News Summary
Generated by OK AI. Editorially reviewed.- निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ आगामी २६ भदौमा प्रदर्शनको तयारीमा रहेको छ ।
- यो फिल्म लाहुरे परिवारको परिवेश, अव्यक्त प्रेम र त्यागमा आधारित सामाजिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक गुरुङले जानकारी दिनुभयो ।
- फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ र विल्सनविक्रम राई लगायत कलाकारले अभिनय गरेका छन् ।
काठमाडौं । निर्देशक, अभिनेता तथा निर्माता माओत्से गुरुङको परिचय फराकिलो छ । गुरुङ फिल्म हुँदै उनी अहिले नेपाली भाषाको मूलधारमा दृश्यभाषा बुन्दैछन् । डेब्यू नेपाली ‘दयारानी’पछि उनी निर्देशित ‘पेन्सन पट्टा’ प्रदर्शन तयारीमा छ ।
गुरुङ समुदायकै संस्कृति, परम्परा र त्यससँग जोडिएको नैतिकताको कथामा उनले पछिल्लो फिल्म निर्देशन गरेका छन् । कुरा यति मात्र होइन, लाहुरे परिवारको परिवेश, अव्यक्त प्रेम, त्याग र मानवीय सम्बन्धको आयामलाई उनले कथामा उनेका छन् ।
‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ र बिश्वास गुरुङ, लुनिभा तुलाधरको अभिनय छ । २६ भदौमा प्रदर्शन तयारीमा रहेको फिल्मबारे गुरुङले संक्षिप्त कुराकानी गरेका छन् :
फिल्मलाई लिएर प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?
हामीले गुरुङ गाउँतिर प्रचलित थिएटर शैलीको मौलिक नृत्यलाई केही परिमार्जन गरेर यो गीत तयार गरेका हौं । गण्डकी प्रदेशमा मात्र होइन, अन्य ठाउँका दर्शक र श्रोताले पनि गीतलाई निकै मन पराइदिनुभएको छ । विशेषगरी मौलिक नृत्य र मौलिक संगीत भएकाले अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं । त्यो कुरा तपाईंहरूले पनि महसुस गर्नुभएको होला ।
यो फिल्म कुन अर्थमा भिन्न छ ?
हरेकले आफ्नै फिल्मलाई बलियो मान्छन्, मान्न पनि पर्छ । हाम्रो फिल्मको मुख्य विशेषता भनेको अव्यक्त प्रेमको कथा हो । मनमा भएर पनि व्यक्त गर्न नसकिएको प्रेम कस्तो हुन्छ भन्ने कुरा यसले देखाउँछ । अहिले प्रेमको परिभाषा पनि बदलिँदै गएको छ । यस्तो समयमा यो खालको प्रेमकथाले दर्शकलाई फरक अनुभूति दिने विश्वास छ ।
दर्शकले फिल्म हेरेर हलबाट बाहिर निस्कँदा के लिएर जाऊन् भन्ने अपेक्षा छ ?
इमान्दार भएर भन्नुपर्दा, दर्शकले एउटा सन्देश लिएर फर्कून् भन्ने चाहना छ । जीवनमा सम्पत्ति, धन वा प्रसिद्धी मात्रै सबैथोक होइन । सबैभन्दा ठूलो कुरा आत्माको सन्तुष्टि हो । कसैका लागि केही त्याग गर्नु, दान गर्नु वा अरूको हितका लागि सोच्नु पनि जीवनको ठूलो प्राप्ति रहेछ भन्ने अनुभूति लिएर दर्शक बाहिर निस्कून् भन्ने अपेक्षा छ ।

फिल्म बनाउने क्रममा कुनै चुनौती महसुस गर्नुभयो ?
त्यस्तो ठूलो चुनौती त भएन । म आफैं पूर्वब्रिटिस आर्मी परिवारको सन्तान हुँ । लाहुरे समाज र परिवेशलाई नजिकबाट बुझेको छु, त्यसैले आफ्नै समाज र परिवेशको कथा भएकाले धेरै कुरा परिचित थिएँ । अत्यन्तै जटिल वा सम्हाल्नै नसकिने विषय समेटेको पनि छैन । त्यसैले यो फिल्म बनाउने क्रममा विशेष चुनौती महसुस भएन ।
विषयवस्तु तपाईंसँग कहिलेदेखि थियो ?
