News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच उत्पन्न तनावपछि सुरक्षा निकायको रणनीति विफल भएपछि सरकारले सामाजिक र राजनीतिक संवादमार्फत घटना समाधान गर्ने निर्णय गरेको छ।
- गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिरहामा पुगेर पीडित परिवारसँग सहमति गरेपछि मधेशका जिल्लाहरूमा फैलिएको अशान्ति र आन्दोलन मत्थर भएको छ।
- तराईका जिल्लामा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका एआईजीसहित दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरी निगरानी कडा पारिएको छ।
१८ साउन, काठमाडौं । ‘पूर्व तयारी किन भएन ?, किन एकाएक बल प्रयोग भयो ?, किन गोली चल्यो ?, त्यसपछि स्थिति नियन्त्रणमा लिन किन सकिएन ?, सुरक्षामा कहाँ चुक भयो ?,’ ११ साउन साँझ बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायमाथि प्रश्नै–प्रश्न तेर्स्याए ।
उनको एकमात्र जोड थियो– जसरी हुन्छ सुरक्षा स्थिति सामान्य हुनपर्यो । कहाँ, कसरी, के गर्ने, कति सुरक्षाकर्मी खटाउने सबै व्यवस्था मिलाएर सुरक्षा मजबुत बनाउनुस् ।
१० साउन राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा हिन्दु–मुस्लिम समुदायबीच तनाव उत्पन्न भयो । त्यसपछि स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवाको ज्यान गएको घटनालाई साम्य पार्ने एउटा मात्रै अस्त्रको रूपमा गृहमन्त्रीले सुरक्षा व्यवस्था मात्रै बुझेका थिए ।
सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गर्नेदेखि, कर्फ्युसम्म लगाइयो । सूचना संकलनमा राष्ट्रिय अनुसन्धान विभागको टिमले पनि काम गर्यो । तर पनि स्थिति नियन्त्रणमा आएन । बरु अन्यत्र जिल्लाहरूमा फैलिँदो क्रममा देखियो ।
१२ साउन साँझ फेरि गृह मन्त्रालयमा नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकन्द्र कार्कीसहित गृहसचिव राजकुमार श्रेष्ठ, गृहमन्त्री गुरुङ छलफलमा जुटे ।
अघिल्लो दिनसम्म सुरक्षामा केन्द्रित भन्दै त्यसतर्फ फोकस भए पनि १२ साउनको बैठकमा भने सुरक्षा निकायका प्रमुखहरूले फरक ब्रिफिङ गरे । सुरक्षा मात्रै भनेर प्राविधिक समाधान नभई घटनालाई सामाजिक, राजनीतिक र धार्मिक कोणबाट समाधान गर्नुपर्ने सुझाव दिए ।

उक्त बैठकमा सहभागी एक सुरक्षा प्रमुखले भने, ‘हामीले प्रष्ट रूपमा सुरक्षामा मात्रै फोकस भएर काम गर्यौं भने ठूलो दुर्घटना हुनसक्छ भन्यौं । सुनसरी घटनालाई सामाजिक, राजनीतिक र धार्मिक कोणबाट हल गर्नुपर्ने सुझाव हाम्रो थियो । जति ढिलो गर्यो यो क्रम अन्य जिल्लामा फैलिने जोखिमबारे पनि बतायौं ।’
१४ साउन बिहान प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय सुरक्षा परिषद् बैठक डाके । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा पनि घटनालाई राजनीतिक–सामाजिक र धार्मिक कोणबाट हेरेर हल गरिनुपर्ने सुझाव आयो ।
