+
+
Shares

भारतको नीतिले नेपालमा मौलायो चिनी तस्करी, महिनामै बढ्यो साढे २ दोब्बर

आखिर एक्कासि किन बढ्यो त नेपालमा चिनी तस्करी ? ३१ वैशाख २०८३ मा भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि चिनी तस्करी ह्वात्तै बढेको सरोकारवाला बताउँछन् ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ साउन १८ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका सीमा नाकाहरूमा अवैध चिनीको तस्करी ह्वात्तै बढेको छ ।
  • सशस्त्र प्रहरीले असार महिनामा १० हजार ५०२ किलो अवैध चिनी बरामद गरेको छ, जुन जेठको तुलनामा साढे दुई गुणा बढी हो ।
  • अधिकारकर्मी माधव तिमल्सिनाले सुरक्षा निकाय र भन्सारको मिलेमतो विना ठूलो परिमाणमा चिनी तस्करी हुनु असम्भव रहेको आरोप लगाएका छन् ।

१८ साउन, काठमाडौं । भान्सामा दैनिक प्रयोग हुने चिनीको स्वाद जति गुलियो छ, पछिल्लो समय नेपालका सीमा नाकाहरूमा चलिरहेको यसको अवैध व्यापार भने सुरक्षाकर्मी र अर्थतन्त्रका लागि त्यति नै ‘खल्लो’ र चुनौतीपूर्ण बन्दै गएको छ ।

११ साउनमा झापा अर्जुनधारा नगरपालिका–११ कालीझोडाबाट सशस्त्र प्रहरी बलको गस्ती टोलीले १ लाख १२ हजार रुपैयाँ बराबरको ३२ बोरा चिनी बरामद गर्‍यो ।

भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको शनिश्चरे बेसबाट खटिएको टोलीले उक्त परिमाणको चिनी बरामद गरेको थियो ।

यस्तै दुई साताअघि ३० असारमा सशस्त्र प्रहरीले नै धनुषामा विशेष सुराकीका आधारमा एउटा ट्रक नियन्त्रणमा लियो, जसमा ४ सय २० बोरा अवैध चिनी लोड गरिएको थियो ।

लाखौं मूल्य बराबरको यो परिमाणले नेपालमा अहिले चिनी तस्करी सानोतिनो झोलामा मात्र सीमित छैन, ट्रकका ट्रक भित्रिन थालेको देखाउँछ ।

यी त बाहिर आएका पछिल्ला प्रतिनिधि घटनामात्र हुन् । सशस्त्र प्रहरी बल नेपालको जेठ र असार महिनाको ‘चिनी बरामद तथ्यांक’ हेर्ने हो भने नाकामा दिनहुँजसोे तस्करीको भइरहेको छ ।

पूर्व इलाम/झापादेखि पश्चिम कञ्चनपुरसम्मको १ हजार ८ सय किलोमिटर खुला सीमाना अहिले तस्करहरूको कब्जामा गएको तथ्यांकले पुष्टि गर्छ । अझ गम्भीर कुरा के छ भने एक महिना अन्तरालमै तस्करी जालो दोब्बरभन्दा बढीले फैलिएको छ ।

तथ्यांक अनुसार जेठमा सशस्त्र प्रहरीले झापा, मोरङदेखि कञ्चनपुरसम्मका १५ सीमावर्ती जिल्लाबाट ४ हजार १ सय ११ किलो चिनी बरामद गरेको थियो । यसको भन्सार दाखिला मूल्य २ लाख ८४ हजार ८ सय ७० रुपैयाँ थियो ।

जेठमा सबैभन्दा बढी धनुषाबाट १ हजार ३ सय ९० किलो, मोरङ ७ सय ६३ किलो र सुनसरीबाट ३ सय ४० किलो चिनी बरामद गरिएको थियो ।

तर, असार लाग्दा नलाग्दै यो ग्राफ ह्वात्तै उकालो लाग्यो । सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार असार २०८३ मा १४ जिल्लाबाट १० हजार ५ सय २ किलो (१०.५ टन) अवैध चिनी बरामद गरिएको छ ।

यसको भन्सार दाखिला मूल्य मात्रै ७ लाख ८० हजार २ सय ५५ रुपैयाँ पुग्यो । ‘जेठको तुलनामा असारमा बरामद भएको चिनीको परिमाण साढे दुई गुणाभन्दा बढी हो,’ उनले भने ।