यो विषयमा फिल्म बनाउने सोच १२/१५ वर्षअघिदेखिकै हो । सेनासँग सम्बन्धित यही विषयमा फिल्म बनाउने योजना धेरै पहिलेदेखि थियो । अहिले आएर मात्रै यसले मूर्त रूप पाएको हो ।
अहिले नेपाली फिल्ममा दर्शक रोए भने फिल्म चल्छ भन्ने चर्चा छ । त्यो सन्दर्भमा आफ्नो फिल्मलाई कहाँ देख्नुहुन्छ ?
यो विषयमा म धेरै टिप्पणी गर्न चाहन्नँ । हरेक निर्माता र निर्देशकको आफ्नै शैली हुन्छ । अहिले भावुक बनाउने, रुवाउने फिल्म सफल भइरहेका छन् । त्यसलाई समयको माग वा दर्शकको चाहना भन्न सकिन्छ । यसअघि लुटपछि त्यस्तै शैलीका फिल्म आए । त्यसपछि कबड्डी जस्ता कमेडी फिल्म चले । केही समय प्रेमकथाले स्थान पाए । अहिले पारिवारिक ड्रामा र भावुक बनाउने फिल्मको समय छ । म भने अलिकति कन्टेन्टमा केन्द्रित भएर काम गर्न रुचाउँछु । मेरो कन्टेन्ट दर्शकलाई मन पर्छ कि पर्दैन, त्यो भोलिको कुरा हो । अहिले सफल भइरहेका फिल्म र सबै मेकर साथीलाई शुभकामना छ । अन्ततः दर्शकको चाहनालाई स्वीकार गर्नैपर्छ ।
दर्शक किन रुन्छन्, किन हाँस्छन् भन्ने विषयमा तपाईंले कुनै विश्लेषण गर्नुभएको छ ?
व्यक्तिगत रूपमा मलाई सुखान्त फिल्म मन पर्छन् । यदि मैले दर्शकको मनोविज्ञान राम्रोसँग बुझ्न सकेको भए वर्षमा दुई–तीनवटा फिल्म बनाइरहेको हुन्थें होला । वास्तवमा दर्शकको मनोविज्ञान पूर्णरूपमा बुझ्न नसकेकै कारण म अझै सिक्ने क्रममा छु ।
पहिलो नेपाली भाषाको फिल्म ‘दयारानी’ सफल भयो । दोस्रो फिल्मप्रति अपेक्षा कस्तो छ ?
पहिलो फिल्म सफल भयो भन्दैमा दोस्रो पनि त्यसरी नै सफल हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । तर निर्माण र मेकिङको हिसाबले पहिलोभन्दा यसमा धेरै मेहनत गरेका छौं । मेहनत गर्दैमा मात्र फिल्म चल्ने होइन, अन्ततः दर्शकलाई कथा र कन्टेन्ट मन पर्नुपर्छ । म आशावादी भने छु । अहिले बजारमा चलिरहेका कन्टेन्टभन्दा केही फरक कथा हामीले ल्याएका छौं । विशेषगरी लाहुरे समाज र गुरुङ समुदायको परिवेशमा आधारित कथा पनि भन्नुपर्छ भन्ने उद्देश्यले यो फिल्म बनाएका हौं । अब दर्शकले यसलाई कसरी ग्रहण गर्नुहुन्छ, त्यो समयले नै बताउनेछ ।
यो फिल्मले समाज वा मानिसको कुन पक्षलाई केलाउन खोजेको छ ?
यो पूर्ण रूपमा सामाजिक ड्रामा हो । मैले अघि पनि भनेँ, जीवनमा प्राप्ति मात्रै ठूलो कुरा होइन । कहिलेकाहीँ कसैका लागि त्याग गर्नु, आफ्नो हिस्साको कुरा छोडिदिनु वा अरूको हितका लागि सोच्नु नै सबैभन्दा ठूलो कुरा हुन्छ । समाजले त्यस्ता मानिसलाई महान् भन्छ । मेरो बुझाइमा पनि अरूका लागि केही छोड्न सक्नु वा दान गर्न सक्नु जीवनको सबैभन्दा सुन्दर पक्ष हो । यही भाव यो फिल्मले प्रस्तुत गर्न खोजेको छ ।
प्रतिक्रिया 4