News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ ।
- यो हारसँगै शृङ्खलाका चारै खेलमा पराजित नेपालको लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ ।
- नेपालले ३२ खेलमा २४ अंक जोडेको छ र आगामी खेलहरूमा जित हासिल गरे पनि शीर्ष ४ मा रहन अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।
१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार चौथो हार बेहोर्दै जितविहीन बनेको छ ।
बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भयो । नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभरमा १६८ रनमा अलआउट भयो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेलले २६ अनि करण केसीले २३ रन बनाए । इशान पान्डेले १६, गुल्शन झाले ११ तथा भीम सार्कीले १० रन बनाए ।
ओपनर कुशल भुर्तेल शून्यमै आउट भएपछि नेपालले रनको खाता नखोल्दै विकेट गुमायो । तीन नम्बरमा ब्याटिङ आएका भीम आउट भएपछि आएका इशान पनि धेरैबेर टिकेनन् ।
५० रनमा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित पौडेल र आसिफ शेख मिलेर ३५ रनको साझेदारी गरेपनि आसिफ स्लग स्वीप खेल्ने क्रममा रोलफ भान डर मर्वेको बलमा क्याचआउट भए ।
त्यसपछि उपकप्तान दीपेन्द्र पनि ६ रनमा आउट भए भने त्यसको केही समयमा नै कप्तान रोहित आउट भए त्यतिबेला नेपाल १०४-६ को अवस्थामा थियो । आरिफ शेख र गुल्शन झाले केहीबेर सम्हाले पनि दुवै एक बलको अन्तरालमा आउट भएपछि नेपाल १२७-८ को अवस्थामा पुगेको थियो ।
त्यसपछि करणले केही चौका र छक्का प्रहार गर्दै झिनो आशा ब्युँताए पनि उनी आउट भएपछि नेपालको सम्भावना सकिएको थियो ।
नेदरल्यान्ड्सका लागि काइल क्लेइनले ३ विकेट लिए भने रोलफ भान डर मर्वे, जाच लायन कासेट र लोगान भान बिकले २-२ तथा आर्यन दत्तले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ५० ओभरमा ९ विकेट गुमाएर २२५ रन बनाएको थियो । नोआ क्रोसले सर्वाधिक ७० तथा कप्तान स्कट एडवार्ड्सले ५७ रन बनाए ।
नेदरल्यान्ड्स ५६-४ को अवस्थामा हुँदा यी दुई मिलेर ११५ रनको साझेदारी गर्दै शानदार पुनरागमन गराएका थिए । नेपालले भने बीचका ओभरमा विकेट लिनै सकेन ।
करण केसीले १० ओभरमा ३० रन दिएर ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र हेमन्त धामीले १-१ विकेट लिए ।
शृङ्खलाका चारै खेलमा पराजित भएको नेपालको घरबाहिर यो लगातार आठौं हार हो । योसँगै अब लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ । नेदरल्यान्ड्सले भने शृङ्खलामा लगातार तेस्रो जित निकालेको छ ।
जितपछि नेदरल्यान्ड्सको ३१ खेलमा ३८ अंक भएको छ । नेपालको ३२ खेलमा २४ अंक छ । अब नेपालले सबै खेल जितेपनि ३२ अंक मात्र हुनेछ । सबै जितेपनि अन्य नतिजामा समेत धेरै भर पर्नु पर्नेछ ।
नेपालले बाँकी ४ मध्ये १ मात्र खेल हारेपनि शीर्ष ४ को सम्भावना पूर्णरूपमा सकिनेछ । नेपालले ओमान र क्यानडासँगको शृङ्खला खेल्न बाँकी छ । अब ओमानले खेल्न बाँकी ८ खेलमध्ये एक खेल मात्र जितेमा पनि नेपाल शीर्ष ४ मा पर्ने छैन । क्यानडाको पनि नेपाललाई उछिनेर अगाडि जाने सम्भावना कायम छ ।
नेपाललाई क्यानडाले पनि उछिनेर अगाडि गएमा नेपालको ओडीआई स्टाटस नै जोखिममा पर्नेछ ।
प्रतिक्रिया 4