+

कप्तान रोहितले भने- कन्डिशनलाई दोष दिन्‍नौं, ब्याटिङ र फिल्डिङ कमजोर भयो

२०८३ साउन  १५ गते २०:३१ २०८३ साउन १५ गते २०:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ब्याटिङ, फिल्डिङ र इन्टेन्टको अभावका कारण शृङ्खला गुमाउनुपरेको स्वीकार गरेका छन् ।
  • रोहितले विदेशी कन्डिसनअनुसार ब्याटरहरूले शर्ट बलको सामना गर्न नसक्नु मुख्य कमजोरी रहेको उल्लेख गरे ।
  • टोलीले अब अक्टोबरमा हुने ओमान र क्यानडाविरुद्धको अन्तिम शृङ्खलामा राम्रो प्रदर्शन गर्दै ओडीआई मान्यता जोगाउने लक्ष्य राखेको छ ।

१५ साउन, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्स भ्रमणमा चारवटै खेल गुम्नुको मुख्य कारण विदेशी कन्डिशन मात्रै नभई कमजोर ब्याटिङ, फिल्डिङ र इन्टेन्टको अभाव रहेको स्वीकार गरेका छन् ।

क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँगको शृङ्खलामा नेपालले चारवटै खेल गुमाएपछि शुक्रबार स्वदेश फर्किएका रोहितले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै हारको जिम्मेवारीबाट आफूहरू भाग्न नमिल्ने बताए ।

‘कन्डिसन एउटा फ्याक्टर हो । तर त्यसलाई मात्र बहाना बनाउन मिल्दैन’ रोहितले भने, ‘हामीले ब्याटिङमा जुन हिसाबले खेल्नुपर्थ्यो, त्यो गर्न सकेनौं । इन्टेन्ट देखिएन । मलाई लाग्छ, त्यही कारण हामी पछाडि पर्‍यौं ।’

उनका अनुसार बलिङ युनिटले भने अपेक्षाअनुसार प्रदर्शन गरेको थियो । तर ब्याटिङसँगै फिल्डिङ पनि टोलीको स्तरअनुसार हुन नसक्दा नतिजा आफ्नो पक्षमा पार्न नसकिएको उनले बताए ।

‘बलिङ युनिटका रूपमा हामी राम्रो थियौं तर ब्याटिङ र फिल्डिङ दुवैमा कमजोर भयौं । एउटै खेलमा दुई–तीनवटा मुख्य क्याच छुटे । त्यही ब्याट्सम्यानले पछि ७०–८० रन बनाएर खेल जिताए। अन्तर्राष्ट्रिय क्रिकेटमा यस्ता साना गल्तीले ठूलो मूल्य चुकाउनुपर्छ’ उनले भने ।

रोहितले विदेशी विकेटमा खेल्ने शैली परिवर्तन गर्न नसक्नु पनि अर्को कमजोरी भएको स्वीकार गरे । नेपालको घरेलु विकेट र युरोपेली कन्डिसनबीच ठूलो अन्तर रहेकाले त्यसअनुसार आफूहरू ढल्न नसकेको उनको भनाइ थियो ।

‘हाम्रो घरेलु विकेटभन्दा बाहिरको विकेट फरक हुन्छ । त्यसअनुसार खेल्न सकेनौं । त्यसलाई स्वीकार गरेर सुधार गर्नु नै अहिलेको आवश्यकता हो’ उनले भने ।

पूरै शृङ्खलामा विपक्षी टोलीका तीव्र गतिका बलरले छोटो लेन्थका बल फालेका थिए । त्यसैमा नेपालका अधिकांश ब्याटर संघर्षरत देखिएका थिए । रोहितले पनि शर्ट बलविरुद्ध टोलीले अपेक्षाअनुसार खेल्न नसकेको स्वीकार गरे ।

‘उनीहरूले लगातार शर्ट बलमा टार्गेट गरेका थिए । त्यसलाई राम्रोसँग ट्याकल गर्न सकेको भए फरक नतिजा आउन सक्थ्यो । अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने यस्ता चुनौती स्वीकार गरेर त्यसअनुसार खेल्नुपर्छ’ उनले भने ।

पहिलो खेलमा आफू र दीपेन्द्रसिंह ऐरीले राम्रो साझेदारी सुरु गरे पनि त्यसलाई ठूलो इनिङ्समा रूपान्तरण गर्न नसक्नु पनि नेपालका लागि महँगो परेको उनले बताए ।

‘पहिलो खेलमा राम्रो मोमेन्ट आएको थियो । यदि त्यसलाई समात्न सकेको भए केही रन थपिन्थ्यो । त्यही स्कोर २१०–२२० पुगेको भए विपक्षीलाई पछ्याउन निकै गाह्रो हुने थियो’ रोहितले भने।

शृङ्खलाको अन्तिम खेलमा स्टार लेगस्पिनर सन्दीप लामिछानेलाई बाहिर राख्ने निर्णय कठिन भए पनि टोलीको सन्तुलनका लागि त्यसो गर्नुपरेको उनले स्पष्ट पारे ।

‘सन्दीप दाइलाई बाहिर राख्नु निकै कठिन निर्णय थियो । तर टिम कम्बिनेसनका कारण त्यो निर्णय लिनुपर्‍यो । सबैले टिमलाई पहिलो प्राथमिकतामा राखेर निर्णय स्वीकार गर्नुभयो’ उनले भने ।

चार हारसँगै लिग २ को अंकतालिकामा नेपाल शीर्ष ४ मा पर्ने सम्भावना लगभग समाप्त भएको छ । अब नेपाल शीर्ष ६ मा भने रहेर ओडीआई मान्यता जोगाउने लक्ष्यमा हुनेछ । अब अक्टोबरमा हुने अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग खेल्दै नेपालले एकदिवसीय मान्यता जोगाउने अभियान पूरा गर्नुपर्नेछ ।

रोहितका अनुसार अब टोलीको सम्पूर्ण ध्यान अन्तिम शृङ्खलामै केन्द्रित हुनेछ । ‘अहिले हाम्रो सबैभन्दा ठूलो लक्ष्य एकदिवसीय मान्यता जोगाउनु हो । अन्तिम शृङ्खलामा राम्रो नतिजा निकाल्न सके नेपाल क्रिकेटका लागि त्यो ठूलो उपलब्धि हुनेछ’ उनले भने ।

समर्थकहरूको निराशाप्रति पनि उनले दुःख व्यक्त गरे । ‘समर्थकभन्दा हामी आफैं बढी निराश छौं । उहाँहरूको अपेक्षा पूरा गर्न सकेनौं । अर्को शृङ्खलामा अझ धेरै मेहनत गरेर राम्रो नतिजा दिने प्रयास गर्नेछौं’ रोहितले भने ।

नेपाली क्रिकेट टोली रोहित पौडेल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय