+
+
Shares

स्पष्टीकरणपछि साउदी सिप परीक्षण केन्द्रमाथि थप कारबाही तयारी

संयुक्त अनुगमन टोलीले बुझाएको प्रतिवेदनमा आईटीआईले सीटीईभीटीबाट सिप तालिम सञ्चालन अनुमति पाए पनि सोही अनुमतिभन्दा बाहिर गएर सिप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको थियो ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ साउन १८ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनुमति विपरीत सिप प्रमाणीकरण गरेको भन्दै श्रम मन्त्रालयले बसुन्धरास्थित इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटसँग स्पष्टीकरण माग गरेको छ ।
  • मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले स्पष्टीकरण प्राप्त भएपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
  • सीटीईभीटीबाट तालिमको अनुमति मात्र पाएको उक्त संस्थालाई वैदेशिक रोजगारीका लागि प्रमाणीकरण गर्ने अधिकार नरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

१८ साउन, काठमाडौं । बसुन्धरास्थित साउदी अरबको ‘स्किल भेरिफिकेसन प्रोग्राम’ (एसभीपी) सञ्चालन गरिरहेको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युट (आईटीआई) माथि थप कारबाही प्रक्रिया अघि बढ्ने भएको छ ।

संयुक्त अनुगमन टोलीको अध्ययन प्रतिवेदनका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले संस्थासँग स्पष्टीकरण मागिसकेको र त्यसको जवाफ प्राप्त भएपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढ्ने भएको हो ।

उक्त प्रतिवेदन अनुसार आवश्यक कारबाहीका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पठाउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार गत शुक्रबार आईटीआईसँग लिखित स्पष्टीकरण मागिएको छ । स्पष्टीकरण प्राप्त भएपछि त्यसको अध्ययन गरी थप निर्णय लिइने छ ।

‘शुक्रबार स्पष्टीकरण सोधेका छौं, अब त्यसको जवाफ आएपछि अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढ्छ,’ घिमिरेले अनलाइनखबरसँग भने ।

संयुक्त अनुगमन टोलीले बुझाएको प्रतिवेदनमा आईटीआईले सीटीईभीटीबाट सिप तालिम सञ्चालन अनुमति पाए पनि सोही अनुमतिभन्दा बाहिर गएर सिप परीक्षण तथा प्रमाणीकरण (भेरिफिकेसन) समेत गर्दै आएको थियो ।

त्यस विषयमा विस्तृत छानबिन सीटीईभीटीबाट हुनुपर्ने सिफारिस प्रतिवेदनमा गरिएको मन्त्रालयले जनाएको छ ।

घिमिरेका अनुसार मन्त्रालयले स्पष्टीकरण प्रक्रिया टुंग्याएपछि प्रतिवेदन सीटीईभीटीलाई पठाउने छ ।

‘संस्थाले तालिम सञ्चालन अनुमति मात्रै पाएको हो, तर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्किल भेरिफिकेसन गरेको देखिएकाले त्यसबारे सीटीईभीटीले थप छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ,’ उनले भने, ‘हामीले स्पष्टीकरण लिएर कारबाहीका लागि सिटिइभिटीतर्फ पठाउने निर्णय गरेका छौं ।’

मन्त्रालयका अनुसार आईटीआईलाई वैदेशिक रोजगारीका लागि आवश्यक सिप प्रमाणीकरण गर्ने अधिकार छैन । त्यसैले श्रमिकको स्किल भेरिफिकेसन गर्ने कार्य तत्काल रोक्न निर्देशन समेत दिइने छ ।

‘वैदेशिक रोजगारीसँग सम्बन्धित भेरिफिकेसन गर्ने अधिकार उसलाई छैन, त्यसैले त्यो काम गर्न पाउँदैन भनेर हामीले पनि भन्न सक्छौं,’ घिमिरेले भने ।

यद्यपि, सीटीईभीटीबाट प्राप्त अनुमति र सम्बन्धन अनुसार सञ्चालन हुने अन्य तालिमका कार्यक्रम भने सम्बन्धित निकायको नियम अनुसार सञ्चालन गर्न सक्ने उनले बताए ।

‘अन्य तालिमका काम भने उसले आफ्नो अनुमति र नियमावली अनुसार गर्न सक्छ, त्यसको नियमन सीटीइभिटीले गर्छ,’ उनले भने ।

यसअघि श्रम मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सीटीईभीटी र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले आईटीआईमा अनुगमन गरी कार्यालय सिलबन्दी गरेको थियो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी अनुमति विपरीत सिप प्रमाणीकरण प्रमाणपत्र जारी गरेको गुनासोपछि गरिएको अनुगमनमा संस्थाले प्रचलित कानुन र अनुमति सर्तको उल्लंघन गरेको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

अनुगमन क्रममा टोलीले कार्यालय सिलबन्दी गर्नुका साथै आवश्यक कागजात र प्रमाण नियन्त्रणमा लिएर अध्ययन गरेको थियो । त्यही अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले स्पष्टीकरण मागेको हो ।

एसभीपी कार्यक्रम सुरु भएदेखि नै विवादमा परेको थियो । साउदीले नेपालबाट जाने श्रमिकका लागि अनिवार्य बनाउन खोजेको उक्त कार्यक्रमको म्यानपावर व्यवसायीहरूले विरोध गरेका थिए ।

विरोध क्रममा व्यवसायीले केन्द्र पुगेर ब्यानर र प्रवेशद्वारमा तोडफोड गरेका थिए । त्यसपछि आईटीआईले सूचना जारी गर्दै कार्यक्रम स्थगित गरेको जनाएको थियो ।

तर, कार्यक्रम स्थगित भएको घोषणा गरिए पनि प्रतिश्रमिक ५० अमेरिकी डलर शुल्क लिएर सिप प्रमाणीकरण गरिरहेको भेटिएपछि सरकारी निकायले संयुक्त अनुगमन गरी केन्द्र सिलबन्दी गरेका थिए ।

सिप परीक्षण नि:शुल्क : आईटीआई

सिप परीक्षणको ५० डलर शुल्क लिएको भन्ने विषयमा सिप परीक्षण गराउँदै आएको आईटीआईले श्रमिकसँग कुनै शुल्क संकलन वा असुली नगरेको प्रष्ट पारेको छ ।

आईटीआई अध्यक्ष अबु सुफायान खानले विज्ञप्ति जारी गर्दै आईटीआईले श्रमिकसँग कुनै पनि शुल्क वा असुली नगरेको र आईटीआई र एसभीपीलाई जोडेर भ्रामक सूचना फैलिरहेको जनाए ।

म्यानपावरलाई डलर व्यवस्थापन गरिदिने भन्दै इमेल पठाएको साई भिजन डिजिटल प्रालिसँग संस्थाको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेको छ ।

यसअघि म्यानपावर व्यवसायीलाई सिप परीक्षणका लागि लाग्ने शुल्क ५० अमेरिकी डलरको व्यवस्थापन गरिदिने भन्दै इमेल पठाइएको थियो ।

साई भिजनको आफ्नो संस्थासँग कुनै सम्बन्ध नरहेको र त्यस्ताविरुद्ध कानुनी कारबाहीमा जाने आईटीआईले जनाएको छ ।

हालसम्म वैदेशिक रोजगारीका लागि साउदी जाने १ हजार ५ सय ९८ जना श्रमिकले सिप परीक्षण गरेको देखिएको छ । अनलाइन मार्फत आवेदन दिने क्रममा ५० डलर नै तिर्नुपर्ने हुन्छ । आईटीआईले त्यो रकमबारे आफूहरूलाई जानकारी नहुने जनाएको छ ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?