७ साउन, काठमाडौं । झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ दमक नगरपालिका–४ स्थित भाइरल रोडको सङ्गम चोक नजिक आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ च ५४८२ नम्बरको कारले सोही दिशातर्फ अघि बढिरहेको साइकललाई ठक्कर दिएको थियो ।
कारको ठक्करपछि साइकल अनियन्त्रित भई सडकमा लडेपछि पछाडिबाट आइरहेको प्रदेश १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलले पनि साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दमक नगरपालिका–३ निवासी ५३ वर्षीय रणबहादुर विष्ट गम्भीर घाइते भएका थिए । उनको टाउको, दुवै हात तथा खुट्टामा गम्भीर चोट लागेको थियो ।
उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकामा बिहीबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथ प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मेचीनगर नगरपालिका–८ निवासी ४६ वर्षीय दुर्गाबहादुर बस्नेतको निधार, दुवै हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । –रासस
प्रतिक्रिया 4