News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दूतावासको आयोजनामा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ।
- सेभेन लिफ्ट एआईका संस्थापक डेभिड स्वाइसगुडले नेपाली उद्यमीसँग एआईको प्रयोगबाट व्यावसायिक चुनौती समाधान गर्ने व्यावहारिक रणनीतिबारे छलफल गरे।
- कार्यक्रमले डिजिटल निर्यात बढाउन र एआई युगका लागि नेपाली व्यवसायीलाई प्रतिस्पर्धी बनाउन नेपाल-अमेरिकाबीच सहकार्यको वातावरण तयार पारेको छ।
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी सेभेन लिफ्ट एआईका संस्थापक एवं प्रमुख एआई अधिकृत डेभिड स्वाइसगुडको सहभागितामा नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी दुईदिने छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अमेरिकी दूतावासद्वारा आयोजित साताव्यापी ‘युएस स्पिकर प्रोग्राम’ अन्तर्गत सम्पन्न दुई दिने कार्यक्रममा एआईका चुनौतीलाई आम्दानीसँग जोड्ने, ग्राहकको माग पहिचान गर्ने र व्यवसायका मुख्य चुनौती समाधान गर्ने विषयमा छलफल भएको थियो ।
पहिलो दिन ‘टर्निङ एआई आइडियाज इनटु इम्प्याक्ट’ शीर्षकको सत्रमा स्वाइसगुडले नेपालका युवा प्रविधि उद्यमीसँग छलफल गरे । उनले एआई चुनौतिबाट आम्दानी गर्ने, ग्राहकको आवश्यकता बुझ्ने र व्यवसायका आधारभूत चुनौती सम्बोधन गर्ने विषयमा व्यावहारिक रणनीति प्रस्तुत गरे ।
उनले अमेरिकी नवप्रवर्तन प्रणालीको उपयोग, निरन्तरतामार्फत विश्वास निर्माण, डिजिटल निर्यात वृद्धि र डिजिटल प्लेटफर्मबाट ग्राहकको पहुँच विस्तार गर्ने उपायबारे जानकारी दिए ।

स्वाइसगुडले अमेरिकन चेम्बर अफ कमर्स नेपाल, प्रविधि कम्पनी, लगानीकर्ता, उद्यमी तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिसँग पनि भेट गरे । भेटमा नेपाल एआई प्रविधि अपनाउन कति तयार छ भन्ने विषयको मूल्यांकन तथा सार्वजनिक र निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे छलफल गरिएको थियो ।
दोस्रो दिन प्रविधि सेवाको भविष्य र एआई युगमा तीव्र रूपमा बदलिँदै गएको मागमा केन्द्रित अन्तरक्रियात्मक सत्र आयोजना गरियो । स्वाइसगुड र अमेरिकी दूतावास नेपालले विज्ञ, युवा नवप्रवर्तक, उद्यमी, निर्णयकर्ता तथा अमेरिकन चेम्बर अफ कमर्स नेपालका सदस्यलाई एकै ठाउँमा ल्याएका थिए ।
सत्रमा उद्योगमा एआईको व्यावहारिक प्रयोग, बलियो व्यावसायिक मोडल निर्माण र ग्राहकको पहुँच विस्तार गर्ने रणनीतिबारे छलफल भयो । सहभागीलाई अमेरिकी कम्पनीका वास्तविक व्यावसायिक उदाहरणमार्फत कारोबार विस्तार र विश्वास निर्माणसम्बन्धी प्रयोगात्मक जानकारी दिइएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार यी छलफल डिजिटल निर्यात र नवप्रवर्तन बढाउन तथा विस्तारित डिजिटल अर्थतन्त्रमा नेपाल-अमेरिका दीर्घकालीन सहकार्य बलियो बनाउन केन्द्रित थिए । दूतावासले स्वाइसगुडको अमेरिकी व्यावसायिक अनुभव र नेपाली निजी क्षेत्रसँगको प्रत्यक्ष संवादले स्थानीय व्यवसायलाई एआई युगका लागि प्रतिस्पर्धी र नवप्रवर्तनमुखी बन्न सहयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया 4