+
+
Shares
संगीत :

अनि अमन बने, बजे

त्यसपछि उनी नेपाल फर्केँ । र, नेपालमै अन्तर्राष्ट्रिय स्तरको अडियो भिजुअल अनुभव दर्शकलाई दिन लागि परे ।

सापेक्ष सापेक्ष
२०८३ साउन १८ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संगीतकार अमन कर्णले ललितपुरमा ‘वान कन्टिन्युअस ड्रिम’ शीर्षकको सांगीतिक कार्यक्रममार्फत विशेष अडियो भिजुअल अनुभव प्रस्तुत गरे ।
  • अमनले उक्त शोमा रियल टाइम अडियो भिजुअल सेटका लागि आफैँ कोडिङ गरेर प्लगइनहरू तयार पारेका थिए ।

साँझ परिसकेको थियो ।

मोक्ष, ललितपुरको कार्यक्रम स्थानमा उनीहरू बल्ल तयारीमा जुट्दै थिए । कोही लाइट मिलाउँदै थिए । कोही स्टेजमा सेटअप गर्दै थिए । कोही तारहरू यताउता पारिरहेका थिए । र, ती सबैमा सक्रिय भएर लागि रहेका थिए – अमन कर्ण।

ती सबै कामहरूको मूल उनी नै थिए । आफ्नो प्राविधिक टोलीमा विश्वस्त रहेका उनी बडो उत्साहित देखिन्थे । किनकि, त्यसको भोलि अर्थात् १५ साउन शुक्रबार उनको शो हुँदै थियो – वान कन्टिन्युअस ड्रिम ।

विगत तीन–चार महिनादेखि तयारी गरिरहेको यो शोका लागि अमनले आफ्नो सबै सिर्जनात्मक पाटो लगाउँदै थिए । उनी चाहन्थे – यो आफ्नो शो आवाजमात्र केन्द्रित नहोस् । प्रकाश र भिजुअलमा पनि उस्तै काम होस् ।

त्यसैले करिब २२ वर्षदेखिको सांगीतिक साधनाको नतिजा उनी आफ्नो शोमार्फत दिन चाहन्थे – शोमा संगीत श्रवणमा मात्र सीमित नहरोस् । यसले आँखामा रङ भरोस् । मस्तिष्कमा एउटा फरक संसार सिर्जना गरोस् ।

यसैले यो शोलाई एउटा कन्सर्ट नभएर विशेष अडियो भिजुअल एक्सपेरियन्स बनाउन अमन लागि परिरहेका थिए ।

जसमा उनी पूर्णत: सफल पनि भए ।

शोको सन्दर्भमा अमनको वैयक्तिक सफलताको एउटा कुरा छ । अर्को, शो केही अर्थबाट विशेष हुन गयो । शोमा रियल टाइम अडियो भिजुअल सेट प्रयोग गरिएको थियो । भनौं, शो नै इलेक्ट्रोनिक लाइभ सेट समान थियो । भन्नुको अर्थ, अडियो र भिजुअल पूर्णरूपमा एकअर्कासँग जोडिएका थिए ।

यसो हुँदा उनी सहितका कलाकारले स्टेजमा जे अडियो बजाउँछन्, भिडियो/लाइट पनि उसरी नै देखिन्थे । यसका लागि अमन आफैँले कोडिङ गरेर प्लगइनहरू समेत तयार पारेका थिए ।

रिलिज भएका, नभएका गरी जम्मा २१ वटा गीतहरू बजाइएको यो शोका लागि अमनसँग अन्य कलाकारहरू – नट्टु शाह, शैलु राई, उत्तम घोष, विकास एसजेबी राणा र अधिश्री कस्पाल – ले पनि स्टेज शेयर गरेका थिए । जोसँग कुनै न कुनै रूपमा अमन संगीतका कारण जोडिएका थिए । र, उनीहरूले एकदम ‘चिल’ मुडदेखि ‘अप टेम्पो’ सम्मको संगीत बजाएका थिए । सितार, ड्रम एन्ड बेस र हिन्दी क्लासिकल संगीतको फ्युजन सुनाएका थिए ।

