+

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

२०८३ साउन  ११ गते ११:०१ २०८३ साउन ११ गते ११:०१

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन ।

Shares
भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा डेंगु एक रैथाने संक्रामक रोगको रूपमा स्थापित भइसकेकाले डेंगुविरुद्धको खोप अपरिहार्य विकल्प बन्न सक्ने देखिन्छ।

भारतको स्वास्थ तथा परिवार कल्याण मन्त्रालयले देशमा पहिलो पटक डेंगुविरुद्धको खोपको प्रयोगलाई स्वीकृति प्रदान गर्‍यो । जुलाई २१ मा समाजिक सञ्जाल ‘एक्स’ मन्त्रालयको विज्ञप्ति राखी यसको जानकारी दिइएको थियो ।

यो जापानिज कम्पनी ताकेडाले विकास गरेको ‘क्युदेंगा’ नामक खोप हो । यो खोप ४२ भन्दा बढी देशहरुले स्वीकृत प्रदान गरिसकेको र २४ मिलियन डोज भन्दा बढी प्रयोग भइसकेको सो सो विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ संगठनबाट पनि प्रयोगका लागि योग्य मानिसकेको यो खोप युरोपका विभिन्न देश, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया लगायतका देशहरूमा प्रयोगमा आइसकेको छ ।

यो खोप ४ देखि ६० वर्ष उमेरकालाई दिन सकिन्छ भने ३ महिनाको अन्तरालमा दुई मात्रा ०.५ एमएल छाला मुनि (सब-क्युटानस) दिइन्छ । भारतको ‘नेसनल सेन्टर फर भेक्टर बर्न डिजिजेस कन्ट्रोल’ को पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा सबैभन्दा बढी संक्रमित र मृत्यु हुनेको संख्या सन् २०२३ मा भएको देखिन्छ । जसमा २ लाख ८९ हजार २३५ संक्रमित र ४८५ जनाको मृत्यु भएको थियो । यसपछि सन् २०२४ र २०२२ धेरैमा संक्रमण पुष्टि र मृत्यु भएको देखिन्छ ।

खोपको प्रयोगसंगै भारतमा डेंगुबाट मृत्यु हुने वा कडा डेंगुको संख्या घट्ने बिश्वास गरिएको छ ।

डेंगु के हो ?

डेंगु लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको भाइरस हो। एडीस जातको लामखुट्टेले यो भाइरस सार्ने गर्दछ । यो लामखुट्टे सेतो कालो रङको हुन्छ भने दिनमा बढी संक्रिय हुने गर्दछ । संक्रमित लामखुट्टेको अन्डाबाट उत्पन्न हुने लामखुट्टेमा पनि भाइरस फैलिने हुँदा एक ठाउँमा देखिसकेको डेंगुले सो ठाउँमा निरन्तरता पाइरहने गर्दछ । संक्रमित लामखुट्टेले टोकेको ४ देखि १० दिनमा डेंगुका लक्षणहरू देखिन थाल्दछ ।

डेंगु संक्रमण हुँदा ज्वरो आउने, टाउको दुख्ने, जिउ र जोर्नी अधिक दुख्ने, आखाको गेडी खस्ला जस्तो हुने, शरीरमा स-साना राता बिबिराहरू देखिने, खानेकुराको नाम सुन्नेबित्तिकै वाकवाक लाग्ने र कतिपयलाई पखाला लाग्ने जस्ता लक्षणहरु देखापर्छन् ।

अधिकांश संक्रमितमा ८-१० दिनपछि स्वास्थमा क्रमिक सुधार हुँदै जान्छ । तर थप जटिल हुँदै गएमा भने शरीरमा रक्तश्राव देखिन थाल्छ । तत् पश्चात पनि बेवास्ता गरिए विभिन्न अंगहरूमा समेत समस्या देखिन थाल्दछ ।

पछिल्लो केही वर्गयता नेपालमा अधिकांश डेंगु संक्रमितले आफ्नो स्वास्थको खासै ख्याल गरेको पाइँदैन । तर डेंगुको ‘वार्निंङ साइन’ देखिए भने डेंगुले जटिल अवस्था लिन सक्ने सम्भावना प्रबल हुने गर्छ । पेट असाध्य दुख्नु, तारन्तार बान्ता हुनु, नाक तथा गिजाबाट रगत आउनु र अति अलश्य हुनु डेंगु ‘वार्निंङ साइन’ का संकेतहरू हुन् ।

यी बाहेक अस्पतालमा गरिने परीक्षणबाट पेट वा छातीमा पानी जमेको देखिए, कलेजोको आकार बढेमा, र रगत परीक्षणमा प्लेटेलेट्सको संख्यामा तीब्र गिरावट देखिए डेंगुको ‘वार्निड्ड साइन’ भएको मानिन्छ । नेपालमा हाल डेंगु संक्रमित भएर अस्पताल आउनेको सख्यामा उल्लेखनीय कमी देखिएकोले डेंगु ‘वार्निंङ साइन’ को व्यापक प्रचारको खाँचो देखिन्छ ।

नेपालमा डेंगुको अवस्था कस्तो छ ?

नेपालमा डेंगु पुष्टि भएको २१ वर्ष भइसकेको छ। तर डेंगुको ठूलो आउट ब्रेक भने पहिलो पटक सन् २०१९ मा देखियो ।

आधिकारिक तथ्यांक हेर्दा झन्डै १८ हजारको हाराहारीमा डेंगु संक्रमित पुष्टि भएको थियो । त्यो बेला काठमाडौँमा डेंगु फैलिँदा झन्डै एक महिना जति निरन्तर डेंगु बिरामीलाई परीक्षण गरेको सम्झना छ।

डेंगु तीब्ररूपमा फैलिन थालेपछि टेकु अस्पतालले पहिलो पटक ‘फिबर क्लिनिक’ को स्थापन गरेर मेरो अगुवाइमा बिरामीको परीक्षण शुरु गरिएको थियो । त्यो बेला अधिकांशमा डेंगुको बारेमा अनविज्ञता देखिन्थ्यो । यससँगै अनेक थरिका मिथ्यहरू पनि फैलिएको देखिन्थ्यो । त्यसको ३ वर्षमा अर्थात् सन् २०२२ मा नेपालको इतिहासमा नै डेंगु बाट सबैभन्दा बढीको मृत्यु भएको थियो । त्यो बेला कम्तीमा ५४ हजारमा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु डेंगुको कारणले भएको तथ्यांक देखिन्छ ।

यी दुइ ठूला डेंगु प्रकोप ठिक कोभिड-१९ महामारीको अघि र पछि भएको देखिन्छ । नेपालको तथ्यांक नियाल्दा २-३ वर्षको अन्तरालमा डेंगु आउट ब्रेक हुने गरेको देखिन्छ । त्यो पछिल्लो आउट ब्रेक भन्दा थप जटिल र व्यापक भएको पाहिन्छ । यसर्थ पनि आगामी दिन नेपालमा डेंगु निरन्तर स्वास्थ चुनौतीको रूपमा खडा हुने देखिन्छ ।

डेंगु हाल नेपालका लागि रैथाने संक्रामक रोगका रूपमा स्थापित भइसकेको छ।

नेपालमा डेंगु खोप कति आवश्यक ?

सन् २०२२ मा काठमाडौँमा डेंगुले ठुलो मानवीय क्षति गरेको थियो। काठमाडौँ मात्र होइन धरान, पोखरा, बुटवल, सर्लाही लगायतका अन्य ठाउँमा पनि डेंगुले व्यापक प्रभाव पारिसकेको छ । अझ पछिल्लो समय डेंगु नेपालको लगभग सबै जिल्लामा पुगिसकेको नेपाल सरकारको भनाइ छ ।

डेंगु भाइरस फैलाउने एडिस जातको लामखुट्टे पनि बिगतको भन्दा व्यापक हुँदै गइरहेको देखिन्छ । तसर्थ लामखुट्टे नियन्त्रण गर्नु नै डेंगु नियन्त्रण गर्ने एकमात्र विकल्प हो । तर दुर्भाग्यवश: लामखुट्टे नियन्त्रण गर्ने तर्फ हामी सबैको ध्यान खासै गएको भने देखिँदैन। यसकारण पनि डेंगुले हरेक वर्ष फैलने मौका पाइरहेको छ । सम्भवत आगामी दिन हाम्रा लागि डेंगुको कठिन अवस्थाको सामना गर्नु पर्नेमा दुई मत नहोला । डेंगु फैलाउने लामखुट्टेको नियन्त्रणप्रति देखाएको निराशा तथा आगामी दिनमा डेंगुको थप सम्भावित घातक आउट ब्रेकलाई मध्ये नजर गर्दा खोप नेपालको लागि पनि अपरिहार्यता भइसकेको देखिन्छ।

अन्तमा, नेपालमा डेंगु पुष्टि भएको २१ वर्ष पुगिसक्दा यो एक रैथाने रोगको रुपमा परिचित र स्थापित भइसकेको छ । तसर्थ डेंगुको अर्को आउट ब्रेक कुनै पनि समयमा देखिन सक्छ ऽ लामखुट्टे नियन्त्रणमा देखिएको निराशाको कारणले सम्भावित डेंगुबाट हुनसक्ने ठूलो मानवीय क्षतिलाई कम गर्न डेंगुविरुद्धको खोप अबको सबैभन्दा राम्रो बिकल्प हुन सक्दछ।

डेंगु भारत रोग
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
संक्रामक रोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

भारतमा डेंगु खोप स्वीकृत, नेपालमा कहिले ?

घुँडा, ढाड वा काँध दुख्नु उमेरको दोष होइन, मांसपेशी कमजोर भएको संकेत हो

घुँडा, ढाड वा काँध दुख्नु उमेरको दोष होइन, मांसपेशी कमजोर भएको संकेत हो

एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन ठूलो अन्तर हुन्छ ?

एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन ठूलो अन्तर हुन्छ ?

पुनर्जन्मको अवधारणा धार्मिक अन्धविश्वास कि सुल्झिँदो वैज्ञानिक रहस्य ?

पुनर्जन्मको अवधारणा धार्मिक अन्धविश्वास कि सुल्झिँदो वैज्ञानिक रहस्य ?

अस्टियोपोरोसिस र रजोनिवृत्ति : यी ८ कुरामा ध्यान दिए बिग्रँदैन हड्डीको स्वास्थ्य

अस्टियोपोरोसिस र रजोनिवृत्ति : यी ८ कुरामा ध्यान दिए बिग्रँदैन हड्डीको स्वास्थ्य

धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?

धेरै पानी पिएर मात्रै भइँदैन स्वस्थ, मिर्गौलाका लागि कति पानी चाहिन्छ ?