+
+
Shares
दिलै खोलेर :

‘बौद्ध दर्शन र मानसिक स्वास्थ्यलाई जोडेर धेरै पुस्तक लेखिनुपर्छ’

जब हामी मानव सभ्यता र यो विशाल ब्रह्माण्डलाई बुझ्न थाल्छौं, तब आफ्ना समस्याहरू कति साना रहेछन् भन्ने महसुस हुन्छ ।

सापेक्ष सापेक्ष
२०८३ साउन १७ गते १०:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णालीमा स्वास्थ्य सेवा र बालरोग विशेषज्ञका रूपमा कार्यरत डा. नवराज केसीको \'स्वस्पर्श\' कृति \'पारिजात कृति सम्मान २०८२\' बाट पुरस्कृत भएको छ।

कर्णालीको माटोमा जन्मिएका, त्यहींको दुःखसुखलाई नजिकबाट देखेका डा. नवराज केसी बालरोग विशेषज्ञ हुन् । उनी काठमाडौं वा ठूला शहरको कुनै अस्पतालमा काम गरेर आनन्दको जिन्दगी बाँच्न सक्थे । तर, विशेषज्ञता हासिल गरेपछि आफ्नै कर्णाली फर्किए । जिल्लाजिल्ला पुगेर निःशुल्क शिविर चलाइरहे । र, अस्पतालबाहेक गाउँका आमाहरूको आँसु र बच्चाहरूको मुस्कानमा आफूलाई जोडे । उनले त्यही अनुभवलाई समेटेर शून्यको मूल्य र स्वस्पर्श जस्ता पुस्तक लेखेका छन् । हालै मात्र उनको ‘स्वस्पर्श’ पारिजात कृति सम्मान २०८२ बाट पुरस्कृत भएको छ । यसपटक उनै डा. केसीसँग अनलाइनखबरले दिलै खोलेर कुरा गरेको छ:

१.हिजोआज

पछिल्लो समय के कुराले वा कुन समाचारले खुसी हुनु भयो ?

एउटा पुस्तक प्रकाशित भइसकेपछि पुस्तकले पाउने जुन मान्यता छ, त्यसले खुसी बनाउँदो रहेछ । मेरो पछिल्लो पुस्तक ‘स्वस्पर्श’ मा अहिले धेरै पाठक प्रतिक्रियाहरू आइरहेका छन् । पुस्तकले डिप्रेशनबाट निस्कन सहयोग गरेको, बाँच्न सहयोग गरेको भनेर धेरै जनाले मलाई म्यासेज गरिरहनुभएको छ। मेल पठाइरहनु भएको छ ।

एकजना बहिनीले त आफूले आत्महत्या गर्नलाई किनेको डोरीकै फोटो समेत मलाई पठाउनु भएको थियो । त्यसपछि उहाँले आफू हाँसेको, नाचेको भिडियोहरू पनि पठाउनुभयो । यो पुस्तकले धेरै मानिसहरुलाई बाँच्न सिकाएको छ । यो कुराले मलाई खुसी दिइरहेको छ ।

दिक्क बनाएको कुरा ?

अहिले नेपालमा आत्मदाहका घटनाहरू घटिरहेको छ, यो कुराले मलाई अत्यन्त दु:खी बनाएको छ । यसै बीचमा म के भन्न चाहन्छु भने कुनै पनि मानिसलाई हुने मानसिक समस्याहरूमध्ये ५० प्रतिशत भन्दा धेरै समस्या बाल्यकालबाटै सुरु भएको हुन्छ । सतहमा देखिने चाहिँ ठूलो भएपछि हो । चरम रुप लिन थालेपछि भने बल्ल हामीले नोटिस गर्न थाल्छौं । स्वस्पर्श यही कुरालाई ध्यान राखेर लेखिएको छ।

