस्तुहरूलाई उनले सरल बनाउन खोजेकी छिन् ।
पात्र र लेखिकाबीच बहुभाषामा कुराकानी हुन्छ । कहिले उनीहरू हिन्दी साहित्य र फिल्मका संवाद मिसाउँछन्, कहिले अंग्रेजी शब्दहरू घुसाउँछन् – धेरै समय भने नेपालीमै उनीहरूको संवाद हुन्छ । यो चलाखीले पात्रहरूबीचको संवादलाई धेरै दर्शकसँग सामीप्यता गाँस्न भने पक्कै उपयोगी सावित हुन सक्छ ।
अर्कोतिर बीचबीचमा उनीहरूले कहिले खेल खेल्छन् त कहिले अभिनय गर्ने भनेर आफूभन्दा अर्को पात्रमा रुपान्तरण हुन्छन् । कहिले उनीहरूबीच वैचारिक मतभेद हुन्छ त कहिले कुराकानीबाटै एउटा विषयको गहिराइमा पुग्न कोसिस गर्छन् ।
तर, निर्देशकले मञ्चमार्फत भन्न खोजेको कुराका लागि धेरै ठाउँमा संवादको सहायता लिँदा भने केही ठाउँमा कथामा सुस्तता आएको छ । यद्यपि यो क्षतिपूर्ति प्राविधिक पाटोले कभर गरेको छ ।
सामर्थ्य
लेखन र निर्देशनसँगै यो नाटकमा कञ्चन स्वयं मञ्चमा देखिएकी छिन् । उनले यो नाटकमार्फत लेखन, अभिनय र निर्देशन तिनै विधामा आफूलाई अब्बल देखाउन सकेकी छिन् । उनलाई मञ्चमा साथ दिएका अभय बराल पनि अभिनयमा उत्तिकै जमेका छन् । एकअर्काको अभिनयलाई सन्तुलन गर्दै नाटक अवधिभर दर्शकलाई तानेर राख्न उनीहरू सफल छन् । अभय बराल लामो समयपछि मञ्चमा फर्के पनि उनले परिपक्क अभिनय गर्न सकेका छन् ।
त्यस्तै उनीहरूको अभिनयमा प्रकाश र ध्वनिले सुनमा सुगन्ध जस्तै काम गरेको छ । चाहे कल्पना र यथार्थको सीमारेखाका छुट्याउन होस् अथवा घटनालाई मोड दिन – त्यसमा प्राविधिक पाटो अब्बल नै छ ।
नाटकको यी आधारभूत सामर्थ्य हुन् भने वैचारिकीमा पनि यो उत्तिनै अब्बल छ । नाटक लेखक र पात्रबीचको द्वन्द्वबारे भए पनि उनीहरूको संवाद र मोनोलगमार्फत यसले हामीलाई हामी को हौं ? हाम्रो नाममा खास के छ ? हामी के उद्देश्यका लागि यहाँ आएका हौं ? भन्ने जस्ता अस्तिववादी प्रश्न छेड्न सफल भएको छ ।
विशेषत: हामीले अभयले निभाएको हिरा पात्रका प्रश्नहरूलाई गभ्भीर रूपमा लिन आवश्यक छ । यो पात्रले दार्शनिक रूपमा हामीलाई धेरै प्रश्न गरेको छ ।

त्यस्तै यो नाटकले अब्सर्ड मेटा थिएटर विधालाई धेरै हदसम्म न्याय गर्न सकेको छ । तर, कतिपय सन्दर्भमा यी कुरा नै नाटकको कमजोरी पनि हुन सक्छ ।
पहिलो पटक नाटक हेरिरहेका र प्रयोगात्मक नाटक मन नपराउनेहरूका लागि नाटकको शैली र विषय जटिल लाग्न सक्छ ।
समग्रमा, यो नाटकले एउटा लेखकको मनस्थिति अथवा भनौं, कल्पनालाई देखाएता पनि यो हरेक सर्जकहरूले महसुस गर्न सक्ने विषय हो । जस्तो; एउटा चित्रकारलाई चित्र बनाउनुअघि, एउटा गीतकारलाई गीत लेख्न अघि र एउटा फिल्ममेकरलाई फिल्म बनाउनुअघि कस्तो हुन्छ, के हुन्छ भन्ने कुरामा सकसपूर्ण क्षणहरू आउन सक्छन् । यही कुरा मञ्चमा देखाइएको छ ।
तर, यति मात्र भनेर नाटकको प्रभावलाई सीमित सोच्नु भने हुन्न । किनकि यसले दर्शकलाई असजिलो बनाएर सोच्न बाध्य पार्छ ।
फोटो: प्रसुन संग्रौला
नाटक : फर्स्ट ड्राफ्ट
निर्देशक/लेखक : कञ्चन संग्रौला
नाटकघर : साधना घर थिएटर, अस्कर इन्टरनेसनल कलेज
मञ्चमा: कञ्चन संग्रौला र अभय बराल
मञ्चन अवधि १ देखि २० साउनसम्म (बिहीबारबाहेक)
प्रतिक्रिया 4