News Summary
Generated by OK AI. Editorially reviewed.- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको उत्पादन क्षमता र विद्यमान समस्याबारे जानकारी लिएकी छन्।
- महाप्रबन्धक कैलाश पनेरुले लिमिटेडले २५ प्रकारका औषधि उत्पादन गर्दै आएको र यस वर्ष दुई करोड रुपैयाँ नाफा कमाएको प्रगति विवरण मन्त्रीसमक्ष प्रस्तुत गरे।
- मन्त्री यादवले औषधि ढुवानीका लागि सवारीसाधन र कर्मचारी अभावको समस्या समाधान गर्न निर्देशन दिँदै सरकारी संस्थानहरूलाई आत्मनिर्भर बन्न आग्रह गरिन्।
६ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गरेकी छन् । बुधबार अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी हुन् ।
अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई दैनिक अत्यावश्यक औषधि उत्पादन भइरहेका विभिन्न उत्पादन कक्षबारे जानकारी गराए । हाल लिमिटेडले २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको जानकारी दिँदै उनले उत्पादन गरिएका औषधि देशभर पुर्याउन आवश्यक सवारीसाधनको अभाव रहेको गुनासो गरे।
महाप्रबन्धक पनेरुले जेनजी आन्दोलनका क्रममा औषधि ढुवानीका लागि प्रयोग हुँदै आएको सवारीसाधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा वितरणमा समस्या भइरहेको जानकारी गराए । उक्त गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई तत्काल आवश्यक सवारीसाधनको व्यवस्था गर्न निर्देशन दिइन् ।
सो अवसरमा महाप्रबन्धक पनेरुले वर्षौंदेखि घाटामा रहेको औषधि लिमिटेड यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको प्रगति विवरण पनि मन्त्रीसमक्ष प्रस्तुत गरे।
नाफामा गएकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले अब सरकारी उद्योग तथा संस्थानहरू आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।
‘अब हरेक उद्योग तथा संस्थानले कर्मचारी व्यवस्थापनदेखि कार्यालय सञ्चालनसम्मका खर्च आफैं व्यवस्थापन गर्न सक्नुपर्छ। मन्त्रालयको ढोका धाएर बजेट माग्ने अवस्था अन्त्य हुनुपर्छ। यो हाम्रो आफ्नै सम्पत्ति हो। संस्थान नाफामा गए देशको अर्थतन्त्र पनि बलियो बन्छ,’ उनले भनिन्, ‘आवश्यक परे उत्पादन गरिएको औषधि न्यून नाफामा बिक्री गरौं, तर संस्थाको सम्पूर्ण खर्च आफ्नै आम्दानीबाट धान्ने वातावरण बनाऔं ।’
मन्त्री यादवले आगामी पाँच वर्षभित्र मुलुकमा निराशाको भाष्य परिवर्तन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै कर्मचारीलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरिन्।
‘हामी कम्तीमा पाँच वर्षभित्र यो देशमा केही राम्रो हुन सक्दैन भन्ने धारणा चिर्न चाहन्छौं। त्यसका लागि तपाईँहरूको साथ आवश्यक छ। इमान्दार कर्मचारीले मेहनत गरे डुबेको संस्थान पनि नाफामा जान सक्छ भन्ने उदाहरण यही औषधि लिमिटेड हो। तपाईँहरू निरन्तर मेहनतका साथ काम गर्नुहोस्, मन्त्रालय सधैं साथमा रहनेछ,’ उनले भनिन्।
कार्यक्रमका क्रममा महाप्रबन्धक पनेरुले लिमिटेडमा आवश्यक जनशक्तिको अभाव रहेको विषय पनि मन्त्रीसमक्ष उठाए। कर्मचारी संख्या न्यून हुँदा अत्यावश्यक औषधिको उत्पादनसमेत समयमै गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै आवश्यक कर्मचारी व्यवस्थापनका लागि मन्त्रालयबाट सहजीकरण गरिदिन उनको आग्रह थियो ।
मन्त्री यादवले प्रस्तुत भएका समस्या समाधानका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउँदै उत्पादन, सेवा विस्तार र संस्थाको दीर्घकालीन सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिइन् ।
प्रतिक्रिया 4