यो बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाए । राजनीतिक छलफल अघि बढाए । धार्मिक व्यक्तिहरूसँग पनि छलफल गरे । सद्भाव कायम राख्न अपिल गरे । अन्य राजनीतिक दलहरूले पनि सद्भाव कायम राख्न अपिल गरे ।
सुनसरी घटना सुरक्षाको मात्रै विषय नभएर धार्मिक, सामाजिक विषय भएको सुझाव आएपछि सरकार तथा गृहमन्त्रीले बल्ल अग्रसरता देखाएका थिए ।
गृहमन्त्रीको सक्रियता
सुरक्षा निकायदेखि राष्ट्रिय सुरक्षा परिषद्सम्मले संवाद तथा धार्मिक, सामाजिक र राजनीतिक कोणबाट हल खोजिनु पर्ने बताएपछि गृहमन्त्री गुरुङ आफैं १४ साउन साँझ सुनसरी गएका थिए । जबकि, यसअघि उनले आफ्ना पीएस जेम्स कार्कीलाई सेनाको स्काई ट्रकमार्फत प्रहरीको ड्रोन टिमसँग सुनसरी पठाएका थिए ।
गुरुङ सुनसरी घटनाका मृतक देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता, सोही ठाउँका २२ वर्षीय जयप्रकाश मेहताको घर पुगे । परिवारलाई भेटे ।
छानबिन गरेर दोषीलाई कारबाही गर्नेदेखि क्षतिपूर्ति, शहीद घोषणालगायतको विषयमा सहमति भयो ।
त्यसपछि सुनसरीको अवस्था विस्तारै मत्थर भयो । सुनसरी घटनाको विरोधमा सिरहा, सप्तरी, मोरङ, धनुषालगायत जिल्लामा विरोध, प्रदर्शन भएका थिए । सिरहामा व्यक्तिको घर, मल जलाउनेदेखि तोडफोडसम्म भयो ।

सिरहामा त गोली लागेर १५ वर्षीय किशोर गणेश यादवको मृत्यु भयो । मध्यराति मृतक यादवको घरमा पुगेर गृहमन्त्री गुरुङले मल्हमपट्टी लगाउने काम गरे । त्यसपछि सिरहामा पनि विस्तारै आन्दोलन मत्थर भयो ।
मधेश झर्नु अघिसम्म खुबै आलोचना खेपेका गृहमन्त्री गुरुङको मधेश झरेपछिको भूमिका निकै सक्रिय देखियो । उनले दिनरात खटिएर काम गरे । मृतकको परिवारलाई न्याय पाउने विश्वास दिलाए र सहमति भयो ।
धनुषा आएपछि भने गृहमन्त्रीको भूमिकामा निकै संशय पैदा भयो । हिन्दुवादी मोर्चासँग हिन्दु राष्ट्रको नाममा कुनै सहमति नभएको बताए पनि उक्त मोर्चालाई अनावश्यक स्पेस दिएको प्रष्टै देखियो । हिन्दुमोर्चाका व्यक्तिहरूले गृहमन्त्री अगाडि नै आफूहरूको माग र हिन्दु राष्ट्रबारे बोलेका थिए । यो घटनाले भोलिका दिन हिन्दुवादी मोर्चालाई आन्दोलन गर्ने एउटा निहुँ बनाउन सक्ने पोइन्ट भएको सुरक्षा मामलाका जानकार बताउँछन् ।
सादा पोशाकका टोलीको सक्रियता
केही पहिला तराई–मधेशबाट ठूलो मात्रामा सादा पोशाकका प्रहरीलाई अन्यत्र जिल्लाहरूमा सरुवा गरिएको थियो । लामो समयसम्म तराई–मधेशमा बसेको र आचरण विपरीतका काम गरेको भन्दै सादा पोशाकका प्रहरीहरू तानिएका थिए ।
उनीहरू सूचना संकलनमा खटिने र लामो समयसम्म तराई–मधेशमा बसेकाले त्यहाँका घटनाबारे राम्रो जानकार हुन्थे । उनीहरूको जनसम्पर्क पनि बाक्लो हुन्थो । जसका कारण सूचनामा उनीहरूको पहुँच राम्रो हुन्थ्यो ।
तर, एकै पटक ठूलो मात्रामा सादा पोशाकका प्रहरीको सरुवा हुँदा घटनाको पूर्वसूचना तथा तयारीमा कमजोरी भएको देखिन्छ । ‘सूचना संकलन हुँदा पोस्ट–एक्टिभ पुलिसिङ हुन्छ । घटना नै हुन नदिई नियन्त्रण गरिन्छ । सूचनामा पहुँच नभएपछि पुलिस पोस्ट–एक्टिभ हुनुपर्ने अवस्था हुन्छ,’ लामो समय अपराध अनुसन्धानमा बसेर काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन् ।

