News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ ।
- नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो ।
- करण केसीले बलिङमा ५ विकेट लिँदै नेपालका लागि एकदिवसीय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् ।
११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनायो ।
नेपालका लागि आसिफ शेखले ८९ बलमा ४५ रन बनाए । कप्तान रोहित पौडेलले ४१ तथा आरिफ शेखले ३८ र कुशल भुर्तेलले ३४ रन बनाए । गुल्शन झा १९ रनमा अविजित रहे ।
नेपाललाई अन्तिम ४ ओभरमा ४० रन आवश्यक थियो । ४७औं ओभरमा ५ रन जोडेको नेपालले ४८औं ओभरमा ७ रन जोड्यो । ४९औं ओभरमा १२ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा १७ रन आवश्यक भयो ।
अन्तिम ओभर बलिङ गर्न नामिबियाका कप्तान जेरार्ड एरासमस आए । पहिलो बलमा लेगबाई २ रन खर्चेका उनलाई दोस्रो बलमा आरिफले १ रन लिए । तेस्रो बलमा गुल्शन झाले चौका प्रहार गरेपछि नेपाललाई ३ बलमा १० रन आवश्यक भयो ।
त्यसपछि गुल्शनले २ बलमा समान २-२ रन लिएपछि नेपाललाई अन्तिम बलमा ६ रन आवश्यक थियो । एरासमसले वाइड फालेपछि १ बलमा ५ रन आवश्यक भयो । त्यसपछिको बलमा गुल्शनले १ रन मात्र जोड्न सके ।
नामिबियाका लागि ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पलमनले २ विकेट लिँदा एक विकेट रनआउट मार्फत प्राप्त भयो । बर्नार्ड स्कोल्जले किफायती बलिङ गर्दै १० ओभरमा १४ रन मात्र खर्चिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रन बनाएको थियो ।
नामिबियाका लागि जान फ्रायलिंकले शतक प्रहार गरे । १४९ बलमा ३ चौका प्रहार गर्दै १०० रन बनाएपछि उनी रनआउट भएका थिए ।
लाउरेन स्टिनकाम्पले ८७ बल खेल्दै ४ चौका र १ छक्का मदतमा ५९ रन योगदान गरे । दोस्रो विकेटका लागि फ्रायलिंक र स्टिनकाम्पले १३१ रनको साझेदारी गरे ।
नेपालका लागि मिडियम पेसर करण केसीले शानदार बलिङ गर्दै ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै २९ रन मात्र खर्चेर ओडिआई करियरमा चौथो पटक ५ विकेट लिएका हुन् ।
साथै करण यसै खेलमार्फत नेपालका लागि ओडीआईमा १०० विकेट लिने दोस्रो खेलाडी समेत बने । सोमपाल कामीले १ विकेट लिए ।
नेपाल यसअघिको दुवै खेलमा पराजित भएको थियो । शीर्ष चारमा रहँदै ओडिआई विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना थप कमजोर बनेको छ ।
नेपालले अब यस शृङ्खलाको अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4