+
+
Shares

रोनाल्डोको पहिलो ड्रामा श्रृंखला ‘डे वन्स’ निर्माण हुँदै, अभिनयसहित कार्यकारी निर्माता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले निर्देशक म्याथ्यु वनसँगको सहकार्यमा 'डे वन्स' नामक नयाँ ड्रामा शृंखला निर्माणको तयारी गरिरहेका छन् ।
  • लन्डनमा छायांकन सुरु भएको यस शृंखलामा एक काल्पनिक फुटबल एजेन्टको कथा प्रस्तुत हुनेछ जसमा रोनाल्डोले कार्यकारी निर्माताको भूमिका समेत निर्वाह गर्नेछन् ।
  • यो शृंखला रोनाल्डो र म्याथ्यु वनको संयुक्त उद्यम 'योर मार्भ' स्टुडियोबाट सार्वजनिक हुने पहिलो परियोजना हो जसमा थुप्रै चर्चित अनुहार देखिनेछन् ।

विश्वकपमा निराशाजनक प्रदर्शनपछि पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हलिउडमा आफ्नो पहिलो ड्रामा शृंखलाको तयारी गरिरहेको बताइएको छ ।

द सनका अनुसार रोनाल्डोले ‘किङ्सम्यान’ निर्देशक म्याथ्यु वनसँग मिलेर बेलायतका एक फुटबल एजेन्टको कथामा आधारित शृंखला निर्माण गरिरहेका छन् । ‘डे वन्स’ नाम दिइएको शृंखलामा डेमियन लुइस मुख्य भूमिकामा देखिनेछन् भने खेल क्षेत्रका थुप्रै चर्चित अनुहार पनि सहभागी हुने बताइएको छ ।

फुटबल एजेन्ट ड्यारेन डिनको मौलिक अवधारणामा बन्न लागेको शृंखलाको छायांकन लन्डनमा सुरु भइसकेको रिपोर्टमा उल्लेख छ । यसले स्ट्यान्ली डाल्टन नामक एक काल्पनिक फुटबल एजेन्टको कथा प्रस्तुत गर्नेछ ।

शृंखलामा पूर्वफुटबलर थियरी हेनरी र र्‍यापर डेभ पनि देखिने बताइएको छ । ‘डे वन्स’लाई ब्राजिलको ग्लोबोका लागि हालै निर्माण गरिएको फुटबल एजेन्टसम्बन्धी शृंखला ‘द प्लेअफ्स’सँग तुलना गरिएको छ । उक्त शृंखलामा काउआ रेमन्डले अभिनय गरेका थिए ।

रोनाल्डोले ‘डे वन्स’मा अभिनय गर्नुका साथै कार्यकारी निर्माताको जिम्मेवारी पनि सम्हाल्नेछन् । यो रोनाल्डो र वनको योर मार्भ स्टुडियोजबाट सार्वजनिक हुन लागेको पहिलो शृंखला हो । म्याथ्यु वनको मार्भ स्टुडियोज अन्तर्गतको यस कम्पनीबारे गत वर्ष पहिलोपटक जानकारी सार्वजनिक गरिएको थियो ।

कम्पनी स्थापना गर्दा जारी गरिएको वक्तव्यअनुसार संयुक्त उद्यममा सञ्चालित फिल्म स्टुडियोले खेलकुदसम्बन्धी दुई फिल्म निर्माण गरिसकेको छ । स्टुडियोले परम्परालाई सम्मान गर्दै नवीन प्रविधि अपनाउने जनाएको थियो । डेडलाइनले बुझेअनुसार ‘डे वन्स’लाई योर मार्भले स्वतन्त्र रूपमा आर्थिक लगानी गर्नेछ ।

वनका फिल्ममा ‘लक, स्टक एन्ड टु स्मोकिङ ब्यारेल्स’, ‘लेयर केक’, ‘एक्स-मेनः फस्र्ट क्लास’ र ‘किङ्सम्यान’ शृंखला समावेश छन् ।

रोनाल्डो अहिले साउदी अरबको क्लब अल-नासरबाट फुटबल खेलिरहेका छन् । ४१ वर्षीय रोनाल्डोले अब भविष्यका योजनातर्फ पनि ध्यान दिन थालेका छन् । उनको पोर्चुगल टोली विश्वकपको अन्तिम १६ मा पछि उपाधि जितेको स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो । त्यससँगै रोनाल्डोको विश्वकप यात्रा पनि अन्त्य भएको थियो ।

सर्वकालीन महान् फुटबल खेलाडीमध्ये एक मानिने रोनाल्डोले आफ्नो चर्चित खेल जीवनको अधिकांश समय रियल मड्रिड र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?