+
+
Shares
स्थलगत :

काठमाडौंले बुझेको छैन कप्तानगञ्जको पीडा

सम्बन्ध सुधारको पक्षमा दुवै पक्ष, सहजीकरणका लागि राज्यको खोजी

दिउँसो जसोतसो कटाएका कप्तानगञ्जका दुवै समुदाय रात कसरी कटाउने भन्ने चिन्तामा छन् । केही भइहाल्ने हो कि भन्ने भयले स-साना बालबालिकालाई आफन्तकहाँ पुर्‍याएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८३ साउन १४ गते २२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज-३ स्थित कप्तानगञ्जमा आइतबारको झडपमा घाइते भएका २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ ।
  • मृतकको संख्या दुई पुगेपछि स्थानीयबासी आक्रोशित बनेका छन् भने मृतकलाई शहीद घोषणा र पीडित परिवारलाई राहतको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
  • घटनापछि दुवै समुदाय त्रसित बनेका छन् र स्थानीय अगुवाहरूले सामाजिक सद्भाव पुनर्स्थापनाका लागि राज्यको तत्काल पहल र हस्तक्षेप आवश्यक रहेको औंल्याएका छन् ।

१३ साउन, कप्तानगञ्ज । बिहीबार दिउँसो पौने २ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जको श्रीराम चोकमा युवाहरू नाराबाजी गर्दै थिए । चौबाटोमा युवाले प्रदर्शन गर्दा दक्षिणतर्फको सडकमा नेपाल प्रहरी, एपीएफ र नेपाली सेनाको टोली लाइन लागेर उभिएका थिए ।

पश्चिततर्फको सडक नेपाली सेनाले छेकेको थियो । उत्तरपट्टि सार्वजनिक चौरमा टेन्ट टाँगेर पाका मानिस बसिरहेका थिए ।

अनलाइनखबरको टोली पुग्दा पाका मानिस अब कसरी जाने भन्दै छलफल गर्दै थिए । चौबाटोमा युवाहरू मृतकलाई शहीद घोषणा र परिवारलाई राहतको माग गर्दै नाराबाजी गर्दै थिए । नाराबाजी चल्दै गर्दा न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको मृत्युको खबर पुग्यो ।

मृतकको संख्या दुई पुगेको खबरपछि कप्तानगञ्ज थप आक्रोशित भयो । त्यसपछि युवाको टोली प्रहरीको घेरा तोडेर नजिकै रहेको शिव मन्दिर पुग्यो । मन्दिरबाट नाराबाजी गर्दै टोली फेरि बजारतर्फ लाग्यो । टोलीमा महिला र बालबालिका पनि थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि उनीहरूसँगै लागे ।

चौबाटोमा आइतबार राति फुकिएको आक्रोशको आगो बलिरहेकै थियो । थोरै उत्तरपट्टि सडकमा जलेका मोटरसाइकलमा अवशेष जस्ताको तस्तै थिए । बजार-पसलमा सटर बन्द चार दिन भइसक्यो । गाउँका किसानले काम छाडेको पनि चारै दिन भयो ।

दिउँसो जसोतसो कटाएका कप्तानगञ्जका दुवै समुदाय रात कसरी कटाउने भन्ने चिन्तामा छन् । केही भइहाल्ने हो कि भन्ने भयले स-साना बालबालिकालाई आफन्तकहाँ पुर्‍याएका छन् । कप्तानगञ्ज चोकमा घर भएका रामचन्द्र मेहताको घरमा श्रीमान्-श्रीमती मात्रै छन् ।

आइतबारको घटनापछि उनले सन्तानलाई ससुराली घरमा पुर्‍याएका छन् । ‘यहाँ जे भयो सबैलाई थाहा भएकै कुरा हो । स्थानीय सरकार छ, बालेन सरकार छ, बसेर समस्याको समधान होस्,’ मेहताले भने, ‘कसरी हुन्छ यहाँको समस्या समाधान होस् ।’ उनी गाउँको पीडा काठमाडौंको सत्ताले नसुनेको बताउँछन् ।

सडकमा युवाहरूले नाराबाजी गरिरहँदा टेन्टमुनि पाका सामाजिक अगुवाहरू गाउँको पीडा राज्यले नबुझेकै विषयमा छलफल गर्दै थिए । सदियौंदेखि मिलेर बसेको समाजलाई फेरि मिलाउनु पर्नेमा उनीहरूको छलफल केन्द्रित थियो । त्यसका लागि सरकारसँग सहजीकरणको अपेक्षा राखेका छन् । मृतक परिवारलाई राहत, घाइतेलाई क्षतिपूर्ति र शहीद घोषणाका लागि राज्यले चासो नदिएको उनीहरूले गुनासो गरे ।

स्थानीय सूर्यनारायण यादवका अनुसार कप्तानगञ्जका हिन्दु-मुस्लिमबीचको सामाजिक सम्बन्ध सदियौंदेखिको हो । पछिल्लो एक महिनादेखि देखिएको सम्बन्धको दरार तोड्न उनी पनि राज्यले नै सहजीकरण गर्नुपर्ने देख्छन् ।

‘यहाँ सबै मिलेर बसेको हो । बस्तुभाउ किनबेच, मेला-खेतालामा दुवै समुदाय मिलेर बसेको हो,’ उनले भने, ‘गाउँको सामाजिक सम्बन्धमा बाहिरबाट कोही आएर खेल्दियो, ती खेल्नेलाई कारबाही हुनुपर्छ ।’

स्थानीय सामाजिक अगुवा अरुण मेहता विवादको केन्द्रमा रहेको मदरसा बन्द गरेपछि भत्किएको सामाजिक सम्बन्धलाई पुन: जोड्न सहज देख्छन् । ‘त्यो मदरसा दर्ता छैन, दर्ता नभएको मदरसासँग समाज धेरै सशंकित छ,’ उनले भने, ‘पहिला राज्यले त्यसलाई सम्बोधन गरेर सामाजिक सम्बन्ध स्थापित गराउन भूमिका खेल्नुपर्छ ।’

स्थानीय रामनारायण मेहता दुवै समुदायलाई मिलाएर राख्न पहिला घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताउँछन् ।

‘आफ्नो ठाउँ छाडेर उनीहरू कहाँ जाउन्, अनि हामी पनि कहाँ जानु ?,’ उनले भने, ‘हामी सँगै बस्ने नै हो, तर यसका लागि राज्यले अवस्था बनाइदिनु पर्छ ।’

स्थानीय शिक्षक सञ्जय मेहता आइतबार रातिको गोलीकाण्डका दोषीलाई राज्यले कानुनी दायरामा ल्याएपछि कप्तानगञ्जमा देखिएको तनाव कम गर्न सकिने बताउँछन् । ‘हामी पहिलेदेखि नै मिलेर बसेको हो । अब नसक्ने भन्ने होइन,’ उनले भने, ‘एक अर्काका भावनामा ठेस नपुर्‍याई बस्न सक्छौं ।’

स्थानीय शिक्षक सञ्जय मेहता

कप्तानगञ्जका मुस्लिम समुदायका वृद्ध ताहिर मियाँ जीवनको उत्तरार्धमा सामाजिक मनमुटाव देखेर दु:खी छन् । आइतबारदेखि चर्किएको विवादका कारण उनी घर नजिकैको चोक जान सकेका छैनन् ।

‘५०औं वर्षदेखि हामी मिलेर बसेको हो । कति राम्रो सम्बन्ध थियो, कहिल्यै केही भएको थिएन,’ उनले भने, ‘अस्ति डिजे बज्दा यहाँका केटाहरूलाई एकैछिनमा उनीहरू गइहाल्छन्, नरिसाओ भनेको थिएँ, तर त्यस्तो भयो ।’ उनी पनि सामाजिक सद्भाव र पहिलेको जस्तै सम्बन्ध चाहन्छन् ।

मुस्लिम समुदायका वृद्ध ताहिर मियाँ

स्थानीय युवा जाबिर मियाँ पनि पहिलेको जस्तै सामाजिक सम्बन्ध राख्न चाहन्छन् ।

स्थानीयका अनुसार कप्तानगञ्जको पीडा काठमाडौंले बुझ्न सकेको छैन । अहिले कप्तानगञ्जमा रहेका दुवै समुदाय त्रासमा छन् । एउटा पक्ष सडकमा निस्किए पनि त्रसित छ । अर्को पक्ष घरमै छ, तर उनीहरूले आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सकेका छैनन् ।

आइतबारको विवादका कारण सुरु भएको तनाव समाधान गरी सहज कप्तानगञ्जका त्यसका लागि राज्यको सहजीकरणको खोजीमा छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?