News Summary
Generated by OK AI. Editorially reviewed.- पेसएक्स स्पोर्ट्सद्वारा आयोजित ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ फुटसल प्रतियोगिता बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा सुरु भएको छ ।
- प्रतियोगितामा ३२ टोली सहभागी छन् र विजेताले रु १ लाख ११ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
- पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्णले नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेको बताइन् ।
१५ साउन,काठमाडौं । पेसएक्स स्पोर्ट्सको आयोजनामा आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड’ खुल्ला फुटसल प्रतियोगिता सुरु भएको छ । बुढानिलकण्ठस्थित कुपन स्पोर्ट्स सेन्टरमा एक विशेष समारोहका बीच प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो ।
प्रतियोगिताको पहिलो दिन अहिलेसम्म चार वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन् ।
पहिलो खेलमा नोबेल फुटबल एकेडमीले पिसीपिएसलाई ३-१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ । यस्तै सेखा एफसी र जि एण्ड ए एकेडमीबीचको रोमाञ्चक खेल २-२ को बराबरीमा सकिँदा हिमालयन एफसी र डाइनामिक एफसीले १-१ को बराबरी खेले । एभरेष्ट एफसीले करुणा एफसीलाई १-० ले हरायो ।
साउन १५ देखि १७ गतेसम्म (जुलाई ३१ देखि अगस्ट २) चल्ने तीन दिने प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी उपविजेताले ५१ हजार १११ र तेस्रो हुनेले २१ हजार १११ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि आकर्षक ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको पेसएक्स स्पोर्ट्सले आगामी दिनमा फुटसलका अतिरिक्त अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्ने लक्ष्य रहेको जनाएको छ ।
प्रतियोगिताको उद्घाटनको अवसरमा पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्णले पेसएक्स स्पोर्ट्स नेपालको पहिलो पूर्ण स्तरीय खेलकुद प्रशिक्षण तथा व्यवस्थापन कम्पनी भएको बताइन् ।
‘नेपालमा खेलकुदको अपार सम्भावना छ, तर ग्रासरुट तहमा गुणस्तरीय प्रशिक्षण र दीर्घकालीन दिगोपनको कमी छ,’ कर्णले भनिन्, ‘ती चुनौतीलाई सम्बोधन गर्दै नेपाली खेलकुदको भविष्य रूपान्तरण गर्न हामी अन्तर्राष्ट्रिय प्रविधि र स्थानीय लगावलाई जोडेर अघि बढेका छौँ ।’
उनका अनुसार पेसएक्स केवल एउटा प्रशिक्षण केन्द्र मात्र नभई खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुद निकायहरूलाई जोड्ने साझा मञ्चको रूपमा स्थापित हुने लक्ष्य राखिएको छ ।
उद्घाटन समारोहमा पेसएक्स स्पोर्ट्सकी अध्यक्ष संगीता कर्णसँगै मानव संसाधन निर्देशक कुन्दन कर्ण, तथा कार्यकारी निर्देशक डा. रेशव दास लगायतका अतिथिहरूले संयुक्त रूपमा गरेका थिए ।
प्रतिक्रिया 4