News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले किसानको हितलाई मध्यनजर गर्दै अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको छ ।
- साउन महिना लागेयता संघले दुई पटक मूल्यवृद्धि गरेपछि एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५ सय १५ रुपैयाँ कायम भएको छ ।
- संघका सचिव मदन पोखरेलका अनुसार लागत मूल्य र बजार अवस्था विश्लेषण गरी उपभोक्ताका लागि प्रतिगोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।
५ साउन, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले साउन लागेपछि ४ दिन फरकमा २ पटक अन्डाको भाउ बढाएको छ ।
देशैभरिका अन्डा उत्पादक किसानको राय, परामर्श र सिफारिस आधार मानी संघले प्रतिक्रेट अन्डाको भाउ ५० रुपैयाँ बढाउने निर्णय भएको जनाएको छ ।
संघले पहिलो पटक १ साउनमा बैठक बसी २ देखि लागु हुने गरी मूल्य बढाएको थियो भने त्यसको ४ दिन पुग्न नपाउँदै पुन: साउन ५ मा अर्को बैठक डाकेर साउन ६ देखि लागु हुने गरी दोस्रो पटक मूल्यवृद्धि गरेको छ ।
पछिल्लो संशोधित दर अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ बाट बढाएर ५ सय १५ रुपैयाँ पुर्याइएको छ भने ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको ठूलो अन्डाको मूल्यवृद्धि गरी ५ सय रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी ४ सय २० रुपैयाँ रहेको मिडियम अन्डाको भाउ ४ सय ७० रुपैयाँ पुगेको छ भने सानो अन्डाको मूल्यमा प्रतिपेटी २ सय वृद्धि भई २ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
संघले सबै प्रकारका अन्डाको फार्म मूल्यमा प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि गरेसँगै उपभोक्ताका लागि प्रति गोटा अन्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ ।
संघ सचिव मदन पोखरेलका अनुसार लागत मूल्य र बजार अवस्था मध्यनजर गर्दै किसानको हितका लागि यो नयाँ समर्थन मूल्य तय गरिएको दाबी गरे ।
प्रतिक्रिया 4