+

बच्चाको स्क्रिन टाइम : तपाईंको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी

२०८३ साउन  २० गते १९:०१ २०८३ साउन २० गते १९:०१

खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइलरहित क्षेत्र बनाउनुहोस् ।

Shares
बच्चाको स्क्रिन टाइम : तपाईंको व्यवहारले बिगार्न सक्छ उनीहरूको बानी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बालबालिकाको भावनात्मक विकास, व्यवहार र सामाजिक सीपमा गहिरो नकारात्मक असर पारिरहेको हुन्छ।

डिजिटल युगमा बालबालिकाको स्क्रिन टाइमबारे धेरै चर्चा हुने गर्छ । बच्चा धेरै मोबाइल चलाउँछन्, टेलिभिजन हेर्छन् वा भिडियो गेम खेल्छन् भन्ने चिन्ता अधिकांश अभिभावकमा हुन्छ ।

तर पछिल्ला वर्षहरूमा विशेषज्ञहरूले अर्को महत्त्वपूर्ण पक्षतर्फ ध्यानाकर्षण गराएका छन् । समस्या बच्चाको स्क्रिन टाइममा मात्र सीमित छैन, अभिभावकको अत्यधिक मोबाइल प्रयोगले पनि बच्चाको व्यवहार, भावनात्मक विकास र सामाजिक सीपमा गहिरो असर पारिरहेको छ।

बाल मनोविज्ञानमा यसलाई ‘टेक्नोफेरेन्स’ भनिन्छ । यसको अर्थ हो, प्रविधिका कारण अभिभावक र बच्चाबीचको प्रत्यक्ष संवाद तथा सम्बन्धमा अवरोध आउनु ।

मोबाइलले समय मात्र होइन, बच्चाले पाउनुपर्ने ध्यान र आत्मीयता पनि खोस्न थालेको विज्ञहरूको भनाइ छ।

मोबाइलमा व्यस्त अभिभावकलाई देख्दा बच्चाले के महसुस गर्छ ?

सानो बच्चाले आफ्ना भावना शब्दभन्दा बढी अनुहारको हाउभाउ, आँखाको सम्पर्क र अभिभावकको प्रतिक्रियाबाट बुझ्ने गर्छ । जब बच्चाले केही देखाउन खोज्छ, कुरा गर्न आउँछ वा खेल्न बोलाउँछ, तर अभिभावक भने मोबाइलको नोटिफिकेसन हेर्न, सामाजिक सञ्जाल स्क्रोल गर्न वा च्याटमा व्यस्त हुन्छन्, बच्चाले आफूभन्दा मोबाइल बढी महत्त्वपूर्ण रहेछ भन्ने सन्देश अवचेतन रूपमा ग्रहण गर्न थाल्छ ।

यो अवस्था बारम्बार दोहोरिँदा बच्चाले आफूलाई उपेक्षित, बेवास्ता गरिएको र कम महत्त्वको महसुस गर्न सक्छ । दीर्घकालमा यसले उनीहरूको आत्मविश्वास, भावनात्मक सुरक्षा र व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ ।

अभिभावकको अत्यधिक मोबाइल प्रयोगले बच्चामा पर्ने मुख्य असर

१. भावनात्मक सम्बन्ध कमजोर हुन सक्छ

बच्चा रोएको, हाँसेको वा नयाँ कुरा सिकेको बेला अभिभावकले तुरुन्त प्रतिक्रिया नदिँदा उनीहरूमा भावनात्मक असुरक्षाको भावना विकास हुनसक्छ । बच्चाले आफूलाई नबुझिएको र एक्लो महसुस गर्न थाल्छ । बाल विकासका लागि अभिभावकको प्रत्यक्ष ध्यान र आत्मीय प्रतिक्रिया अत्यन्त आवश्यक मानिन्छ ।

२. चिडचिडापन र जिद्दी व्यवहार बढ्न सक्छ

बच्चाले ध्यान पाउन विभिन्न उपाय अपनाउँछ । यदि सहज रूपमा अभिभावकको ध्यान प्राप्त भएन भने उनीहरूले कराउने, जिद्दी गर्ने, सामान फाल्ने वा नकारात्मक व्यवहार देखाएर ध्यान तान्ने प्रयास गर्न सक्छन् । धेरै अभिभावकले यसलाई ‘बच्चाको बानी’ ठान्छन्, तर कहिलेकाहीँ यसको कारण उनीहरूले खोजिरहेको ध्यान हुन सक्छ ।

३. सामाजिक तथा भाषिक विकासमा असर पर्न सक्छ

बच्चाले बोल्ने शैली, अनुहार हेरेर प्रतिक्रिया दिने तरिका, संवाद गर्ने सीप र सामाजिक व्यवहार सबैभन्दा पहिले घरमै सिक्छ । यदि अभिभावकको ध्यान सधैँ मोबाइलतर्फ केन्द्रित रह्यो भने बच्चाले आवश्यक संवाद र अन्तर्क्रिया कम पाउँछ । यसले भाषा विकास, सामाजिक आत्मविश्वास र सम्बन्ध निर्माण गर्ने क्षमतामा असर पार्न सक्छ ।

बच्चाले सुनेभन्दा बढी देखेर सिक्छन्

बाल मनोविज्ञानमा ‘रिफ्लेक्सन थ्योरी’ को अवधारणा निकै चर्चित छ । यसको अर्थ, बच्चाले अभिभावकको व्यवहारलाई नै आफ्नो व्यवहारको नमुना बनाउँछ । यदि घरका सबै सदस्य फुर्सद हुनेबित्तिकै मोबाइलमा व्यस्त देखिन्छन् भने बच्चाका लागि पनि मोबाइल नै मनोरञ्जन, विश्राम र समय बिताउने सबैभन्दा स्वाभाविक माध्यम बन्न पुग्छ । त्यसैले बच्चालाई ‘मोबाइल धेरै नचलाऊ’ भन्नुभन्दा पहिले अभिभावकले आफ्नै बानीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

अभिभावकले कसरी कायम राख्ने डिजिटल सन्तुलन ?

मोबाइल प्रयोग पूर्णरूपमा बन्द गर्नु समाधान होइन । काम, अध्ययन र दैनिक जीवनका लागि स्मार्टफोन आवश्यक नै हुन्छ । तर यसको प्रयोगमा सन्तुलन कायम गर्नु अत्यन्त महत्त्वपूर्ण छ ।

घरमा ‘नो–फोन जोन’

खाना खाने टेबल, परिवारसँग बस्ने कोठा वा सुत्ने कोठालाई सम्भव भएसम्म मोबाइलरहित क्षेत्र बनाउनुहोस् । खाना खाने समयमा सबै सदस्यले मोबाइल टाढा राख्ने बानी बसाल्नु राम्रो हुन्छ ।

बच्चासँग हुँदा मोबाइललाई प्राथमिकता नदिने

बच्चासँग खेल्ने, पढाइमा सहयोग गर्ने वा उनीहरूको कुरा सुन्ने बेला मोबाइललाई साइलेन्ट मोडमा राख्नुहोस् वा केही समयका लागि अर्को कोठामा राख्नुहोस् । यसले बच्चाले आफूलाई महत्त्व दिइएको अनुभूति गर्छ ।

परिवारको ‘डिजिटल डिटक्स’ समय तय गर्ने

दिनमा कम्तीमा १–२ घण्टा परिवारका सबै सदस्यले मोबाइल, ट्याबलेट वा टेलिभिजनबाट टाढा रहने समय छुट्याउन सकिन्छ । यो समयमा खेल्ने, कुरा गर्ने, किताब पढ्ने वा सँगै हिँडडुल गर्ने गतिविधि गर्न सकिन्छ ।

मोबाइल प्रयोगको कारण बच्चालाई बुझाउने

यदि कार्यालयको अत्यावश्यक कामका कारण मोबाइल हेर्नैपर्ने अवस्था छ भने बच्चालाई स्पष्ट रूपमा भन्ने, ‘म पाँच मिनेट काम सकाएर तिमीसँग खेल्छु ।’ यसले बच्चाले आफूलाई बेवास्ता गरिएको होइन भन्ने बुझ्छ । बच्चालाई सबैभन्दा धेरै चाहिने कुरा तपाईंको समय हो ।

महँगा खेलौना, नयाँ ग्याजेट वा धेरै नियमभन्दा पनि बच्चालाई अभिभावकको पूर्ण ध्यान आवश्यक हुन्छ । उनीहरूका लागि केही मिनेटको गुणस्तरीय संवाद, आँखामा आँखा मिलाएर सुन्ने बानी र सँगै बिताएको समय नै सबैभन्दा ठूलो उपहार हो ।

यदि आफ्नो बच्चालाई स्क्रिनको लतबाट जोगाउन, भावनात्मक रूपमा बलियो बनाउन र स्वस्थ सामाजिक विकास गराउन चाहेमा त्यसको सुरुआत आफ्नै मोबाइल प्रयोगको बानीबाट गर्नुपर्छ।

अर्कोपटक बच्चा केही भन्न आउँदा केही क्षणका लागि मोबाइलको स्क्रिन तल राख्ने र उनीहरूको आँखामा हेरेर ध्यानपूर्वक सुन्नु उचित हुन्छ । सायद यही सानो परिवर्तनले उनीहरूको भविष्यमा ठूलो सकारात्मक प्रभाव पार्न सक्छ।

सुरक्षित र प्रभावकारी स्क्रिन प्रयोगका लागि ‘को–स्क्रिनिङ’

कहिलेकाहीँ बालबालिकाले विद्यालयको प्रोजेक्ट, गृहकार्य वा अनुसन्धानका लागि स्क्रिन प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा अभिभावकले सकेसम्म बालबालिकासँगै बसेर, उनीहरूलाई आवश्यक सहयोग र मार्गदर्शन गर्दै स्क्रिन प्रयोग गराउनु उपयुक्त हुन्छ । यसलाई को–स्क्रिनिङ भनिन्छ ।

यसरीसँगै बसेर प्रयोग गर्दा बालबालिकाले सही जानकारी छनोट गर्न, सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न, सिकाइलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाउन सहयोग पुग्छ ।

अभिभावकः आनीबानी बालबालिका
डा. विजय ज्ञवाली
लेखक
डा. विजय ज्ञवाली
साइको थेरापिस्ट तथा अकुपञ्चरिस्ट

पीएचडी (मानसिक स्वास्थ्य), एमएस (क्लिनिकल साइकोलोजी), डिप्लोमा (अकुपञ्चर) अमोहा क्लिनिकमा आवद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय