+
+
Shares
कांग्रेस विवाद :

चुनदेवी बैठकको निष्कर्ष : एकता पहिलो प्राथमिकता, संस्थापनले नमाने विकल्पमा जान तयार

चुनदेवीस्थित सम्पर्क कार्यालयमा तीन दिनसम्म चलेको बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

केशव सावद केशव सावद
२०८३ असार २४ गते २१:२५

२४ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा तीन दिनसम्म चलेको बैठकले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिबाट अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकको निष्कर्ष सुनाउँदै नेता मीन विश्वकर्माले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको जानकारी दिए ।

सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने इतर समूहको भनाइ छ ।

‘सबै साथीहरूका कुराको समग्र निष्कर्ष पार्टी एकतालाई पहिलो प्राथमिकता दिनुपर्छ । यसका लागि अद्यावधिकका नामबाट जसरी ब्यारियर्सहरू खडा भएका छन्,’ नेता विश्वकर्माले निष्कर्ष सुनाउँदै भने, ‘त्यसकाबारेमा सहमति गरेर गगन थापा नै संयोजक हुँदा जसरी क्रियाशील सदस्यताको नवीकरण टुंगिसकेको थियो, त्यसलाई मान्यतामा राखेर अगाडि बढ्नुपर्छ ।’

बुधबारको बैठकमा धारणा राख्ने नेताहरूले सोमबार र मंगलबार व्यक्त भएको धारणाअनुसार नै आवश्यक परे विकल्पमा जान पनि तयार रहनुपर्ने निष्कर्ष दोहोर्‍याएका छन् ।

‘यदि, यी कुराहरू कुनै पनि मानिएनन् भने हामी विकल्पमा जान पनि तयार हुनुपर्छ भनेर हिजो–अस्तिकै जसरी धारणा आए,’ नेता विश्वकर्माले भने ।

कांग्रेसमा पछिल्लो समय सदस्यता अद्यावधिक, महाधिवेशनसम्बन्धी तयारी तथा संगठनात्मक विषयलाई लिएर मतभेद बढ्दैगएको छ ।

यही विवादका बीच इतर समूहले पार्टी एकतालाई केन्द्रमा राख्दै सहमतिमार्फत निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।

बैठक समापन गर्ने क्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई इंगित गर्दै पार्टी एकता गराउनुपर्नेहरू निकै टाढा रहेको बताए ।

‘जसले एकता गर्नुपर्ने हो, उनीहरू बहुत टाढा–टाढा छन्,’ उनले भने, ‘पार्टी विभाजन हाम्रा कारणले हुँदैन । सभापतिले चाह्यो भने पार्टी विभाजन हुन्छ ।’

पहिले पनि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले चाहेर पार्टी विभाजन भएको खड्काले दाबी गरे । ‘पहिले गिरिजाबाबुले चाहेर नै पहिले पार्टी विभाजन भएको हो,’ उनले बैठकमा भने, ‘अहिले पूर्ण खड्का, विमलेन्द्र निधिले चाहेर पार्टी विभाजन हुँदैन ।’

नेता खड्काले राष्ट्रिय भेलाको मितिबारे थप सल्लाह गरेर निर्णय हुने पनि बताए । ‘निर्णय गरिसकेपछि समय पुगेन, मिति सारौं भन्ने अवस्था आउनुहुन्न,’ उनले भने, ‘यो सबै कुराबारे छलफल गरेर राष्ट्रिय भेलाको निर्णय गर्छौं । हामी १/२ दिनमा बस्छौं ।’

बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा मेलमिलाप नभए १५औं महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरे । तर, राष्ट्रिय भेलाअघि महाधिवेशन पछिको नेतृत्वबारे टुंगो लाग्नु पर्ने उनको भनाइ थियो ।

‘पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेलापछि हामीले १५ औँ महाधिवेशन गर्नुपर्छ,’ नेता निधिले भने, ‘राष्ट्रिय भेलाअघि दुईवटा कुराको टुंगो लाग्न जरुरी छ । पहिलो–हामीमध्ये कसले नेतृत्व गर्ने । दोस्रो–हामी भएनौं भने युवाबाट कसले नेतृत्व गर्ने ।’

दुवै कुरामा आफू तयार रहेको उनले बताए ।  ‘म दुवै कुरामा सहमत छु । हामीमध्ये कसैले नेतृत्व लिनुपर्छ भने पनि तयार छु । हामीबाहेक कोही अर्को व्यक्तिले नेतृत्व लिनुहुन्छ भने पनि तयार छु,’ उनले भने ।

जारी बैठकबाटै राष्ट्रिय भेलाको मिति तोकिनुपर्नेदेखि नयाँ दल खोलेर अघि बढ्नुपर्ने विषय उठ्दै आएको पनि उनले स्मरण गराए । निधिले भने, ‘राष्ट्रिय भेलाको मिति हामी छलफल गरेर तपाईँहरूलाई खबर गरौंला । तर, भेलाको तयारी व्यापक हुनुपर्छ ।’

नेता डा. प्रकाशशरण महतले संस्थापन इतरको राष्ट्रिय भेलाको मिति तत्काल तोक्नुपर्ने बताए । बुधबारको बैठकमा बोल्ने क्रममा उनले पार्टी मिलाउन संस्थापन समूहबाट हालसम्म कुनै पहल नभएकाले अब ढिलो गर्न नहुनेमा जोड दिए ।

‘अब समयमै निर्णय लिनु पर्ने अवस्था छ । ६ गते बीपी स्मृति दिवस बनाउऔं । १६५ क्षेत्रमै प्रतिनिधि खटाउँऔं,’ महतले भने, ‘साउन २५ भित्रै राष्ट्रिय भेला गर्छौं, सकेसम्म १५ भित्रै गर्छौं भन्ने सन्देश दिऔं । बीपी स्मृति र राष्ट्रिय भेलाको निर्णय गरौं ।’ आफूहरूका लागि अर्को बाटोमा जानु सुखद विकल्प नभएको पनि उनले बताए ।

नेता प्रकाशमान सिंहले पार्टीको १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने बताए । ‘पार्टीको १५ औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्छ,’ उनले भने, ‘के को एकता भन्दा विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरको एकता ।’

एकताको महाधिवेशनका लागि महाधिवेशन सम्पन्न गर्न गठन भएका सबै समितिमा इतर समूहको सहभागिता हुनु पर्ने उनको भनाइ थियो । ‘बहुमत विशेष पक्षधर कै रहोस्,’ उनले भने, ‘नियमित पक्षधरको पनि सहभागिता हुँदा महाधिवेशन निष्पक्ष हुन्छ ।’

कांग्रेसको आदर्श र सिद्धान्तमा तलमाथि नहुने गरी अडिग रहनु पर्ने भन्दै नेता सिंहले हतारमा राष्ट्रिय भेला गर्न नहुनेमा पनि जोड दिए । ‘६ गते बीपी स्मृति दिवस र राष्ट्रिय भेला गर्दा क्लियर भएर गर्नुपर्छ । भेलाका लागि स्पस्ट हुनुपर्छ,’ उनले भने, ‘हतार गरेर पनि हुँदैन हेर्नुस् । मेच्युअर्ड हुनुपर्छ । फल पाक्न समय लागेको मात्रै हो । हामी निर्णयमा पुग्छौं ।’

कांग्रेस नेता विश्वकर्माका अनुसार इतर समूहले बिहीबार पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्नेछ । ‘राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयहरूलाई पनि जोडेर साझा निष्कर्ष तयार गर्नुपर्छ भन्ने भयो,’ बैठकपछि उनले भने, ‘साझा निष्कर्ष तयार गर्नका लागि केही समय लाग्ने भएकाले भेलि सबै सञ्चारकर्मीसँग कुनै एउटा निश्चित समय तोकेर बैठकको निष्कर्ष यहाँहरूका बीचमा प्रस्तुत गर्छौं ।’

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?