+

आईसीसी एकदिवसीय विश्वकप २०२७ का १२ भेन्यू घोषणा

२०८३ साउन  १५ गते ८:२२ २०८३ साउन १५ गते ८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा गरी १२ वटा खेलस्थल सार्वजनिक गरेको छ ।
  • चौध टोलीको सहभागिता रहने यस प्रतियोगितामा कुल ५७ खेल हुनेछन् र विश्वकपको नारा ‘थ्री नेसन्स, वन हार्टबिट’ तय गरिएको छ ।
  • आईसीसी अध्यक्ष जय शाहले २४ वर्षपछि अफ्रिकी भूमिमा विश्वकप फर्कनु क्रिकेटका लागि ऐतिहासिक अवसर भएको बताउनुभयो ।

१५ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकपका लागि १२ वटा खेलस्थल (भेन्यू) सार्वजनिक गरेको छ ।

जोहानेसबर्गमा आयोजित विशेष कार्यक्रममा दक्षिण अफ्रिकाका आठ, जिम्बाबेका तीन र नामिबियाको एक भेन्यूको घोषणा गरिएको हो ।

विश्वकपका खेलहरू दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित वान्डरर्स स्टेडियम, सेन्टुरियन, केप टाउनको न्युल्यान्ड्स, डरबनको किङ्समिड, ग्केबेर्हास्थित सेन्ट जर्ज पार्क, ब्लोमफन्टेनको माङगाउङ ओभल, पार्लको बोलान्ड पार्क र बफालो पार्कमा हुनेछ।

जिम्बाबेमा हरारे स्पोर्ट्स क्लब, बुलावायोको क्विन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्सस्थित फाले मोसी-ओआ-टुन्या अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम खेलस्थलका रूपमा चयन भएका छन् । नामिबियाको राजधानी विन्डहोकस्थित नामिबिया क्रिकेट ग्राउन्डमा पनि विश्वकपका खेल सञ्चालन हुनेछन् ।

विश्वकपका टिकट बिक्री तथा अन्य जानकारीका लागि समर्थकहरूले अहिलेबाटै आफ्नो रुचि दर्ता गर्न सक्ने व्यवस्था गरिएको आईसीसीले जनाएको छ ।

५० ओभरको विश्वकप २४ वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो । यसअघि सन् २००३ मा दक्षिण अफ्रिका, जिम्बाबे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए ।

यस संस्करणमा विश्वका शीर्ष १४ टोली सहभागी हुनेछन् । प्रतियोगिताको नारा ‘थ्री नेसन्स, वन हार्टबिट’ राखिएको छ भने अफ्रिकी दर्शन ‘उबुन्टु’ लाई प्रतियोगिताको मुख्य सन्देशका रूपमा प्रस्तुत गरिएको छ । ‘म छु, किनभने हामी छौँ’ भन्ने भावनालाई केन्द्रमा राख्दै प्रतियोगिता आयोजना गरिने आईसीसीले जनाएको छ ।

आईसीसी अध्यक्ष जय शाहले विश्वकपका आयोजक सहर र प्रतियोगिताको ब्रान्ड सार्वजनिक हुनु प्रतियोगितातर्फको महत्वपूर्ण कदम भएको बताए । उनले २४ वर्षपछि विश्वकप अफ्रिकामा फर्कनु क्रिकेटका लागि ऐतिहासिक अवसर भएको उल्लेख गर्दै दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले अविस्मरणीय प्रतियोगिता आयोजना गर्ने विश्वास व्यक्त गरे ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले विश्वकपले अफ्रिकाको संस्कृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्वसामु प्रस्तुत गर्ने बताए । उनका अनुसार प्रतियोगिताको नयाँ ब्रान्डले अफ्रिकाको ऊर्जा, महत्वाकांक्षा र आत्मालाई प्रतिबिम्बित गर्छ ।

कार्यक्रममा दक्षिण अफ्रिकाका ग्रेम स्मिथ, माखाया एन्टिनी, हाशिम अमला, टेम्बा बावुमा र कागिसो रबाडासहित जिम्बाबेका ह्यामिल्टन मासाकाड्जा तथा नामिबियाका रुडोल्फ जान्सेन भान भुरेन पनि सहभागी थिए ।

आईसीसीका अनुसार विश्वकप २०२७ मा कुल ५७ खेल हुनेछ । प्रतियोगिता नयाँ तीन चरणको ढाँचामा सञ्चालन हुनेछ ।

आईसीसी एकदिवसीय विश्वकप ओडीआई विश्वकप २०२७

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय