+

भलिबलको वार्षिक क्यालेन्डर : काभाको तीन प्रतियोगिता आयोजनादेखि दुई फ्रेन्चाइज लिगसम्म

२०८३ साउन  १८ गते १८:०२ २०८३ साउन १८ गते १८:०२

राष्ट्रिय प्रतियोगिता मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिता र फ्रेन्चाइज लिगमा समेत भलिबलले विस्तारै फड्को मारिरहेको छ । त्यसै सन्दर्भमा भलिबल संघले वार्षिक कार्यक्रम पनि महत्वाकांक्षी बनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले आर्थिक वर्ष २०८३/८४ का लागि २० कार्यक्रम समावेश गर्दै महत्वाकांक्षी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
  • संघले काभाका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमै आयोजना गर्ने लक्ष्य राखेको छ भने यसका लागि कूल २० करोड रुपैयाँ बजेट अनुमान गरिएको छ ।
  • संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले भने, 'अहिले नै सबै प्रतियोगिताको मिति तय गर्दा केही तलमाथि हुन सक्छ, त्यसैले समायनुकुल बनाउन मिति तोकिएको छैन ।'

१८ साउन, काठमाडौं । नेपाल भलिबल संघ (एनभीएल) ले सेन्ट्रल एसियाको तीन प्रतियोगिता समावेश गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । एनभीएले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८३/८४ का लागि २० कार्यक्रम समावेश गर्दे वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

नेपाल भलिबल संघले यसलाई महत्वाकांक्षी वार्षिक कार्यक्रम भनेको छ । यस क्यालेन्डर अन्तर्गत एनभीएले काभाको तीन प्रतियोगिता नेपालमा आयोजना गर्ने लक्ष्य राखेको छ भने यसै वार्षिक क्यालेन्डरभित्र दुई फ्रेन्चाइज प्रतियोगिता समेत समावेश छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको चर्चा पछिल्लो समय व्यापक हुँदै गएको छ । राष्ट्रिय प्रतियोगिता मात्र नभई अन्तर्राष्ट्रिय प्रतियोगिता र फ्रेन्चाइज लिगमा समेत भलिबलले विस्तारै फड्को मारिरहेको छ ।

त्यसै सन्दर्भमा भलिबल संघले वार्षिक कार्यक्रम पनि महत्वाकांक्षी बनाएको छ ।

क्यालेन्डर सार्वजनिक भएपनि धेरैको प्रतियोगिता मिति तय गरिएको छैन । भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले प्रतियोगिताको मिति केही तलमाथि हुन सक्ने भएकोले अहिले मिति नराखिएको जानकारी दिए । ‘अहिले नै सबै प्रतियोगिताको मिति तय गर्दा केही तलमाथि हुन सक्छ । त्यसैले समायनुकुल बनाउनका लागि अहिले सबैको मिति तोकिएको छैन ।’ चन्दले कार्यक्रममा भने ।

पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) भदौ, काभा बीच भलिबल टुर महिला र पुरुष सेप्टेम्बर र काभा महिला च्याम्पियन्स लिग (काठमाडौं, नोभेम्बर १-७) को मात्र मिति तय भएको छ ।

राष्ट्रिय प्रतियोगिता

भलिबल संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार अधिकांश राजधानी काठमाडौं केन्द्रित छ । त्यसमध्ये ३५औं राष्ट्रिय पुरुष तथा २५औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुने तय छ ।

तर १०औं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गत हुने यस प्रतियोगिता कहिले हुने टुङ्गो छैन । संघका अध्यक्ष चन्दले १०औं राष्ट्रिय खेलकुद यसै वर्ष आयोजना हुने विश्वास व्यक्त गर्दै त्यो समयमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने बताए ।

यस्तै भलिबल संघले नियमित गर्दै आएको १०औं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप र ११औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग पनि यो क्यालेन्डरमा समावेश छ ।

यस्तैगरी सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता पनि हुनेछ ।

राष्ट्रिय प्रतियोगितामा ग्रासरुटदेखि नै भलिबल विकास गर्न विभिन्न उमेर समूहको प्रतियोगिता पनि समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता

भलिबल संघले सार्वजनिक गरेको क्यालेन्डरको सबैभन्दा ठुलो विशेषता भनेको काभाको अन्तर्राष्ट्रिय प्रतियोगिता हो । क्यालेन्डरमा काभाको ६ प्रतियोगिता नेपालले खेल्ने उल्लेख छ । जसमा तीन प्रतियोगिता नेपालमै आयोजना गर्ने उल्लेख गरिएको छ । जुन आफैंमा महत्वाकांक्षी लक्ष्य छ ।

