News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा पहिलो जित हासिल गरेको आठ वर्ष पूरा भएको छ ।
- सन् २०१८ अगस्ट ३ मा नेदरल्यान्ड्सविरुद्ध एक रनको ऐतिहासिक जित निकाल्दै नेपालले ओडीआई यात्राको सुखद सुरुआत गरेको थियो ।
- घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरे पनि विदेशी भूमिमा नेपाली टोलीको प्रदर्शन चिन्ताजनक बनेको छ ।
१८ साउन, काठमाडौं । नेपाली क्रिकेट इतिहासमा आजको दिन विशेष छ । आजभन्दा ठीक आठ वर्षअघि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा पहिलो जित दर्ता गरेको थियो ।
ओडीआई मान्यता पाएपछि सन् २०१८ अगस्ट १ मा नेदरल्यान्ड्सविरुद्ध नेपालले ऐतिहासिक पहिलो ओडीआई खेलेको थियो जहाँ जित भने निकाल्न सकेन । नेदरल्यान्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा अलआउट भएको थियो ।
त्यसपछि अगस्ट ३ मा भएको दोस्रो ओडीआईमा नेपालले १ रनको रोमाञ्चक जित निकाल्दै इतिहास रचेको थियो । पहिलो ओडीआईमा पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
कप्तान पारस खड्काले अन्तिम ओभरमा ६ रन रक्षा गर्दै नेपाललाई अविस्मरणीय जित दिलाएका थिए । नेपालले दिएको २१६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो भने १ विकेट मात्र बाँकी थियो ।
पारसले पहिलो बलमा १ रन दिए भने दोस्रो बल डट राखे । तेस्रो बलमा १ रन र चौथो बलमा २ रन आयो । पाँचौं बल डट भयो । अन्तिम बलमा २ रन चाहिँदा ब्याटरको रन लिने प्रयासमा कप्तान पारसले नन स्ट्राइकमा रनआउट गरेपछि नेपाल १ रनले विजयी भएको थियो ।
त्यो रनआउटको सबैभन्दा बढी चर्चा पनि हुने गर्छ । किनभने पारसको बलमा नेदरल्यान्ड्सका फ्रेड क्लासेनले सिध ब्याटले दिशा देखाएका थिए जुन् बल पारसलाई उछिनेर नन स्ट्राइकतर्फ बढेको थियो र स्टम्पमा गएर लाग्यो । क्लासेन रनका लागि बढ्दै गर्दा पारसले बल टिपे र विकेट उखेलेर फाले जसले क्लासेन रनआउट भए ।
त्यही बल विकेटमा नलागी गएको भए नेदरल्यान्ड्सले २ रन पनि ल्याउने सम्भावना रहन्थ्यो । तर नेदरल्यान्ड्सका लागि दुर्भाग्य बन्दा नेपालका लागि भने त्यो भाग्यमानी साबित भयो ।

त्यस ऐतिहासिक जितपछि नेपालको ओडीआई यात्रा आठ वर्ष पूरा गरिसकेको छ । यस अवधिमा नेपालले ९३ ओडीआई खेल खेल्दै ४४ जित, ४६ हार, एक बराबरीको नतिजा निकाल्दा दुई खेल नतिजाविहीन छन् ।
ओडीआई मान्यता पाउने बेला नेपालका कप्तान पारस खड्का थिए । तर पारसले सन् २०१९ मा कप्तानी छाडेपछि त्यसबेलाका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपालको कप्तान घोषित भएका थिए ।
ज्ञानेन्द्रपछि सन्दीप लामिछानेले सन् २०२२ मा २१ वर्षको उमेरमै नेपालको कप्तानी जिम्मेवारी पाए । सन्दीपपछि रोहित पौडेलले सन् २०२२ मा २० वर्ष ७३ दिनको उमेरमा कप्तानको जिम्मेवारी पाए ।
हाल रोहित पौडेल ओडीआई टोलीको कप्तानमा कायमै छन् भने नेपाल क्रिकेट संघ (क्यान) ले टी-२०आई मा फरक कप्तान राख्ने निर्णय गर्दै गत जेठदेखि दीपेन्द्रसिंह ऐरी टी-२०आई कप्तान छन् ।
पारस खड्काको कप्तानीमा नेपालले ६ ओडीआई खेल्दा ३ जित र ३ हारको नतिजा निकाल्यो । ज्ञानेन्द्रको कप्तानीमा नेपालले १० ओडीआई खेल्दा ६ जित र ४ हारको नतिजा निकालेको थियो ।
यस्तै सन्दीपको कप्तानीमा खेलेका १४ ओडीआई मध्ये नेपालले ४ खेल जित्दा ९ मा पराजित भयो भने एक खेल बराबरी भयो ।
रोहितको कप्तानीमा नेपालले ६३ ओडीआई खेल्दा ३१ खेल जितेको छ भने ३० खेलमा पराजित हुँदा २ खेल नतिजाविहीन छन् ।
यूएईसँग सर्वाधिक खेल, जित र हार
नेपालले सबैभन्दा धेरै १९ ओडीआई यूएईसँग खेलेको छ । यूएईविरुद्ध नेपालले ११ जित निकाल्दा आठ खेलमा हार बेहोरेको छ । यही टोलीविरुद्ध नेपालले सर्वाधिक जित र सर्वाधिक हार दुवै बेहोरेको छ ।
पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले १० खेलमध्ये आठ जित र दुई हारको नतिजा निकालेको छ । स्कटल्यान्डसँग १२ खेल खेल्दा नेपालले ६ जित, पाँच हार र एक खेल नतिजाविहीन बनाएको छ। अमेरिकाविरुद्ध १३ खेलमा नेपालले ६ जित, ६ हार र एक खेल बराबरी खेलेको छ ।

नेदरल्यान्ड्ससँग नौ खेल खेल्दा नेपालले चार जित र पाँच हार बेहोरेको छ भने ओमानसँग १० खेलमा चार जित र छ हारको नतिजा निकालेको छ। क्यानडाविरुद्ध पाँच खेलमा तीन जित र दुई हार रहेको छ। नामिबियाविरुद्ध भने नेपालले १० खेलमध्ये दुई मात्र जित निकाल्दा सात खेल हारेको छ भने एक खेल नतिजाविहीन बनेको छ।
पूर्ण सदस्य राष्ट्र भारत, आयरल्यान्ड, पाकिस्तान, वेस्ट इन्डिज र जिम्बाब्वेसँग नेपालले समान एक–एक ओडीआई खेलेको छ । ती सबै खेलमा नेपाल पराजित भएको छ ।
भारत र पाकिस्तानसँग नेपालले सन् २०२३ को एसिया कपमा खेलेको थियो । वेस्ट इन्डिज र जिम्बाबेसँग भने सन् २०२३ को ओडीआई विश्वकपका लागि भएको खेलमा नेपालले खेलेको थियो ।
घरेलु मैदानमा उत्कृष्ट, घरबाहिर संघर्ष
घरेलु मैदानमा नेपालको प्रदर्शन निकै प्रभावशाली देखिएको छ । नेपालमा खेलेका ३४ ओडीआईमध्ये २४ खेल जितेको नेपाल १० खेलमा मात्रै पराजित भएको छ ।
तर विदेशी भूमिमा भने ५९ खेल खेल्दा २० जित, ३६ हार, एक बराबरी र दुई खेल नतिजाविहीन बनेका छन् । यसले घरेलु र विदेशी प्रदर्शनबीचको अन्तर स्पष्ट देखाउँछ ।
हालै मात्र नेपालले क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भएको शृङ्खलामा कुनैपनि खेल जित्न सकेन । नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग २-२ खेल हार्यो ।
त्यसअघि घरेलु मैदानमा भएका दुई शृङ्खलाका ८ खेलमध्ये ६ खेल जितेको नेपालले त्योभन्दा अगाडि यूएईमा भएको शृङ्खलामा पनि चारवटै खेल हारेको थियो ।
नेपाली टोलीले बाहिरी कन्डिशनमा राम्रो प्रदर्शन गर्न सकेको छैन । जसका कारण यही ओडीआई मान्यता अहिले संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ ।
यसअघिको लिग २ चक्रमा पनि संकटपूर्ण अवस्थाबाट शानदार पुनरागमन गर्दै नेपालले ओडीआई मान्यता जोगाउनुका साथै एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाएको थियो ।
जारी लिग २ मा शीर्ष ४ मा पर्ने सम्भावना लगभग सकिँदा नेपाली टोलीको ध्यान अब ओडीआई मान्यता जोगाउनेतर्फ केन्द्रित छ । जसका लागि अब बाँकी ४ खेल, जुन घरबाहिर हुनेछन्, त्यसमा जित निकाल्न आवश्यक छ ।

अन्य तथ्याङ्क
नेपालको अहिलेसम्मको उच्च ओडीआई स्कोर ब्याटिङ पहिलो क्रममा गर्दा ३१७–८ हो । सन् २०२६ मा कीर्तिपुरमा लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध बनाएको उक्त स्कोरसहित नेपालले खेल जितेको थियो ।
दोस्रो इनिङ्समा नेपालको सर्वाधिक स्कोर ३२१ रन हो, जुन सन् २०२६ मै स्कटल्यान्डविरुद्ध बनाएको थियो । यद्यपी त्यो खेल नेपाल दुई रनले हार्न पुगेको थियो ।
ओडीआईमा नेपालको सबैभन्दा कम स्कोर १०३ रन हो । सन् २०२२ मा दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०३ रनमै समेटिएको थियो ।
व्यक्तिगत तथ्याङ्कमा कप्तान रोहित पौडेल सर्वाधिक रन बनाउने नेपाली ब्याटर हुन् । उनले ८८ खेलमा २ हजार ३ सय १३ रन बनाएका छन् । आसिफ शेख ७४ खेलमा २ हजार ६१ रनसहित दोस्रो स्थानमा छन् ।
बलिङतर्फ सन्दीप लामिछाने नेपालका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ७७ खेलमा १५४ विकेट लिएका छन् । करण केसीले ७३ खेलमा १०७ तथा सोमपाल कामीले ७५ खेलमा ९९ विकेट लिएका छन् ।
ओडीआईमा नेपालको तर्फबाट सर्वाधिक व्यक्तिगत स्कोर पनि रोहित पौडेलकै नाममा छ । उनले सन् २०२२ मा कीर्तिपुरमा पीएनजीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए ।
ओडीआईमा नेपालका लागि सर्वाधिक शतक बनाउने कीर्तिमान भने रोहित पौडेल, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको नाममा संयुक्त रूपमा छ। तीनै जनाले समान दुई–दुई शतक प्रहार गरेका छन् ।
आठ वर्षअघि नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक जितसँग सुरु भएको नेपालको ओडीआई यात्रा अहिले ९३ खेलसम्म आइपुगेको छ ।
उपलब्धिसँगै चुनौती पनि उत्तिकै देखिएको यो यात्रामा घरेलु मैदानको सफलतालाई विदेशी भूमिमा दोहोर्याउनु नेपाल क्रिकेटको अबको सबैभन्दा ठूलो परीक्षा बनेको छ ।
प्रतिक्रिया 4