News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको ग्रामीण भेगमा लामो समयदेखि अघोषित लोडसेडिङ हुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन् ।
- मेची राजमार्गको माइखोला सडकखण्ड भत्किएपछि स्थानीयको आवागमन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा गम्भीर समस्या देखिएको छ ।
झिलिमिली शहरबाट तपाईं इलाम आउँदै हुनुहुन्छ भने टर्च लाइट बोक्न नछुटाउनुहोला । खासगरी इलामको ग्रामीण भेगमा ।
किनभने यतिबेला यहाँ टुकी बत्ती फेला पर्दैन । मट्टीतेलको कारोबार पनि लगभग ठप्प छ । मैनबत्ती बर्थ डे केकमा राख्नलाई मात्र पाइन्छ ।
यहाँ आइसकेपछि तपाईंसँग दुईवटा विकल्प बाँकी रहन्छ । या त घाम अस्ताउन नपाउँदै ओछ्यानमा घुस्रिने । या त इन्भटर जोहो गर्ने ।
इलामको ग्रामीण भेग लगभग अन्धकार छ । प्रि मनसुनमा बिजुली चम्किए जसरी झिलिक्क बत्ती बल्छ र पिलिक्कै निभ्छ । मानौं ग्रामीण बस्तीहरू कुनै डिस्को थेक हो, जहाँ झिमझिम बत्ती जडान गरिएको होस् ।
बितेका ६ महिनायता उत्तरी इलामका उपभोक्तहरू अन्धकारमै रात गुजार्दैछन् । बिजुली आउनेजाने टुंगो नभएपछि कतिले इन्भर्टर खरिद गर्न थालेका छन् भने कतिले घरको छानोमा सोलार प्यानल राख्न थालेका छन् ।
विद्युत महसुल तोकिएकै अवधिमा भुक्तान गर्नुपर्ने तर चाहिएको अवस्थामा बिजुली बाल्न नपाइने भन्दै स्थानीयहरू विद्युत प्राधिकरणदेखि जिल्ला प्रशासनसम्म धाएका छन् ।
विद्युत आपूर्ति नियमित गराउनका लागि पटक–पटक मागपत्र बुझाएका छन् । नियमित विद्युत आपूर्ति गराइदिन भन्दै स्थानीय तहले समेत अनुरोध पत्र लेखेका छन् ।
तर उपभोक्ताको हैरानी सकिएको छैन । बरू अझ लम्बिएको छ ।
‘अब त हामी थाकिसक्यौं । कति भन्ने, कति धाउने । न फेसबुकमा लेखेर हुन्छ, न सिडिओलाई भेटेरै’ स्थानीय केशर गुरुङ गुनासो पोख्छन् ।
इलाम बजार क्षेत्रबाहेक धेरैजसो ग्रामीण भेगमा अघोषित लोडसेडिङ रहेको बताउँछन् अर्का स्थानीय पूर्ण मुखिया । उनी भन्छन्, ‘यस्तो भएको एक हप्ता, दुइ हप्ता होइन । वर्ष दिनभन्दा बढी भइसक्यो । कुनै दिन नियमित रुपमा बिजुली आएको रेकर्ड छैन ।’
दिनमा औसत 5 घण्टा विद्युत जाने गरेको भएपनि त्यसलाई लोडसेडिङ भन्न नमिल्ने विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख रेवत कुमार चौधरीले जिकिर गरे ।
‘अहिले बिजुली नियमित रुपमा दिन सकेका छैनौं’ उनको स्विकारोक्ति छ, ‘चट्याङ र लामो दूरीको प्रसारण लाइनले गर्दा समस्या भएको हो ।’
खासगरी साखेजुङ र सन्दकपुर फिडरमा यस्तो समस्या भइरहेको उनले जानकारी दिए ।
‘यहाँ प्राविधिक समस्या छ । प्रसारण लाइनको दूरी तुलनात्मक रुपमा लामो छ’ चौधरी भन्छन्, ‘यसले गर्दा कुनै एक ठाउँको तारमा बाँसले छुनसाथ सबैतिर असर गर्छ ।’