नेपालको पुरुष टोलीले भर्खरे पाकिस्तानमा एफआईभीबी विश्व वरियता मान्यता प्राप्त काभा पुरुष भलिबल च्याम्पियनसिप खेलेर फर्किएको छ ।

यस प्रतियोगिताको आउने संस्करण नेपालमा आयोजना हुनेछ । काभाको २०२७ को वार्षिक कार्यक्रममा समावेश हुने यस प्रतियोगितालाई भलिबल संघले आफ्नो आर्थिक वर्षको कार्यक्रममा समावेश गरिसकेको छ ।

संघका अध्यक्ष चन्दले काठमाडौंमा भएको काभाको वार्षिक साधारण सभामै यस विषयमा सहमति भइसकेको जानकारी दिए । ‘हामीले महिलाको प्रतियोगिता सफल रुपमा आयोजना गर्‍यौं । अब पुरुषको विश्व वरियता प्राप्त प्रतियोगिता अर्को वर्ष गर्नका लागि काभासँग सहमति भइसकेको छ’ चन्दले भने ।

यस्तै भलिबल संघले काभाको २०२६ को क्यालेन्डरमा रहेको अर्को कार्यक्रम काभा महिला च्याम्पियन्स लिग पनि आयोजना गर्दैछ । सुरुमा यस प्रतियोगिता अर्कै देशमा हुने तय थियो । तर नेपाल भलिबल संघको १४औं पूर्ण बैठकले यस प्रतियोगिता पनि आगामी नोमेभ्मर १ देखि ७ सम्म नेपालमै आयोजना गर्ने निर्णय गरेको हो ।

यस प्रतियोगितामा नेपालबाट नेपाल पुलिस क्लबले खेल्नेछ । यदि यो प्रतियोगिता जितेमा सन् २०२७ को एसियन क्लब प्रतियोगितामा छनोट हुने भलिबल संघले जनाएको छ ।

यस बाहेक काभा च्यालेन्ज कप पुरुष प्रतियोगिता पनि नेपालमै आयोजना गर्ने वार्षिक कार्यक्रममा उल्लेख छ ।

यी तीन बाहेक नेपालले काभा बीच भलिबल टुर महिला र पुरुष आउने सेप्टेम्बरमा भुटानमा गएर खेल्नेछ ।

यस्तै काभाको २०२७ को क्यालेन्डर अन्तर्गत हुने काभा बीच भलिबल टु र काभा यू-१६ भलिबल च्याम्पियनसिप पनि नेपालले खेल्ने संघका अध्यक्ष चन्दले जानकारी दिए ।

यस्तै नेपालको महिला भलिबल टोलीले जापानको आइची नागोयामा सेप्टेम्बर-अक्टोबरमा हुने २०औं एसियन गेम्समा सहभागिता जनाउनेछ ।

यस्तै राष्ट्रिय टिमको स्तर वृद्धि गर्नका लाग पुरुष र महिला टिमको मैत्रिपूर्ण खेलहरु पनि खेल्ने र थ्री नेनस्नस कप आयोजना गर्ने वार्षिक कार्यक्रममा उल्लेख छ ।

‘दक्षिण एसियामा बंगलादेश, श्रीलंका र माल्दिभ्स जस्ता टिमहरुसँग थ्री नेसन्स कप खेल्ने योजना छ । अन्तर्राष्ट्रिय एक्सपोजर धेरै दिन सके राष्ट्रिय टिम राम्रो हुने भएकोले दक्षिण एसियाक टिमहरु समावेश गरे आयोजना गर्ने वा बाहिर गएर खेल्ने योजना हो’ अध्यक्ष चन्दले भने ।

दुई फ्रेन्चाइज लिग

भलिबल संघको वार्षिक क्यालेन्डरमा यस पटक दुई फ्रेन्चाइज लिग पनि समावेश छ । नेपाल भलिबल संघले फ्रेन्चाइज लिग आयोजनाका लागि दुई फरक कम्पनीसँग सम्झौता गरेको थियो । जस अनुसार एभरेस्ट महिला भलिबल लिग (इडब्लुभीएल) को दुई संस्करण यसअघि नै सम्पन्न भइसकेको छ भने तेस्रो संस्करण आउने असोज अन्तिममा हुने तयारी भइरहेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने इडब्लुभिएलको पहिलो संस्करण काठमाडौं र दोस्रो संस्करण पोखरामा भएको थियो ।

यस्तै केडिया ग्रुपको आयोजनामा हुन लागेको नेपाल भलिबल लिग (पुरुष फ्रेन्चाइज लिग) भदौमा हुने तय छ । पुरुष भलिबल लिगको लागि आयोजकले तिव्र रुपमा तयारी गरिरहेको छ र खेलाडीको अक्सन समेत भइसकेको छ ।