असारमा तस्करहरूले सुनसरीलाई मुख्य अखडा बनाएको तथ्यांकले देखाउँछ । एकै महिना सुनसरीबाट मात्रै ५ लाख १३ हजार रुपैयाँभन्दा बढीको ७ हजार २ सय ७६ किलोे अवैध चिनी बरामद भएको छ ।

यसबाहेक असारमा इलामबाट ५ सय किलो, पश्चिम नवलपरासी ६ सय ४५ किलो र बाँकेबाट ४ सय ५० किलो चिनी बरामद हुनुले तस्करी सञ्जाल देशभरि सक्रिय रहेको देखिन्छ ।

आखिर एक्कासि किन बढ्यो त नेपालमा चिनी तस्करी ? ३१ वैशाख २०८३ मा भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएपछि चिनी तस्करी ह्वात्तै बढेको सरोकारवाला बताउँछन् ।

भारतले आन्तरिक बजारमा चिनीको बढ्दो मूल्य नियन्त्रण गर्न र आपूर्ति सहज बनाउन ३० सेप्टेम्बर २०२६ सम्म चिनीलाई ‘निषेधित’ श्रेणीमा राखेको छ ।

भारतले प्रतिबन्ध लगाएको महिना दिन नबित्दै (जेठ र असारमा) नेपालका सीमा नाकामा तस्करीको यति ठूलो बाढी आउनु संयोगमात्र पक्कै होइन ।

भारत विश्वकै दोस्रो ठूलो चिनी उत्पादक देश हो । यसअघि चालु सिजनमा १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिइसकेको भारतले अचानक नीति परिवर्तन गर्नुको पछाडि मुख्य दुई कारण थिए– मौसम र इन्धन ।

पहिलो, महाराष्ट्र र कर्नाटक जस्ता प्रमुख उखु उत्पादक राज्यमा उखु उत्पादनमा भारी गिरावट आएको छ । ‘अल निनो’ को प्रभाव र मनसुन अनिश्चितताले लगातार दोस्रो वर्ष पनि भारतमा खपतभन्दा कम चिनी उत्पादन हुने अनुमान छ ।

दोस्रो कारण हो– इथानोल उत्पादन नीति । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै जाँदा भारतले आयातित तेलमाथिको निर्भरता घटाउन पेट्रोलमा २० प्रतिशत इथानोल अनिवार्य मिसाउने (ब्लेन्डिङ) लक्ष्य राखेको छ ।

इथानोल उखुबाटै बन्छ । यसको मतलब, भारतमा अहिले उखुलाई चिनी बनाउनुभन्दा पेट्रोलमा मिसाउने इथानोल बनाउनतिर धकेलिएको छ । डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) कमजोर हुँदा खाद्यान्न महँगी बढ्ने डरका कारण भारतले चिनी बाहिर जान दिएको छैन ।

चिनी किलोमै बढ्यो २० रुपैयाँसम्म

भारतले चिनी निर्यात प्रतिबन्ध लगाएसँगै व्यापारीले खुद्रामा चिनीको मूल्य १५ देखि २० रुपैयाँसम्म बढाएका छन् । हाल बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय १५ देखि १ सय २० रुपैयाँसम्म पुगेको छ ।

जबकि, उद्योगीहरूले दाबी गरे अनुसार फ्याक्ट्री मूल्य करिब ८५ रुपैयाँ छ, जसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) जोड्दा र ढुवानी खर्चसहित काठमाडौं आइपुग्दा बढीमा १ सय ५ रुपैयाँसम्म पर्नुपर्ने हो ।

व्यापारीहरू उद्योगीले नै मूल्य बढाएर पठाएको हुँदा आफूहरूलाई नै महँगो परेकाले बढाउनुपरेको तर्क गर्छन् । तर, चिनी उद्योगी भने आफूहरूले उद्योगबाट चिनीको मूल्य नबढाएको दाबी गर्दै यसको सम्पूर्ण दोष बिचौलिया र खुद्रा व्यापारीलाई पन्छाउँछन् ।

नेपाल चिनी उत्पादक संघ अध्यक्ष शशिकान्त अग्रवालले उद्योगको गेटबाट निस्किने चिनीको मूल्य (एक्स–फ्याक्ट्री प्राइस) आफूहरूको नियन्त्रणमा रहे पनि बजार पुगेपछि हुने मूल्यवृद्धिमा उद्योगीको हात नरहेको बताए ।

‘हामीले उद्योगबाट खासै भाउ बढाएका छैनौं, हामीले नियन्त्रण गर्ने भनेको फ्याक्ट्रीको मूल्यमात्र हो, डाउनस्ट्रिम (बजारको) मूल्य हामीले नियन्त्रण गर्न मिल्दैन,’ अध्यक्ष अग्रवालले भने, ‘हामीले नबढाइकन पनि मूल्य बढेको छ भने त्योबीचका डिलर वा एजेन्टहरूले बढाएका होलान् ।’

माग र आपूर्तिका कारण कहिलेकाहीँ १–२ रुपैयाँ तलमाथि हुनु स्वाभाविक भएको उनको भनाइ छ । ‘उखुको मूल्य बढ्छ, मजदुरी बढ्छ, डिजेलको भाउ बढ्छ, अनि चिनीको मूल्य सधैं एउटै रहन्छ भन्ने हुँदैन,’ उनले भने, ‘तर, हामीले उद्योगबाट ठूलो मात्रामा भाउ बढाएर पठाएका छैनौं ।’

राज्यकै मिलेमतोमा नाकाबाट चिनी तस्करी

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका सीमानाकाहरूबाट भइरहेको चिनी तस्करीमा राज्यकै निकायहरूको मिलेमतो रहेको उपभोक्ता अधिकारकर्मीहरूले आरोप लगाएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले भन्सार र सुरक्षा निकायको ‘ग्रिन सिग्नल’ विना रातारात ट्रकका ट्रक चिनी नेपाल भित्रिनु असम्भव रहेको दाबी गरे ।

बजारमा चिनीको अस्वाभाविक मूल्यवृद्धि र तस्करी बढ्नुमा सरकारी संयन्त्र, स्वदेशी उद्योगी र तस्करहरूको संगठित जालो सक्रिय रहेको उनको आरोप छ ।

‘राज्यका निकायहरूको प्रत्यक्ष वा अप्रत्यक्ष साथ र सहयोगविना रातारात साइकल, गाडी र ट्रकबाट यति ठूलो मात्रामा तस्करी हुनै सक्दैन,’ तिमल्सिनाले भने, ‘सशस्त्र प्रहरीको बीओपी र भन्सारजस्ता राज्यका निकायको ग्रिन सिग्नलविना तस्करले सामान ल्याउनै सक्दैनन्, यो राज्यकै मिलेमतोमा भइरहेको छ ।’

भारतले निर्यात रोकेपछि नेपालका स्वदेशी चिनी उद्योगीले सीमित व्यापारीलाई मात्र चिनी दिएर बजारमा सिन्डिकेट खडा गरेको तिमल्सिनाको आरोप छ ।

स्वदेशी उद्योगीले सरकारलाई दबाब दिएर ४० प्रतिशतसम्म भन्सार महसुल कायम गराएको, तर पछि बजारमा तस्करीको चिनी छ्यापछ्याप्ती भएपछि स्वदेशी चिनी महँगो भई बिक्री हुन छाडेको उनले बताए ।

‘भारतले प्रतिबन्ध लगाउने बित्तिकै हाम्रा उद्योगीले सीमित व्यापारीलाई मात्र चिनी दिएर संगठित रूपमा तस्करहरूलाई प्रश्रय दिए, जसका कारण बजारमा चिनीको मूल्य १ सय २० रुपैयाँसम्म पुगेको छ,’ उनले भने ।

क्वारेन्टिन पास नभएको अखाद्य चिनी भान्सामा

अहिले नाकाबाट भित्रिरहेको तस्करीको चिनीले उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको अधिकारकर्मी तिमल्सिनाले बताए ।

‘तस्करीबाट आउने चिनी कुनै प्लान्ट वा फुड क्वारेन्टिनबाट पास भएको हुँदैन,’ उनले भने, ‘यसले गर्दा गुणस्तरहीन र अखाद्य चिनी सिधै नेपाली उपभोक्ताको भान्सामा पुगिरहेको छ, यसमा राज्यका संयन्त्रहरू मौन बस्नु झनै विडम्बना हो ।’

तस्करहरूले प्रहरी र प्रशासन छल्न फर्जी बिल प्रयोग गरिरहेको समेत उनको आरोप छ । स्वदेशी उद्योग वा ट्रेडिङ कम्पनीले काटेको एउटै बिल देखाएर पटक–पटक तस्करीको चिनी ओसारपसार भइरहेको उनको भनाइ छ ।