हामी सामान्यतया नर्मल मान्छे र अर्कोतर्फ मानसिक समस्यामा विकार आएका मान्छे भनेर भन्छौं । तर त्यो विकार आउनु र नर्मल हुनुको बीचमा लामो पुल हुन्छ । मैले यस किताबमा यही पुलबाट कसरी नर्मलतिर फर्कने भन्ने यात्रा उल्लेख गरेको छु ।

मलाई कहिलेकाहीँ दिक्क किन लाग्छ भने नेपाली साहित्य बुद्ध ज्ञानले, बौद्ध ज्ञानले भरिएको छ; यसको प्रयोग हामीले हाम्रो मन मस्तिष्क बलियो बनाउनमा खर्च गर्नुपर्ने हो । हाम्रा विद्यालयमा यस्ता पुस्तकको प्रयोग गरिनुपर्ने हो, जुन भएको छैन । यो कुरा थाहा पाउँदा दिक्क लाग्छ ।

पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?

म खुब पढ्छु । विशेष गरेर जलवायु परिवर्तन, मनोविज्ञानसम्बन्धी लेखिएका लेखहरू पढ्छु । यी मेरा रुचिका विषयहरू हुन् ।

इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?

मलाई लाग्दैन कि त्यस्तो केही छ । किनकि, म जहाँ जसरी जुन मानसिकतामा छु, जसरी मेरो विकास भएको छ, जसरी म अत्यन्त खुसी मान्छे बनेको छु; यी भन्दा बढी आफूले गरेका गल्ती र आफूले भोगेका दु:खहरू बढी महत्वपूर्ण छन् । त्यसैले, म कुनै पनि ती त्रुटिहरुलाई फेरि विगतमा गएर सुधार्न चाहन्न । तिनले मलाई सिकाएका छन् । बलियो बनाएका छन् । अझ भन्दा ती घटनाहरू घटेर नै मेरो जीवनमा महत्वपूर्ण कुराहरू प्राप्ति भएको हो ।

२.बाल्यकाल र किशोरावस्था

सानोमा सबैभन्दा बढी कुन खेल खेल्नुहुन्थ्यो  ?

फुटबल हो । एकदम धेरै फुटबल खेल्थेँ म सानोमा । हालै सम्पन्न विश्वकप पनि मैले खुबै इन्जोय गरेर हेरेँ।

साथीहरूले तपाईंको निकनेमहरू के–के राखिदिएका थिए ?

प्लस टु पढ्ने बेलासम्म साथीहरूले मेरो नामले नै बोलाउँथे । कुनै निक नेम थिएन । एमबीबीएस पढ्ने बेला भने सबै क्लाससेटको निकमेन थियो । त्यसबेला मलाई घने भन्थे साथीहरूले । मेरो टाउको अलि ठूलो छ, सायद त्यही भएर होला ।

तपाईंको कोहीसँग झगडा परेको थियो ?

परेन । त्यस्तो याद पनि पो छैन ।

तपाईंको सेलिब्रेटी क्रस कोही थियो ?

सेलिब्रिटी क्रस पनि मैले याद गर्नै सकिनँ । मैले हजुरको प्रश्नको उत्तर दिनलाई कोही थियो कि भनेर सोचेँ । मेरो जीवनमा खै किन हो त्यस्तो रहेनछ ।

३.सिनेमा

पहिलोचोटी फिल्म हेर्दाको सम्झना कस्तो छ ?

सुर्खेतमा भर्खरै फिल्म हलहरू बनेको थियो । हल भित्र परालको सिट हुन्थ्यो । मैले पनि भुइँमा पराल ओछ्याएर फिल्महरू हेरेको थिएँ । साथीहरूसँग भुवन केसी, शिव श्रेष्ठका फिल्म खुबै हेर्थ्यौं । सबैभन्दा पहिलो पटक हेरेको फिल्म टाइगर हो । त्यसमा खेल्नु हुने कलाकारको नाम भुलेँ । त्यो फिल्ममा अठार वटा फाइट सिन थियो । हामीहरू फाइट सिन हेर्नलाई मात्रै फिल्म हेर्न जान्थ्यौं ।

कस्ता फिल्म हेर्न मन पर्छ ?