संघका अध्यक्ष चन्दले भलिबलको दुई प्रेन्चाइज लिग हुनुको नेपाली भलिबलको लोकप्रियता अझ धेरै बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उमेर समूहलाई पनि प्राथमिकता

भलिबल संघको वार्षिक कार्यक्रमको अर्को विशेषता भनेको उमेर समुहको भलिबल पनि हो ।

नेपालले उमेर समूहमा काभा यू-१६ भलिबल च्याम्पियनसिप खेल्नेछ भने राष्ट्रिय स्तरमा पनि उमेर समूहको तीन प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

वार्षिक कार्यक्रममा उल्लेख भएअनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता बाहेक यू-१९ महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता काठमाडौंमा आयोजना हुनेछ । यस्तै यू-१८ अन्तर विद्यालय भलिबल प्रतियोगिता पनि क्यालेन्डरमा समावेश छ । यसको स्थान र मिति तय हुन बाँकी छ ।

यस बाहेक काभा यू-१६ भलिबल च्याम्पियनसिपको छनोटको रुपमा यू-१५ भलिबल प्रतियोगिता पनि आयोजना गरिने संघले जनाएको छ । ‘हामीले ग्रासरुटबाटै भलिबलको विकास गर्नका लागि यू-१५ राष्ट्रिय प्रतियोगिता पनि गर्छौं । काभाको यू-१६ प्रतियोगिता आयोजना हुन्छ त्यसको छनोटको तयारी स्वरुप हामीले यू-१५ समूहको प्रतियोगिता गर्छौं’ संघका अध्यक्ष चन्दले भने ।

लामो समयदेखि काठमाडौं बाहिर बुटवलमा एभरेस्ट भलिबल एकेडेमी सञ्चालन गर्दै युवा खेलाडी उत्पादनमा सहयोग गरिरहेका भलिबल प्रशिक्षक अर्जुन घिमिरेले वार्षिक कार्यक्रममा उमेर समुहको भलिबल प्रतियोगिता पनि समावेश भएकोले प्रशंसा गरेका छन् ।

‘नेपाल भलिबल संघको वार्षिक प्रतियोगिताको तालिकालाई म प्रशंसा गर्छु । जसले नेपालको भलिबल विकासमा सहयोग पुग्ने उमेर समूहको प्रतियोगितालाई पनि प्राथमिकतामा राखेको छ’ उनले भनेका छन् ।

यस बाहेक राष्ट्रिय रेफ्री कोर्स/रेफ्रेसर कोर्स, कोचेज कोर्स पनि कार्यक्रममा समावेश गरिएको छ ।

बजेट कति छ ?

नेपाल भलिबल संघका उपाध्यक्ष युवराज श्रेष्ठले भलिबल संघको वार्षिक कार्यक्रम महत्वाकांक्षी भएको र यसको कूल बजेट २० करोड रहेको जानकारी दिए ।

श्रेष्ठले भलिबल संघले सार्वजनिक गरेको यो कार्यक्रमले कर्पोरेट क्षेत्रलाई पनि भलिबलमा लगानी गर्न उत्साह जगाउने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल भलिबल संघले एउटा महत्वाकांक्षी कार्यक्रम तपाईंहरूमाझ सार्वजनिक गरिसकेको छ । यो कार्यक्रम सबैतिर पुगोस् । निजी क्षेत्रले पनि अब भलिबलको विकासमा लगानी गर्नुपर्छ’ श्रेष्ठले भने । उनले नेपालको भलिबलको विकासमा सबै मिलेर लाग्नुपर्ने बताए ।

उपाध्यक्ष श्रेष्ठले भलिबलको विकासका लागि सरकार, निजी क्षेत्र र व्यवसायिक क्षेत्रहरूबीच सहकार्य हुनुपर्ने बताए । यस्तै उनले खेलाडीको हितका लागि सामाजिक सुरक्षा कोष स्थापना गर्ने, भलिबललाई सरकारको प्राथमिकताको खेलमा समावेश गराउन पहल गर्ने र नयाँ सरकारसँग मिलेर नीति निर्माण गर्ने योजना रहेको पनि बताए ।

अध्यक्ष चन्दले दुई फ्रेन्चाइज लिगको बजेट करिब ७-८ लाख हुने भन्दै बाँकी बजेट भलिबल संघले व्यवस्थापन गर्नुपर्ने बताए । ‘सरकारको सहयोग, फ्रेन्चाइजको सहयोग र विभिन्न ब्रान्डहरुको सहयोगबाट हामीले बजेट व्यवस्थापन गर्नेछौं’ उनले भने ।

नेपाल भलिबल लिग वार्षिक क्यालेन्डर

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय