+
+
Shares

कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला १६ साउनमा

पार्टीभित्र देखिएको विवाद थप पेचिलो बन्दै गएपछि स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले दबाब दिन राष्ट्रिय भेला गर्ने भएका छन् । राष्ट्रिय भेला १६ साउनका लागि आह्वान गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीभित्रको विवाद समाधान गर्न १६ साउनमा काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेका छन् ।
  • धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाको नेतृत्वमा पार्टी एकताका लागि दबाब दिने उद्देश्यले यो भेला आयोजना गरिएको हो ।
  • पार्टी सभापति र असन्तुष्ट नेताहरूसँग छलफल गर्दै जनप्रतिनिधिहरूले 'पार्टीलाई एकताबद्ध बनाउनका लागि' सामूहिक दबाब दिने तयारी गरेका छन् ।

७ साउन, काठमाडौं । पार्टीभित्र देखिएको विवाद थप पेचिलो बन्दै गएपछि स्थानीय तहमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगर र गाउँपालिकाका जनप्रतिनिधिहरूले दबाब दिन राष्ट्रिय भेला गर्ने भएका छन् । राष्ट्रिय भेला १६ साउनका लागि आह्वान गरिएको हो ।

स्थानीय तहमा निर्वाचित नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य समेतलाई काठमाडौं बोलाइ दबाबमूलक भेला गर्न लागेको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा गोकर्ण रिसोर्टमा बिहीबार भएको नगर प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक शुक्रबार बिहानैदेखी पार्टी शीर्ष नेताहरूसँग मिल्न नसक्नुका कारणबारे एक/एक भेटेर छलफल गर्ने र मिल्नका लागि दबाब दिने निर्णय गरेको छ ।

दबाब अभियानले नेपाल नगर पालिका संघका केन्द्रीय अध्यक्ष रहेका धादिङ नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानालाई संयोजक तोक्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेकी हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेलाई सहसंयोजक तोकेको छ ।

नजिकिँदो स्थानीय र प्रदेश तहको निर्वाचन तथा पार्टी एकताका विषयमा छलफल गर्न भेला आयोजना गर्न लागिएको अभियानका संयोजक ढुंगनाले जानकारी दिए ।

‘जुन पार्टीको कार्यकर्ता भएर यहाँ पुगियो त्यो पार्टी जोगाउनु हामी सबैको कर्तव्य हो,’ ढुंगानाले भने, ‘पार्टीलाई एकताबद्ध बनाउनका लागि नै हामीले देशभरका जनप्रतिनिधि काठमाडौं बोलाएर दबाब दिन खोज्दैछौं ।’

उनले समूहको कुरा नभई पार्टीलाई मात्र केन्द्रमा राखेर भेला बोलाइने बताए ।

उनले पार्टीलाई मिलाउने बिन्दु खोज्ने सन्दर्भमामा शुक्रबारदेखी नै पार्टी सभापति गगन थापा सहित पदाधिकारी र असन्तुष्ट नेताहरूसँग छलफल गरिने बताए ।

स्थानीय तहमा कांग्रेसका शुभेच्छुक तथा कार्यकर्ताहरू पार्टी नफुटोस् भन्ने पक्षमा रहेकाले त्यसकै प्रतिनिधित्व गर्दै दबाब दिन लागेको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताए ।

बैठकले भेलामा पेस गरिने विषयहरू तय गर्न सबै प्रदेशमा समन्वयात्मक बैठक समेत गर्ने तयारी गरेको छ ।

निमिलेका विषयमा छलफलपछि विकल्प सहित मिलन बिन्दुको दस्तावेज समेत सार्वजनिक गरिने तयारी भएको कागेश्वरीका नगर प्रमुख कार्कीले बताए ।

बैठकले गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई हल खोज्ने जिम्मेवारी दिएको छ । मञ्च तथा जनसम्पर्कको जिम्मेवारी शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी, स्रोत व्यवस्थापनको जिम्मेवारी तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन, प्रचारप्रसारको जिम्मेवारी सरोज अधिकारीलाई जिम्मेवारी दिएको छ ।

सातै प्रदेशका गरी करिब २० जना नगर प्रमुखहरूको बैठकमा सहभागिता रहेको थियो ।

बैठकमा जनकपुर उपमहानगरपालिका नगरप्रमुख मनोज साह, कैलाली गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द भट्ट, कालीकोट तिलागुफा नगरपालिकाका नगरप्रमुख शंकर उपाध्याय, दोलखा नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपाने, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, हलेसी नगरपालिकाका नगरप्रमुख विमला राई, भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठी, चितवन रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटा, कीर्तिपुर नगरपालिकाका नगरप्रमुख कृष्णमान ढंगोल, ललितपुर गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत २० जनाको सहभागिता रहेको थियो ।

ललितपुर महानगर पालिकाका नगर प्रमुख चिरिबाबु महर्जन भने विदेशमा रहेकाले बैठकमा सहभागी भएनन् ।

बैठकले कांग्रेसका तर्फबाट निर्वाचित सबै स्थानीय तहका जनप्रतिनिधिहरूलाई नै आयोजक बनाएको ढुंगानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?