‘भारतीय बोराको चिनी ल्याएर नेपाली बोरामा पल्टी गरिएको छ,’ उनले भने, ‘कुन उद्योगले कसलाई बिल काटेको छ र त्यो बिलका आधारमा कति क्रसिङ भइरहेको छ भन्ने कुराको सूक्ष्म अध्ययन राजस्व अनुसन्धान र अर्थ मन्त्रालयले गर्नुपर्छ ।’

उनका अनुसार आउँदो दसैं र तिहार लक्षित गरेर अहिलेदेखि नै तस्करहरूले चिनी गोदाममा थुपार्न थालेका छन् । चाडपर्वका बेला चिनीको हाहाकार मच्चाएर महँगो मूल्यमा बेच्ने र फेरि सरकारलाई गुमराहमा राख्ने खेल भइरहेको उनले दाबी गरे ।

बढ्यो आयात

चिनी उत्पादक संघकै तथ्यांक हेर्ने हो भने नेपालमा चिनी उत्पादन वृद्धि भइरहेको छ । गत वर्ष नेपालले १ लाख ८० हजार टन चिनी उत्पादन गरेको थियो । केही समय अघिसम्म मात्रै उद्योगीले आफूहरूसँग करिब ८० हजार टन चिनी स्टक (मौज्दात) रहेको बताएका थिए ।

तर, स्वदेशमै उत्पादन बढेको र पर्याप्त मौज्दात रहेको दाबी गरिए पनि विदेशबाट आउने चिनी भने ह्वात्तै बढेको छ । आव २०८१/८२ मा चिनी आयात महसुल ३० प्रतिशत थियो । यसका कारण व्यवसायीले लागत बढी हुने र नाफा नहुने भन्दै खासै चिनी आयात गरेका थिएनन् ।

तर, १५ जेठ २०८२ को बजेट भाषणमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले चिनीको महसुल ३० बाट १५ प्रतिशत बनाएका थिए । यसपछि चिनी आयात बढेको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांक अनुसार २०८१/८२ को तुलनामा गत आव २०८२/८३ मा नेपालमा चिनी आयात ह्वात्तै बढेको छ । गत आव मात्रै नेपालले विभिन्न देशबाट ३ अर्ब ४८ करोड रुपैयाँको ५१ हजार ४ सय ८५ टन चिनी आयात गरेको थियो । अघिल्लो आव भने १ अर्ब ५५ करोडको करिब २१ हजार टन मात्रै चिनी आयात भएको थियो ।

सरकारकै तथ्यांक अनुसार नेपालमा चिनीको वार्षिक माग करिब ३ लाख टन छ । सामान्य महिना २० देखि २५ हजार टनसम्म चिनी माग हुने गरे पनि दसैं, तिहार र छठजस्ता ठूला चाडपर्वमा मिठाई र अन्य परिकारका लागि मासिक ३० हजार टन बढी माग हुने गरेको छ ।

स्वदेशी चिनी मिलहरूबाट भने वर्षमा करिब २ लाख टन मात्रै उत्पादन हुने गरेको छ । मागको तुलनामा उत्पादन कम हुँदा बर्सेनि करिब १ लाख टन चिनी अपुग हुने गरेको छ । यही १ लाख टनको अभाव पूर्ति गर्न नेपालले वर्सेनि भारत लगायत तेस्रो मुलुकबाट चिनी आयात गर्नुपर्ने बाध्यता छ ।

१ हजार टन चिनी ल्याउँदै खाद्य व्यवस्था कम्पनी

यही अभाव पूर्ति गर्न सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी (एफएमटीसी) ले भारतबाट चिनी आयात गर्न लागेको छ । कम्पनीले जीटुजी (सरकार–सरकार) प्रक्रिया मार्फत भारतबाट १ हजार टन चिनी ल्याउन लागेको बताएको छ ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार भारत सरकारले नेपालका लागि छुट्याएको कोटा अन्तर्गत नै यो चिनी ल्याउन लागिएको हो ।

‘हाम्रो जीटुजी माध्यम मार्फत भारतबाट १ हजार टन चिनी आउँदैछ,’ सूचना अधिकारी मिश्रले भने, ‘सुरुमा यो १ हजार टन ल्याएपछि बजारको माग, खपत र आवश्यकता हेरेर थप चिनी पनि ल्याउन सकिने छ ।’

उनका अनुसार अहिले कम्पनीले उपभोक्तालाई प्रतिकिलो १ सयदेखि बढीमा १ सय ५ रुपैयाँसम्ममा चिनी बिक्री गरिरहेको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?