आजभोलि चाहिँ मलाई डकुमेन्ट्री हेर्न मन पर्छ । हिस्टोरिकल फिल्महरू हेर्न मन पर्छ । पछिल्लो पटक हेरेको कुन फिल्म मन पर्यो भनेर सोध्नुहुन्छ भने चाहिँ मलाई गाह्रै हुन्छ । धेरै पो भएछ मैले फिल्म नै नहेरेको । सुर्खेतमा फिल्म हल त्यति छैन । अन्तिम पटक सायद मैले कान्तारा भन्ने फिल्म हेरेको थिएँ ।

साह्रै मन परेका फिल्म ?

छक्का पञ्जा सिरिज मैले सबै हेरेँ । यो सबै जसो राम्रो छ । मलाई अत्यन्त मन परेको फिल्म हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको बलिदान हो । यसको मेकिङ, निर शाहको एक्टिङ – अत्यन्त मन परेको थियो। त्यसपछि मलाई त्यति धेरै फिल्म हेरेको याद छैन ।

४.पुस्तक

पुस्तकहरू कतिको पढ्नुहुन्छ ? पढ्का कस्तो खालका पढ्नुहुन्छ?

पुस्तक म खुब पढ्छु । मेरो टेबल, मेरो कोठा नै लाइब्रेरी हो । किताबले सुत्ने कोठा नै भरिएको छ । पुस्तक नै मेरो जीवन हो । प्रत्येक हप्ता दुई-तीनटा पुस्तक सक्छु । पहिला मेडिकल पढ्ने बेला एकदम धेरै मेडिकल पुस्तकहरू पढियो । अब अहिले साहित्यको, इतिहासको पुस्तकहरू पढ्छु । विशेष गरेर आध्यात्मिक पुस्तकहरू पढ्छु । धार्मिक पुस्तकहरू भने होइनन् है फेरि ।

मन परेका कुनै पुस्तक ? लेखक ?

मलाई अत्यन्तै मन परेका पुस्तकहरूको कुरा गर्दा, खलिल जिब्रानले लेखेको द फ्रोफिट मेरो सबैभन्दा मन पर्ने पुस्तकहरूमध्ये एक हो । नेपाली साहित्यतर्फ हेर्दा मलाई शंकर लामिछानेका सबै कृतिहरू निकै मन पर्छन् । त्यस्तै, पारिजातका रचनाहरू पनि मलाई उत्तिकै प्रिय लाग्छन् । अहिलेको पुस्ताका लेखकहरूमध्ये मलाई सबैभन्दा मन पर्ने लेखकहरू अमर न्यौपाने र बुद्धिसागर हुनुहुन्छ । उहाँहरूका पुस्तकहरू म पटक–पटक पढ्छु। उहाँहरूको लेखनबाट धेरै प्रेरित छु।

नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । नेपाली साहित्यमा कस्ता पुस्तकहरू लेखिनुपर्छ भन्ने कुरामा मलाई के लाग्छ भने साहित्य एउटा ओखती पनि हुन सक्छ । आधुनिक युगमा मानसिक समस्या निकै बढ्दै गइरहेको छ । यस्तो अवस्थामा नेपाली साहित्यको एउटा विशेष पक्ष के हो भने यसको आत्मामा बौद्ध ज्ञान पनि जोडिएको छ । नेपाली साहित्यको गहिराइमा करुणा, चेतना र आत्मबोधजस्ता बौद्ध दर्शनका पक्षहरू भेटिन्छन् ।

अहिले मानसिक स्वास्थ्य सुधारका लागि प्रयोग भइरहेका धेरै थेरापीहरूको अध्ययन गर्दा पनि तिनको आधारमा बौद्ध दर्शनसँग मिल्ने धेरै अवधारणाहरू देखिन्छन् । त्यसैले बौद्ध दर्शन र आधुनिक मानसिक स्वास्थ्यसम्बन्धी ज्ञानलाई जोडेर यस विषयमा धेरै पुस्तकहरू लेखिनुपर्छ भन्ने मलाई लाग्छ ।

यस्ता पुस्तकहरू विद्यालयस्तरमै पढाइनुपर्छ, ताकि नयाँ पुस्ताले साहित्यलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई जीवन बुझ्ने र मानसिक स्वास्थ्य सुधार गर्ने एउटा माध्यमका रूपमा पनि लिन सकुन् । मलाई लाग्छ, यो अहिलेको समयमा अत्यन्तै महत्वपूर्ण विषय हो ।

५.घुमफिर र सोख

घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?

घुमफिर मेरो एकदमै मन पर्ने विषय हो । रुचाउँछु ।

सबैभन्दा मन परेको ठाउँ वा यात्रा ?

मैले अहिलेसम्म गरेका यात्राहरूमध्ये सबैभन्दा विशेष यात्रा भन्नुपर्दा, कर्णाली प्रदेशको रारा तालदेखि फोक्सुण्डो तालसम्मको ट्रेकिङ हो । यो मेरो जीवनकै महत्वपूर्ण यात्रामध्ये एक हो ।

हामीले करिब सात दिनसम्म निरन्तर ट्रेकिङ गरेका थियौं । बाटोमा गाउँहरू एक्सप्लोर गर्दै, बीच बीचमा बास बस्दै र स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै हामी अघि बढेका थियौं । त्यो यात्रा मेरो जीवनको सबैभन्दा सम्झनायोग्य अनुभवहरूमध्ये एक हो ।

गीत कत्तिको सन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?

गीत सुन्ने कुरा गर्दा, म धेरै गीतहरू सुन्छु । संगीतमा मेरो रुचि भएकाले म अलिअलि गिटार र पियानो पनि बजाउँछु, त्यसैले गीत सुन्ने बानी निकै छ । मलाई सबैभन्दा मनपर्ने गायकहरूको कुरा गर्दा, पहिले नारायण गोपाल र अहिले अमृत गुरुङ पर्नुहुन्छ ।

नेपथ्यको संगीत मलाई निकै मन पर्छ । त्यस्तै, क्रसरोड्सका संजय श्रेष्ठका गीतहरू पनि मैले धेरै सुनेको छु । सविन राईका गीतहरू पनि मलाई निकै मन पर्छन् । उहाँहरूको संगीतले मलाई धेरै प्रभावित गरेको छ।

खाना अथवा कपडाको कति सोखिन हुनुहुन्छ ?

म खाना र पोसाकको त्यति सौखिन रहिनँ । खाना मलाई जस्तो दिए पनि, थालीमा जे दिए पनि खान्छु । मलाई कपडाको पनि त्यति धेरै सौख भएन । मलाई याद छ, म प्लस टु पढ्न काठमाडौँ गएको बेला मैले पहिलो पटक जिन्स किनेको थिएँ । त्यसअघि हामी जहिले पनि स्कुल ड्रेस जस्तै कपडाहरू लगाउँथ्यौं ।

अहिलेसम्म किन्नुभएको सबैभन्दा महँगो वस्तु अथवा खर्च गरेको सेवा ?

सायद मेरो ल्यापटप हो । मैले म्याकबुक किनेको छु । गहना वा कपडाहरूमा मैले खासै खर्च गरेको छैन । मैले मेरो रुचि र कामसँग जोडिएका कुराहरूमै खर्च गरेको छु । म्याकबुक, पियानो जस्ता चिजहरू नै मेरा लागि विशेष खरिदहरू हुन् ।

६.राजनीति

नेपालको राजनीति कस्तो लाग्छ ?

मलाई लाग्छ, नेपालको राजनीति राम्रै दिशातर्फ अघि बढिरहेको छ । समयअनुसार भएका परिवर्तनहरू हेर्ने हो भने अरू धेरै देशको तुलनामा नेपालमा राजनीतिक परिवर्तनहरू केही छिटो भएका छन् । तर परिवर्तनका क्रममा हुने हिंसा भने मलाई मन नपर्ने पक्ष हो । त्यसबाहेक हेर्दा नेपालको राजनीति सही दिशातर्फ गइरहेको छ जस्तो लाग्छ ।

हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?

अनुशासन । किनकि नेपालको राजनीतिमा धेरै परिवर्तनहरू भए, तर एउटा पक्षमा अझै कमी देखिन्छ ‍- त्यो हो राजनीतिक कार्यकर्ताहरूको संस्कार र व्यवहारमा परिवर्तन । त्यो कम गर्न राजनीतिक दल र नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई अनुशासन सिकाउनु जरुरी छ ।

यदि राजनीतिक दलका कार्यकर्ताहरू अनुशासित, करुणामय, अध्ययनशील र बौद्धिक भए भने मात्रै नेपालको ठूलो विकास सम्भव छ जस्तो मलाई लाग्छ । समाज परिवर्तन केवल सत्ता परिवर्तनबाट हुँदैन, त्यसका लागि मानिसको सोच र चेतनामा परिवर्तन आउनुपर्छ ।

राजनीतिक कार्यकर्ताहरूमा शान्ति, करुणा र अध्ययनशीलताको माध्यमबाट वास्तविक रूपमा मानव समाज परिवर्तन गर्न सकिन्छ भन्ने चेतना आउन जरुरी छ। मलाई लाग्छ, यो पक्षमा धेरै नेताहरू चुकेका छन् ।

मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?

सबैभन्दा पहिलो परिवर्तनका रूपमा म बालबालिकाको सुरुवाती जीवन र शिक्षामा केन्द्रित हुने थिएँ । म एउटा बालरोग विशेषज्ञ पनि हुँ । मैले बुझेको कुरा के हो भने मानव समाजको परिवर्तन एक वर्ष, दुई वर्ष वा पाँच वर्षमै सम्भव हुँदैन । तर सही योजना र लगानी गर्ने हो भने १० देखि १५ वर्षभित्र ठूलो परिवर्तन ल्याउन सकिन्छ ।

त्यो परिवर्तन मानिस जन्मिनुभन्दा पहिलेदेखि नै सुरु हुन्छ । गर्भमा रहेको बच्चाले राम्रो वातावरण पाउनुपर्छ । आमाले गर्भावस्थामा राम्रो स्वास्थ्य सेवा, खुसी र सुरक्षित वातावरण पाउनुपर्छ । बच्चा जन्मिएपछि सुरुका केही वर्ष उसले आमाको काखमा माया, सुरक्षा र खुसीसहितको जीवन पाउनुपर्छ । त्यसपछि विद्यालय जाने उमेरमा, विशेषगरी ५-७ कक्षासम्मको शिक्षालाई गुणस्तरीय, व्यवहारिक र सिर्जनात्मक बनाउनुपर्छ ।

यदि हामीले बालबालिकाको सुरुवाती ८ वर्षमा सही लगानी गर्न सक्यौं भने त्यसको परिणाम आगामी १० वर्षपछि देखिन्छ । विश्वका धेरै विकसित राष्ट्रहरूले पनि यही कुरालाई प्राथमिकता दिएका छन् । दक्षिण कोरिया, जापान र युरोपका धेरै देशहरूले मानव विकासमा गरेको लगानीकै कारण ठूलो प्रगति गरेका हुन् ।

यदि म प्रधानमन्त्री भएको भए, गर्भवती आमाहरूका लागि विशेष स्वास्थ्य सेवा र जन्मेदेखि ८ वर्षसम्मका बालबालिकाको स्वास्थ्य, शिक्षा, सिकाइ र विद्यालय व्यवस्थापनमा सबैभन्दा धेरै ध्यान दिने थिएँ ।

हामीले धेरैपटक एक दुई वर्षमै परिणाम खोज्ने गर्छौं । त्यसले नेतृत्वलाई पनि छोटो समयमै देखिने काम गर्न दबाब दिन्छ । हामी बाटो, पुल र ठूला भवनलाई मात्रै विकास ठान्छौं, तर वास्तविक विकास मानिसको विकास हो ।

७. विविध

कुन ब्रान्डको मोबाइल चलाइरहनु भएको छ ?

आइफोन । फोटोग्राफी, भिडियोग्राफीमा एकदमै इन्ट्रेस्टेड छु, त्यही भएर पनि आइफोन किनेको हो । मैले सामाजिक सञ्जालमा बालस्वास्थ्यसँग रिलेटेड भिडियो पनि हालिरहेको हुन्छु ।

दिनको कति घन्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन  ?

फुर्सदमा कहिलेकाहीँ हेर्छु । जम्मा गरेर दिनमा आधा घण्टादेखि १ घण्टा पुग्छ होला ।

सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?

सामाजिक सञ्जालको राम्रो र नराम्रो यसको एल्गोरिदम हो । अहिले धेरैजसो अवस्थामा हामीले नकारात्मक समाचारहरू बढी देखिरहेका हुन्छौं, जब हामी लगातार यस्ता नकारात्मक सामग्रीहरू हेर्दै जान्छौं; एल्गोरिदमले पनि हाम्रो रुचि यही हो भन्ने बुझेर अझ धेरै तनाव दिने र नकारात्मक सामग्रीहरू देखाउन थाल्छ ।

यसैले हामीले सञ्जालको एल्गोरिदमलाई राम्रो तरिकाले प्रयोग गर्न सक्नुपर्छ । हामीले कस्तो सामग्री हेर्छौं भन्ने कुराले नै एल्गोरिदमलाई हामीलाई के देखाउने भन्ने सिकाउँछ । हामी सबैले आफ्नो समय र ध्यानलाई ज्ञान र सिर्जनात्मक कुराहरूमा लगाउनुपर्छ ।

पुन: जन्म हुने भए अब के बन्न मन छ ?

म पुन: जन्ममा चाहिँ विश्वास गर्दिनँ । यदि हुन्छ नै भने पनि मलाई फेरि फर्कन चाहिँ मन छैन । मलाई लाग्छ, एउटा जीवन नै पर्याप्त छ । मेरो विचारमा मृत्यु पनि जीवन जत्तिकै महत्वपूर्ण कुरा हो । किनभने अन्त्य नभएको कुनै पनि चीजको खास अर्थ हुँदैन । मृत्यु भएकै कारण जीवनको मूल्य हुन्छ, समयको महत्व हुन्छ र हरेक क्षण अर्थपूर्ण बन्छ ।

त्यसैले मेरो विचारमा जीवनको अर्थ पनि मृत्युको चेतनाबाट सुरु हुन्छ । हामी सीमित छौँ भन्ने बुझाइले नै जीवनलाई अझ गहिरो रूपमा अनुभव गर्न सिकाउँछ ।

तनाव, दबाबहरू कसरी कम गर्नुहुन्छ ?

तनाव र दबाब कम गर्ने विषयमा मेरो आफ्नै केही अनुभवहरू छन् । कोभिडको समयमा म कर्णाली प्रदेशको फोकल पर्सनको भूमिकामा थिएँ । त्यो समयले मलाई जीवनका धेरै गहिरा कुराहरू सिकायो ।

त्यतिबेला अक्सिजन व्यवस्थापन, बिरामीहरूको व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, खानाको व्यवस्थापनदेखि लिएर आफूलाई कसरी सुरक्षित राख्ने, आफन्त र बिरामीहरूको जीवन कसरी जोगाउने भन्ने ठूलो जिम्मेवारी थियो । त्यो कालखण्ड मेरो जीवनकै निकै महत्वपूर्ण अनुभव बन्यो । त्यही समयमा मैले धेरै कुरा सिकेँ ।

त्यसपछि मैले सबैलाई भन्ने गरेको छु – इतिहासको अध्ययन गर्नुस्, ब्रह्माण्डको अध्ययन गर्नुस् । जब हामी मानव सभ्यता र यो विशाल ब्रह्माण्डलाई बुझ्न थाल्छौं, तब आफ्ना समस्याहरू कति साना रहेछन् भन्ने महसुस हुन्छ ।

मानिसले आफ्नो अहंकारलाई केही कम गर्न सक्यो भने धेरै तनाव र दबाबहरू आफैँ कम हुँदै जान्छन् जस्तो लाग्छ । त्यसबाहेक, बौद्ध ज्ञान र बौद्ध मार्गको अध्ययनले पनि जीवनलाई शान्त र सन्तुलित रूपमा बुझ्न ठूलो सहयोग गर्छ भन्ने मेरो विश्वास छ ।

तपाईलाई के को सुगन्ध सबैभन्दा मन पर्छ ?

मलाई प्रकृतिसँग पनि निकै लगाव छ । म फूल रोप्न र गार्डनिङ गर्न धेरै मन पराउँछु । गुलाब, चमेलीजस्ता फूलहरूको सुगन्ध मलाई निकै मन पर्छ । फूलहरूको सौन्दर्य र सुगन्धमा पनि जीवनको एउटा सुन्दर अनुभूति भेटिन्छ जस्तो लाग्छ ।

अहिलेसम्म तपाईंले पाउनु भएको राम्रो सुझाव ?

मैले पाएको सबैभन्दा राम्रो सुझाव मेरो पिताबाट हो । उहाँले मलाई सधैँ सत् मार्गमा हिँड्न र बौद्ध ज्ञानको अष्टाङ्गिक मार्गलाई जीवनमा अपनाउन प्रेरणा दिनुहुन्थ्यो ।

तपाईंको सोच र जीवनलाई हेर्ने दृष्टिकोणलाई सबैभन्दा धेरै प्रभाव पार्ने कुराहरू केके छन् ?

मैले के कुरा सिकेँ भने यदि हामीले नियमित रूपमा इतिहास, विशेषगरी मानव सभ्यताको इतिहासको अध्ययन गर्छौं भने हाम्रो दृष्टिकोण नै फराकिलो हुन्छ । इतिहास हेर्दा थाहा हुन्छ कि मानव सभ्यतामा कति ठूलाठूला घटनाहरू भएका रहेछन् । त्यसको तुलनामा मेरो जीवनमा घटिरहेका घटनाहरू त त्यो विशाल यात्राको एउटा  सानो हिस्सा मात्र रहेछन् भन्ने अनुभूति हुन्छ । त्यसैले मलाई इतिहासप्रति निकै रुचि छ ।

त्यस्तै, मलाई ब्रह्माण्डको अध्ययन गर्न पनि मन पर्छ । ग्रहहरू, ग्यालेक्सीहरू र यो विशाल ब्रह्माण्डबारे बुझ्दै जाँदा अर्को एउटा कुरा महसुस हुन्छ – म कति सानो रहेछु, मेरा समस्याहरू कति साना रहेछन्, मेरो जीवन र मेरो समयको अवधि कति छोटो रहेछ ।

यो अनुभूतिले मानिसलाई अझ शान्त बनाउँछ जस्तो लाग्छ । आफ्नो अहंकार कम हुन्छ, अनावश्यक महत्वाकांक्षा घट्छ र जीवनलाई फराकिलो दृष्टिले हेर्न सकिन्छ । त्यसका साथै, म बौद्ध ज्ञान र बौद्ध मार्गका कुराहरूमा पनि निकै रुचि राख्छु । धेरै रिम्पोचेहरू, भिक्षुहरू र बौद्ध गुरुहरूका विचारहरू पछ्याउँछु । उहाँहरूका वचनहरू सुन्छु, सम्बन्धित पुस्तकहरू पढ्छु ।

त्यस्तै, साहित्य र पुस्तकसँग सम्बन्धित धेरै पेजहरू पनि फलो गर्छु । यी सबै कुराहरूले मेरो सोचलाई अझ फराकिलो बनाउन सहयोग गरेका छन् ।

दिलै खोलेर
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?