अमनका अनुसार यस्तो शो गर्न नेपालको सन्दर्भमा कठिन नै छ । यसका लागि बहुविषयको ज्ञान हुन जरुरी छ । एउटा उदाहरण सेट गर्नका खातिर पनि यो शो गर्न आवश्यक भएको उनले  सुनाएका थिए ।

भैरहवाका गल्लीहरूमा ९० को दशकको बलिउड संगीत सुनेर हुर्केका अमनका लागि संगीत एउटा स्वभाविक भाषा थियो । उनी पछिल्ला दिन लामो समय काठमाडौंमा बसे । विभिन्न कम्पनीका लागि अडियो प्रोड्युसरको रूपमा काम गरे । विशेषत: इन्डी संगीत सिनमा उनले योगदान दिए ।

विगत २० वर्ष त उनले स्टेजमै प्रस्तुति दिएर बिताए । तर, उनी एउटा निश्चित विधामा रहिरहेनन् । भिजुअलका भाषाहरू सिके । अडियोमै पनि उनले फरकफरक स्वाद निकाल्न खोजिरहे । कहिले पोडकास्टर भए त कहिले के । उनलाई सबैभन्दा बढी चिन्ने इन्डी ब्यान्ड फोस्फिन्सबाट हो । तर उनको व्यक्तिगत सिर्जनात्मक तिर्खाले उनलाई एउटा ब्यान्डमा मात्र सीमित राखेन । उनी चारैतिर फिँजिए ।

उनी अन्य ठाउँमा पनि एक्प्लोर गर्न गएका थिए । लण्डन, बर्लिन, र मुम्बई जस्ता सहरहरूमा त उनले प्रस्तुती नै दिइसकेका थिए । त्यो बाहेक पछिल्ला केही वर्ष उनले पश्चिम विश्व राम्ररी नियाले । त्यहाँको म्युजिक सिनदेखि यसैमा लागि रहेकाहरूलाई बुझे । उनले पाठ सिके – जहाँ आफू रहेने हो, त्यही आफ्नो ठाउँलाई हरियो बनाउन सकिन्छ । अर्कोतर्फ उनले जति काठमाडौंमा संगीतलाई लिएर सुरक्षित महसुस गर्छन्, त्यो विदेशमा पाएनन् ।

त्यसपछि उनी नेपाल फर्केँ । र, नेपालमै अन्तर्राष्ट्रिय स्तरको अडियो भिजुअल अनुभव दर्शकलाई दिन लागि परे । अमनका अनुसार उक्त शो उनले पैसा कमाउनका लागि नभई दर्शकहरूलाई एउटा नयाँ स्वाद र अनुभव दिन आयोजना गरेका हुन् । यसमा आयोजक र प्रस्तोता दुवै उनी हुन्। दर्शकहरूले यो दुई घण्टाको समयमा एउटा सांगीतिक यात्रा महसुस गरुन् र उनीहरूको मनमा लिने अनुभव लामो समयसम्म रहोस् भन्ने उनको चाह थियो ।

अर्कोतर्फ, उनी आफ्नो सांगीतिक यात्रामा पुनरावृत्ति पनि चाहन्थे । त्यही अर्थमा उनले शोको नाम ‘वान कन्टिन्युअस ड्रिम’ राखेका हुन् । यो शोको प्रचारप्रसारका लागि बनाइएको सामग्रीमा पनि त्यो देखिन्छ । जहाँ मिथिला कलाका टुक्रादेखि क्रसबोर्ड डिजाइन राखिएका छन् ।

अमन आफूले आफ्नो जीवनलाई संगीतको एउटा निरन्तर प्रवाह मान्छन् । अब उनी भाइरल हुने दौडमा छैनन् । विचार र भविष्यलाई लिएर अलमलिने बाटोमा पनि छैनन् । उनका लागि संगीत एउटा अभिव्यक्ति बनिसकेको छ । बस् अब उनी यसैगरी आफूलाई आफ्नो कामबाट दर्शकहरूले महसुस गरुन् भन्ने मात्र चाहन्छन् ।

फोटो : प्रितम क्षेत्री, चन्द्र बहादुर आले

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?