News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजनाको खोजी कार्य सशस्त्र र नेपाल प्रहरीले आज पुनः शुरु गरेका छन् ।
- पीडित परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
- जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पीडित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न प्रहरी टोलीले सहजीकरण गरिरहेको छ ।
१८ साउन, काभ्रेपलाञ्चोक । यात्रुबाहक बसले सडक किनारमा रोकिराखिएको कारलाई ठक्कर दिएपछि सुनकोशी नदीमा खसेको घटनाको विषयलाई लिएर पीडित पक्षले मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् ।
फिक्कल गाउँपालिका वडा नं. २ नवलपुरमा पीडित परिवारले मंगलबार बिहानैदेखि सडक चक्काजाम गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रबिन्द्र बहादुर सिंहले जानकारी दिए ।
उनीहरूले उचित क्षतिपूर्ति र वार्ताको माग गर्दै मध्यपहाडी लोकमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी सिंहका अनुसार पीडित पक्षसँग वार्ताको पहल भईरहेको र उक्त स्थानमा डीएसपी विजय श्रेष्ठको नेतृत्वमा सहजीकरण भइरहेको जानकारी दिए ।
स्थानीयले दुर्घटना भएको २४ घण्टा वित्न लाग्दा समेत नभेटीएकोले बेपत्ता रहेका व्यक्तिहरुको खोजी कार्य तीव्र हुनुपर्ने बस धनी र समितिले घटनालाई बेवास्ता गरेको, घटनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्नुपर्ने र उचित क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले सडक अवरुद्ध गरेका हुन् ।
सडक छेउमा रोकेर राखिएको कारलाई तीव्र गतिमा रहेको बसले पछाडीबाट ठक्कर दिँदा भएको दुर्घटनामा सिन्धुपाल्चोक जुगल– ७ का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र तिनपाटन गा.पा ९ डाँडाखर्क बस्ने बर्ष १७ को सुजन बलमपाकी मगर सुनकोशीमा बेपत्ता भएका थिए ।
सोमबार दिनभरको खोजी कार्य असफल भएपछि राति ८ बजेपछि खोजी कार्य स्थगित गरिएको थियो ।
मंगलबार बिहानैदेखि पुन: खोजी कार्य अगाडि बढाइएको छ । यद्यपि केही पनि फेला परेको छैन ।
प्रहरीका अनुसार बिहानदेखि सशस्त्र प्रहरी बलका २० जना गोताखोर र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी दुई वटा डुङ्गा प्रयोग गरी नदीमा बेपत्ता व्यक्तिहरू तथा कारको खोजीमा जुटेका छन् ।
प्रतिक्रिया 4