+
+
Shares

सुनको मौजुदा वितरणलाई परिमार्जन गर्नुपर्ने देखिन्छ : अर्थ सचिव उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन्।
  • उनले सुनको वितरण काठमाडौं केन्द्रित हुनु र न्यूनतम एक किलोको इकाइमा खरिद गर्नुपर्ने बाध्यताले साना व्यवसायीहरू समस्यामा परेको उल्लेख गरे।
  • उपत्यकाबाहिर र साना व्यवसायीको पहुँच सुनिश्चित गर्न वितरण प्रणालीलाई प्रदेश र जिल्ला तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ छ।

१८ साउन, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले सुनको मौजुदा वितरण प्रणालीलाई परिमार्जन गरी सहज र पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् ।

सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव उपाध्यायले हाल कायम रहेको दैनिक २५ किलोको बिक्री सीमा र वितरण प्रक्रियालाई व्यावहारिक बनाउन आवश्यक रहेको उल्लेख गरे ।

उनका अनुसार वैदेशिक मुद्रा सञ्चितिको सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैंकले हाल सुनको दैनिक बिक्री सीमा २५ किलो तोकेको भएपनि निजी क्षेत्रबाट औसतमा दैनिक १७ देखि १८ किलो मात्र माग भइरहेको छ ।

यद्यपि, वर्तमान प्रणालीमा दुईवटा मुख्य समस्या रहेको उनले औंल्याए ।

पहिलो, सुनको वितरण काठमाडौं केन्द्रित हुनु र दोस्रो, न्युनतम एक किलोको युनिटमा मात्र खरिद गर्नुपर्ने बाध्यताले साना व्यवसायीको पहुँच पुग्न नसक्नु रहेको उनले बताए ।

‘काठमाडौं उपत्यकाबाहिरका र सानो परिमाणमा सुन किन्न चाहने व्यवसायीहरूको पहुँच सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता हो,’ उनले भने, ‘बजारको अध्ययन गरी आवश्यकता अनुसार २५ किलोको सीमालाई बढाउन सकिन्छ, तर वितरणलाई भने प्रदेश वा जिल्ला तहसम्मै पुर्‍याउनुपर्छ र युनिटलाई पनि घटाउनुपर्छ ।’

नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यसमेत रहनुभएका उपाध्यायले साना युनिटमा सुन उपलब्ध गराउँदा केही अतिरिक्त लागत लागे पनि त्यसलाई सम्बोधन गरेरै भएपनि साना व्यवसायीलाई सुविधा दिनुपर्ने बताए ।

वितरण प्रणालीलाई पारदर्शी र सहज बनाउन सके सुन तस्करी नियन्त्रणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?