अहिले भएको तराई–मधेशको घटनामा पनि प्रहरी प्रो–एक्टिभभन्दा पनि प्रोस्ट–एक्टिभ भएर काम गरेको देखिन्छ । यो सूचनाको कमीले गर्दा भएको थियो । घटना भएपछि भने प्रहरीलगायत अन्य सुरक्षा संगठनले निकै सावधानी अपनाएको देखिन्छ ।
कतिपय जिल्लाहरूमा त पहिला सरुवा गरिएका तथा तानिएका सादा पोशाकका प्रहरी परिचालनसमेत गरेर घटना साम्य पार्ने काम भएको छ । उनीहरूको नेक्सस र सूचना पकड राम्रो हुने भएकाले यो रणनीति पनि अपनाइएको थियो ।
कतिसम्म भने, तराईमा दुई समुदायबीच तनाव भएपछि काठमाडौंदेखि देशका मुख्य ठाउँहरूमा रहेका मन्दिर तथा मस्जिदहरूमा २४सै घण्टा सादा पोशाकका प्रहरी खटाएर निगरानी गराइएको थियो । उनीहरूले बेलैमा सूचना संकलन गर्ने र आफ्ना कमान्डरलाई रिपोर्टिङ गर्ने काम गरेका थिए । सोहीअनुसार सुरक्षा रणनीति बनाएर परिचालन हुँदा थप क्षति हुन पाएन ।
उच्च अधिकारी पनि फिल्डमा
सुनसरी घटनाका कारण तराई–मधेशमा तनाव बढेपछि थप २ हजार बढी सुरक्षाकर्मी मधेश खटाइयो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले करिब १ हजार बढी प्रहरीलाई मधेश केन्द्रित गरिएको बताए ।
‘गण, तालिम केन्द्र, पहाडी जिल्लादेखि हेडक्वार्टरबाट समेत करिब १ हजार बढी प्रहरीलाई तराई–मधेश झारिएको छ । म पनि सप्तरी आएको छु,’ काफ्लेले अनलाइनखबरसँग भने । प्रहरी हेडक्वार्टरबाट एआईजीसमेत फिल्डमा खटिए ।
प्रहरीबाट चार एआईजी सिद्धीविक्रम शाह बाँके, एआईजी हिमालयकुमार श्रेष्ठ मधेश प्रदेश, एआईजी उमाप्रसाद चतुर्वेदी कपिलवस्तु, एआईजी ईश्वर कार्की कोशी प्रदेश र तराई–मधेश झरेका थिए । डीआईजी, एसएसपीहरूलाई पनि मधेश पठाइयो ।

सशस्त्र प्रहरीबाट पनि करिब थप १ हजार सुरक्षाकर्मीलाई तराई–मधेश खटाइएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले बताए । एआईजी गणेश ठाडा मगरसहितको टोली तराई झरेर खटिएको छ ।
तनावपूर्ण अवस्था शान्त पार्न र सम्भावित घटना रोक्न उनीहरू फिल्डमा खटिएका हुन् । प्रहरीका विभिन्न विभाग र क्षेत्रमा काम गरिरहेकाहरूलाई पनि तत्कालको संकट समाधान गर्न तराई–मधेश केन्द्रित गरिएको छ ।
प्रहरीको सक्रियता साथै, गृहमन्त्रीको अग्रसरता, राजनीतिक दल, धार्मिक अगुवाहरू सबैको समन्वयमा घटना मत्थर हुँदै गएको प्रवक्ता काफ्ले बताउँछन् ।
सुरुवाती क्रममा सुरक्षामा मात्रै ध्यान दिँदा अवस्था जटिल बन्दै अन्य जिल्लाहरूमा पनि फैलन थालेको थियो । सुरक्षाका साथसाथै संवादका माध्यमबाट पनि पहल गरिएपछि माहोल विस्तारै शान्त बन्दै गएको थियो ।
अहिले तराईका विभिन्न जिल्लाहरूमा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा पूर्ण रूपमा हटाइएको छ । गृहमन्त्री गुरुङ पनि आइतबार साँझ काठमाडौं फर्किएका छन् ।
प्रतिक्रिया 4