News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक नीतिगत अनिश्चितताले सेयर बजारमा सबैभन्दा छिटो र तीव्र नकारात्मक प्रभाव पार्ने गरेको छ ।
- अध्ययनले जीडीपीमा दुई प्रतिशत गिरावट आउँदा नेप्से सूचकमा १० प्रतिशतसम्मको कमी आउन सक्ने तथ्य औंल्याएको छ ।
- नीतिगत स्पष्टता नहुँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा पुग्दा कर्जा प्रवाह र आयातमा समेत उल्लेखनीय गिरावट आउने प्रतिवेदनमा उल्लेख छ ।
१७ साउन, काठमाडौं । आर्थिक क्षेत्रका नीति तथा अरू विशेष घटनाका कारण सेयर बजार सबैभन्दा छिटो प्रभावित हुने गरेको एक अध्ययनले देखाएको छ । बजेट, मौद्रिक नीति, कोरोना महामारी, भूकम्प लगायत घटनाक्रमले सबैभन्दा छिटो प्रभाव सेयर बजारमा पारेको अध्ययनले देखाएको हो ।
नेपाल राष्ट्र बैंकका डा. विरेन्द्र बहादुर बुढा, रोहन व्यञ्जनकार र स्वस्तिक नेपालले संयुक्त रुपमा गरेको यस अध्ययन अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) २ प्रतिशतले घट्दा सेयर बजार सूचक (नेप्से) १० प्रतिशतसम्म घट्ने देखिएको छ ।
उनीहरूले आर्थिक नीतिगत अनिश्चितता तथा अन्य घटनाक्रमका कारण समग्र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेको राष्ट्र बैंकले जनाएको छ ।
अध्ययनकर्ताले आर्थिक नीतिहरूसँग सम्बन्धित अनिश्चितताका विषयहरू मापन गरेका छन् । मुलुकका घटनाक्रमले आर्थिक वृद्धि, आयात, निजी क्षेत्रको कर्जा र सेयर बजारमा पर्ने असरलाई विश्लेषण गरेका छन् ।
गुगल ट्रेन्ड्सको प्रयोग मार्फत उनीहरूले सन् २०११ जनवरी देखि अप्रिल २०२६ सम्मको डेटा प्रयोग गरेर अनिश्चितताको सूचना तथा प्रभाव विकास गरेका छन् । अध्ययनकर्ताले बजेट, मौद्रिक नीति, कर, बैंकदर लगायत ५६ वटा आर्थिक शब्दहरू प्रयोग गरेर यो सूचकांक बनाएको प्रतिवेदनमा उल्लेख छ ।
हरेक वर्ष सरकारले सार्वजनिक गर्ने बजेट र राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने समयमा अनिश्चितता उच्च हुने अध्ययनको निष्कर्ष छ । यसअघि अप्रिल २०२२ मा नेपालको विदेशी मुद्रा सञ्चिति घटेर दबाबमा परेको बेला अनिश्चितताको सूचकांक धेरै माथि पुगेको अध्ययनले औंल्याएको छ । सन् २०१४ को सार्क सम्मेलन, २०१८ को बिमस्टेक सम्मेलन र वि.स. २०७२ को गोरखा भूकम्पको समयमा पनि अनिश्चितता बढेको देखिएको छ ।
अध्ययनले लोकल प्रोजेक्सन र एसभीएआर मोडेल प्रयोग गरेर अनिश्चितता बढ्दा अर्थतन्त्रका प्रमुख सूचकहरूमा नकारात्मक असर पर्ने निष्कर्ष निकालेको छ ।
अध्ययन अनुसार आर्थिक नीतिमा अनिश्चितता बढ्दा जीडीपी घट्छ । अनिश्चितता बढेको दोस्रो त्रैमासिकबाट नै अर्थतन्त्रमा असर देखिन थाल्छ । तेस्रो त्रैमासिकमा सबैभन्दा बढी करिब २ प्रतिशतसम्म जीडीपीमा गिरावट आउने अध्ययनको निष्कर्ष छ ।
त्यसैगरी आर्थिक नीतिगत अनिश्चितताका कारण उपभोग र लगानीकर्ताको मनोबल घट्दा वास्तविक आयातमा करिब १५ प्रतिशतसम्म गिरावट आउन सक्ने अध्ययनले औंल्याएको छ ।
बैंकहरूलाई ऋण दिन र व्यवसायीलाई ऋण लिन डराउने अवस्था नीतिगत अनिश्चितताले ल्याउने गरेको अध्ययनले देखाएको छ । मागमा कमी आएका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा ५ प्रतिशतसम्म गिरावट आउने अध्ययनको निष्कर्ष छ ।
अध्ययन अनुसार नीतिगत अनिश्चितताको सबैभन्दा तत्काल र तीव्र असर सेयर बजारमा पर्छ । अनिश्चितता बढ्ने बित्तिकै नेप्से सूचकमा ५ देखि १० प्रतिशतसम्म गिरावट आउने गरेको देखिन्छ । लगानीकर्ता नीतिगत स्पष्टता नभएसम्म लगानी गर्न हिचकिचाउने अध्ययनको ठहर छ । उपभोक्ता मूल्य सूचकांकमा भने नीतिगत अनिश्चितताले खासै महत्त्वपूर्ण असर नगर्ने अध्ययनमा उल्लेख छ ।
नीतिगत अनिश्चितताले पर्ख र हेरको अवस्था सिर्जना गर्ने अध्ययनले औंल्याएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा समग्र माग र आर्थिक गतिविधि सुस्त हुने गरेको छ ।
सरकार र केन्द्रीय बैंकले आफ्ना नीतिहरू स्पष्ट र अनुमानयोग्य बनाउनुपर्ने अध्ययनले सुझाएको छ । समयमै सूचना प्रवाह गर्दा र नीतिगत स्थिरता कायम राख्दा अर्थतन्त्रमा पर्ने नकारात्मक असर कम गर्न सकिने अध्ययनले सुझाएको छ ।
गुगल ट्रेन्ड्समा आधारित यो सूचकांकले नेपाल जस्तो तथ्याङ्कको अभाव भएको देशमा वास्तविक समयमा जनताको मनोभावना र अनिश्चितता बुझ्न मद्दत गर्ने प्रतिवेदनले उल्लेख छ ।
प्रतिक्रिया 4