News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलका लागि सर्वाधिक ८० अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाएका नेयमार जुनियरले ३४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
- विश्व फुटबलमा असाधारण प्रतिभा भए पनि चोटसँगको निरन्तर संघर्षका कारण नेयमारले चारवटा फिफा विश्वकप खेल्दा पनि उपाधि जित्ने सपना पूरा गर्न सकेनन् ।
- अन्तर्राष्ट्रिय फुटबलमा विश्वकप ट्रफी नउचाले पनि नेयमारले आफ्नो खेलशैली र कीर्तिमानी प्रदर्शनमार्फत विश्व फुटबलमा अमिट छाप छोड्न सफल भएका छन् ।
१५ साउन, काठमाडौं । ब्राजिल र फुटबल एकअर्काका पर्यायजस्तै हुन् । विश्व फुटबल इतिहासका महान् खेलाडीहरूको सूची बनाउँदा पेले, गारिन्चा, रोनाल्डो नाजारियो, रोमारियो, रिभाल्डो, रोनाल्डिन्हो, काका, जिको, डिडी, जर्जिन्हो हुँदै नेयमार जुनियरसम्मको नाम स्वतः आउँछ ।
विश्वकपको ९६ वर्ष लामो इतिहासमा भएका सबै २३ संस्करण खेल्ने र सर्वाधिक पाँच पटक उपाधि जित्ने कीर्तिमान ब्राजिलकै नाममा छ । हरेक पुस्तामा ब्राजिलले विश्व फुटबललाई नयाँ स्टार दिएको छ ।
यी महान् खेलाडीहरूमध्ये अधिकांशको करिअर विश्वकप ट्रफीसँग पूर्ण भयो । तर एउटा नाम यस्तो छ, जसले प्रतिभा, लोकप्रियता र व्यक्तिगत उपलब्धिका बाबजुद विश्वकपको ट्रफी कहिल्यै उचाल्न सकेन । त्यो नाम हो, नेयमार जुनियर ।
ब्राजिलका लागि १३० खेल्दै सर्वाधिक ८० अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाएका नेयमारले चारवटा फिफा विश्वकप खेले । तर चारैपटक उनको विश्वविजेता बन्ने सपना अधुरै रह्यो । विश्व फुटबलका सबैभन्दा प्रतिभाशाली खेलाडीमध्ये एक मानिए पनि विश्वकप उनको करिअरको अपूरो अध्याय बन्यो ।
चोटसँग निरन्तर संघर्ष र भाग्यले साथ नदिँदा नेयमारले ३४ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे । धेरै खेलाडीका लागि यो उमेर करियरको उत्कर्ष हुने समय हो । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीले त तीस वर्ष पार गरेपछि अझ उत्कृष्ट प्रदर्शन गरेका थिए । तर नेयमारको करिअरलाई सबैभन्दा धेरै असर पुर्यायो चोटले ।

सन् २०१० को दशकमा उदाएका नेयमारलाई एक समय मेसी र रोनाल्डोपछि विश्व फुटबलको नेतृत्व गर्ने खेलाडीका रूपमा हेरिएको थियो । करिअरको सुरुआतमै उनले त्यो सम्भावनाको संकेत पनि दिएका थिए । स्पेनिस क्लब बार्सिलोनामा मेसी र लुइस सुआरेजसँग बनेको ‘एमएसएन’ फ्रन्टलाइनले विश्व फुटबलमा प्रभुत्व जमायो । उनी विश्वकै सबैभन्दा महँगा खेलाडी बनेर पेरिस सेन्ट जर्मेन पुगे ।
तर उनको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी विपक्षी टोली होइन, चोट बन्यो । लगातारको चोटले उनको लय बिथोलियो । जसले गर्दा करिअरका पछिल्ला वर्षहरूमा उनी पहिलेजस्तो प्रभावशाली देखिएनन् ।
नयाँ मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा आयोजित विश्वकपका लागि नेयमारलाई ब्राजिल टोलीमा समावेश गरे । यो उनको करिअरको अन्तिम विश्वकप थियो । विश्वकप जितेर अन्तर्राष्ट्रिय करिअरलाई पूर्णता दिने उनको अन्तिम अवसर पनि यही थियो ।
तर उनी पूर्ण रूपमा फिट थिएनन् । प्रतियोगिताभर उनले जम्मा दुई खेल खेले । नर्वेविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै उनले पेनाल्टीबाट एक गोल गरे । त्यस खेलमा ब्राजिल २–१ ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरियो । ब्राजिलको विश्वकप यात्रा सकिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरे ।
विश्व फुटबलले एउटा असाधारण प्रतिभालाई विश्वकप ट्रफीबिना बिदाइ गर्यो ।
चार विश्वकप, तर अधुरो सपना
नेयमारले लगातार चार विश्वकप २०१४, २०१८, २०२२ र २०२६ खेले । तर बाल्यकालदेखि देखेको विश्वकप जित्ने सपना कहिल्यै पूरा हुन सकेन ।
उनको विश्वकप यात्रा सन् २०१४ मा आफ्नै देश ब्राजिलमा सुरु भएको थियो । घरेलु समर्थकमाझ उनी प्रतियोगिताका सबैभन्दा चम्किला खेलाडीमध्ये एक थिए । ब्राजिल पनि उपाधिको प्रमुख दाबेदार थियो ।
तर क्वार्टरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा विपक्षी खेलाडीको टक्करबाट उनको ढाडमा गम्भीर चोट लाग्यो । त्यसपछि उनी प्रतियोगिताबाट बाहिरिए । सेमिफाइनलमा उनीविनाको ब्राजिल जर्मनीसँग ७–१ को लज्जासपद हार बेहोर्न बाध्य भयो । त्यो हार ब्राजिलियन फुटबल इतिहासकै सबैभन्दा पीडादायी क्षणमध्ये एक बन्यो ।
सन् २०१८ मा रुस र २०२२ मा कतारमा भएको विश्वकपमा पनि ब्राजिल क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेन । हरेक विश्वकपमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि नकआउट चरणमा भाग्यले साथ दिएन ।
२०२६ मा पनि विश्वकप जित्ने अन्तिम प्रयास असफल भएपछि उनले राष्ट्रिय टोलीबाट बिदा लिए ।

क्लब फुटबलमा सफलता
अन्तर्राष्ट्रिय फुटबलमा विश्वकप जित्न नसके पनि क्लब फुटबलमा नेयमारको करिअर अत्यन्त सफल रह्यो ।
ब्राजिलियन क्लब सान्तोषबाट उदाएका उनले सन् २००९ देखि २०१३ सम्म सिनियर टोलीबाट खेले । सान्तोषमा रहँदा जादुयी प्रदर्शन गरेका त्यसबेलाका युवा खेलाडीमाथि युरोपमा ठूला क्लबहरूको नजर थियो । तर नेयमार स्पानिस क्लब बार्सिलोना पुगे ।
बार्सिलोनामा मेसी र सुआरेजसँगको एमएसएन ट्रियो अट्याकले युरोपेली फुटबलमा नयाँ इतिहास रच्यो । उनले च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे लगायत थुप्रै उपाधि जिते । सन् २०१३ देखि २०१७ सम्म उनले बार्सिलोनाका लागि १२३ खेलमा ६८ गोल गरे ।

सन् २०१५ मा ब्रासिलोनालाई च्याम्पियन्स लिग उपाधि जिताउन नेयमारले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले क्वाटरफाइनलमा पीएसजी विरुद्ध दुवै लिगमा गरी ३ गोल गरेका थिए भने सेमिफाइनलमा बायर्न म्युनिख र फाइनलमा युभेन्ट्स विरुद्ध एक-एक गोल गरे ।
यस्तै सन् २०१६-१७ च्याम्पियन्स लिगको अन्तिम १६ बार्सिलोनाले पीएसजी विरुद्ध ४-० को अग्रता उल्टाउँदै ऐतिहासिक जित हातसिल गर्दा नेयमारले सानदार प्रदर्शन गरेका थिए । दोस्रो लेगमा बार्सिलोनाले ५-१ को जित हात पार्दा नेयमारले महत्वपुर्ण २ गोल गरे । यस्तै बार्सिलोनका लागि अन्तिम गोल गर्ने सर्जि रोबर्टोलाई नेयमारले नै असिस्ट गरेका थिए ।
सन् २०१७ मा उनी विश्व कीर्तिमानी ट्रान्सफर शुल्कमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगे । पीएसजीबाट ११२ खेलमा ८२ गोल गरे । उनी टोलीका मुख्य खेलाडी भए पनि च्याम्पियन्स लिग जित्ने सपना भने पूरा भएन । सन् २०२० मा पीएसजी पहिलो पटक फाइनल पुगे पनि बायर्न म्युनिखसँग पराजित भयो ।
सन् २०२३ मा उनी साउदी प्रो लिगको अल हिलाल पुगे । तर चोटका कारण त्यहाँ पनि धेरै खेल्न सकेनन् । घुँडाको गम्भीर चोटपछि उनको करिअर फेरि प्रभावित भयो । अल हिलालाबाट उनले लिगमा जम्मा ३ खेल खेले भने एएफसी च्याम्पियन्स लिगमा उनले नासाजी माजान्डारान विरुद्ध आफ्नो पहिलो गोल गरे ।
अल हिलालले सन् २०२५ को जनवरीमा आपसी सहमतिमा उनीसँगको सम्झौता अन्त्य गर्यो । त्यसपछि उनी आफ्नै बाल्यकालको क्लब सान्तोष फर्किए । त्यहीँबाट उनले पुनरागमनको प्रयास गरे र अन्ततः विश्वकप टोलीमा स्थान बनाउन सफल भए ।
चोटसँगको निरन्तर संघर्ष
विश्व फुटबलका सर्वाधिक प्रतिभाशाली खेलाडीमध्ये एक मानिएका नेयमारको करिअर चोटका कारण पटक–पटक अवरुद्ध भयो ।
विश्वकप मात्र होइन, कोपा अमेरिका र क्लब फुटबलका महत्त्वपूर्ण प्रतियोगितामा पनि चोटले उनलाई सताइरह्यो । विशेषगरी घुँडाको गम्भीर चोटपछि उनले लामो समय मैदानबाहिर बिताए । पूर्ण लयमा फर्कन संघर्ष गर्दै उनले आफ्नो अन्तिम विश्वकप खेले ।
यदि चोटले उनको करिअरलाई बारम्बार रोकिदिएको नभएको भए, सम्भवतः नेयमारको कथा अझ फरक हुन सक्थ्यो । ब्राजिल मात्र नभएर विश्व फुटबलले नै पाएको एक उत्कृष्ट प्रतिभाले ब्राजिललाई छैटौं पटक विश्वकप जिताउन पनि सक्थे । तर अब त्यो सपना अधुरै रहेको छ ।
ट्रफीभन्दा ठूलो विरासत
विश्वकप उपाधि जित्न नसके पनि नेयमारले विश्व फुटबलमा अमिट छाप छाडेका छन् ।
उनको ड्रिब्लिङ, गति, सिर्जनशीलता र मनोरञ्जनपूर्ण खेलशैलीले करोडौँ समर्थकको मन जित्यो । नेयमारले आफ्नै फुटबल कलाले विश्वभर करौडौं समर्थक कमाए । धेरैले उनलाई पछ्याउने प्रयास समेत गरे । उनको खेल्ने शैली मात्र होइन मैदान बाहिर उनको स्टाइल र हेयर स्टायल समेत चर्चित बनेको थियो । उनको त्यो स्टाइल पनि धेरैले फलो गरे ।
उनले ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान बनाएर फुटबल सम्राट पेलेलाई उछिने । व्यक्तिगत उपलब्धि, आकर्षक खेलशैली र विश्वव्यापी लोकप्रियताले उनलाई आफ्नो पुस्ताका महान् खेलाडीमध्ये स्थापित गरायो ।

फुटबलमा सफलताको सबैभन्दा ठूलो मापदण्ड विश्वकप ट्रफी मानिए पनि महानता त्यसले मात्र निर्धारण गर्दैन । नेयमारले गोल, कीर्तिमान, अविस्मरणीय क्षण र अनुपम फुटबल कलाको विरासत छाडेका छन् ।
सायद त्यसैले इतिहासले उनलाई विश्वकप विजेताका रूपमा होइन, विश्वकप जित्न नसकेका सबैभन्दा प्रतिभाशाली फुटबलरमध्ये एकका रूपमा सम्झिरहनेछ ।
प्रतिक्रिया 4