यस्तै धेरैजसो ठाउँमा ट्रान्सफर्मरहरू सडक नजिक छैनन्, जसले गर्दा ट्रान्सफर्मर बिग्रिएर बनाउन परेमा पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको उनले सुनाए ।
इलामको ग्रामीण भेगमा पानी पर्नसाथ झ्याप्प बत्ती जाने गर्छ । प्रसारण लाइन आसपासको बाँस वा रुखले तारमा छुँदा यस्तो समस्या आउने चौधरीले बताए । जबकि हरेक शनिबार विद्युत आपूर्ति बन्द गरेर लाइन पेट्रोलिङ गरिँदै आएको छ । यसमा मूलत प्रसारण लाइन आसपासका बाँस वा रुख काटछाँट गर्ने काम गरिँदै आएको प्राधिकरणकै भनाइ छ । हरेक हप्ता काँटछाट गर्दा पनि नसुल्झने यो समस्या प्राधिकरणको बाहाना मात्र भएको स्थानीय शरद सुब्बाको आरोप छ ।
‘६ महिनादेखि हरेक शनिबार बाँस र रुख हटाउँने भन्दै लाइन काटिन्छ’ सुब्बा भन्छन्, ‘हप्तैपिछे काँटछाँट गर्दा पनि नसकिने कस्तो बाँस छ इलाममा ? आज काट्यो, भोलि पलाउने त होइन होला ।’
सुब्बाको इलामको उत्तरी जसबीरेमा चिया उत्पादन कारखाना छ । चिया प्रशोधन चलिरहेका बेला एक मिनेट विद्युत आपूर्ति बन्द हुँदा हजारौं केजी चिया बिग्रन सक्ने उनको गुनासो छ । यही कारण नियमित विद्युत आपूर्तिका लागि जेनेरेटर चलाउन बाध्य भएको सुब्बाले सुनाए ।
‘हामीले डिजेलको भर पर्नुबाहेक अर्को उपाय छैन’ उनी भन्छन्, ‘चैतबाट चियाको सिजन सुरु भएयता ४ लाख रुपैयाँको त डिजेल मात्र खरिद गरेका छौं ।’
सन्दकपुर क्षेत्रमा उनको जस्तै अरु ९ वटा चिया प्रशोधन कारखाना छन् । यी सबैले विद्युत आपूर्ति अनियमित हुँदा सास्ती खेप्नुपरेको बताइरहेका छन् । प्राधिकरणमै पुगेर चिया उद्योगीहरूले आफूहरू आजित भइसकेको गुनासो गरेका थिए ।
बाटोको समस्या उस्तै : पिठ्युमा बोक्नुपर्छ बिरामी र अशक्तलाई
यतिबेला तपाईं इलाम आउदै हुनुहुन्छ भने गम्बुट लगाउनुहोला । किनभने कतिपय ठाउँमा हिलाम्मे बाटोबाट पैदल हिँड्नुपर्ने हुन्छ।
गह्रौ भारी नबोक्नुहोला । बुढापाका, रोगी र बालबच्चालाई सकेसम्म यात्रा नगराउनु होला ।
इलामलाई तराईसँग जोड्ने मेची राजमार्ग अन्तर्गत माइखोला सडकखण्डको दशा उस्तै छ । गतवर्ष अविरल झरीमा बिग्रिएको बाटो मर्मत गर्दै जसोतसो चलेको थियो । यसपालि वर्षायाममा सडक धस्सिएर गाडी त के मान्छेसमेत हिँड्न नसक्ने हालतमा पुगेको छ ।
आधा बाटो पुगेपछि गाडीबाट ओर्लिएर पैदल हिँड्नुपर्छ र अर्को गाडीबाट थप यात्रा गर्नुपर्ने हुन्छ । बिरामी र अशक्तलाई सशस्त्र प्रहरी र सेनाले स्ट्रेचरमा राखेर वारपार गराइरहेका छन् ।
इलामको मूख्य सडक मार्ग नै बिच्छेद भएपछि यहाँ इन्धनदेखि खाद्यन्नसम्म अभाव हुनसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् ।
अरु दुई वटा बैकल्पिक सडकबाट जसोतसो गाडी चलिरहेका छन् । तर, कच्ची र हिलाम्मे बाटो भएकाले ती सडक भरपर्दो छैन । हिँउदभर मर्मत र पुर्ननिर्माण गर्नुपर्ने सडक वर्षायाममा मात्र बनाउन थालेपछि यातायात सेवा अवरुद्ध भएको यातायात व्यवसायी गृष्म सुब्बाको भनाइ छ ।
प्रतिक्रिया 4