६ साउन, गुल्मी । गुल्मीका १२ वटै स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण गरिएको हो ।
सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहमा सेवा पुगेको जिल्ला हुलाक कार्यालय गुल्मीका भुवन पाण्डेले बताए ।
रेसुङ्गा नगरपालिकाबाट सुरु भएको अभियान जिल्लाका सबै पालिकामातहमा पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । हालसम्म १ हजार ११० जनाले घरमै राहदानी सेवा लिएको प्रमुख जिल्ला अधिकारी ग्रह्रेले बताए ।
जिल्लाका विभिन्न स्थानमा नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा विस्तार गरिएको बताइएको छ । विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता कम गर्न सेवा प्रभावकारी बनेको स्थानीयले बताएका छन् ।
हुलाकमार्फत घरमै राहदानी पुगेपछि समय र खर्च दुवै बचत भएको सेवाग्राहीको अनुभव छ । यसअघि राहदानी तयार भएपछि लिनका लागि पुन: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो ।
तर, अहिले हुलाक सेवा विभागले स्थानीय तहसँग समन्वय गरी नागरिकको घरमै राहदानी पुर्याउने व्यवस्था मिलाएको जिल्ला हुलाक कार्यालयलका प्रमुख खेतबहादुर खत्रीले बताए । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
प्रतिक्रिया 4