+
+
Shares

सामुदायिक विद्वेष नफैलाउन नागरिक अगुवाहरूको अपिल

नागरिक समाजका अगुवाहरूले हिंसाको ज्वाला निभेको देखिए पनि त्यसले छोडेका घाउ, अविश्वास र मनोवैज्ञानिक असर पूर्ण रूपमा समाप्त भइसकेको नदेखिएको भन्दै विद्वेष नफैलाउन आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:५६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागरिक समाजका अगुवाहरूले धार्मिक, जातीय वा सामुदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई हार्दिक अपिल गरेका छन् ।
  • सुनसरीको देवानगञ्जबाट सुरु भएको विवाद तराईका केही जिल्लामा हिंसात्मक रूपमा फैलिनु दुःखद र चिन्ताजनक विषय भएको उनीहरूको निष्कर्ष छ ।
  • सरकारले सामाजिक विविधताको प्रभावकारी व्यवस्थापन र सम्भावित द्वन्द्वको समयमै पूर्वानुमान गर्न सक्ने संस्थागत संयन्त्रलाई थप सक्षम बनाउनुपर्ने माग गरिएको छ ।

१९ साउन, काठमाडौं । नागरिक समाजका अगुवाहरूले हिंसाको ज्वाला निभेको देखिए पनि त्यसले छोडेका घाउ, अविश्वास र मनोवैज्ञानिक असर पूर्ण रूपमा समाप्त भइसकेको नदेखिएको भन्दै विद्वेष नफैलाउन आग्रह गरेका छन् ।

मंगलबार जारी अपिलमा उनीहरूले भनेका छन्, ‘धार्मिक, जातीय वा सामुदायिक विद्वेष फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पूर्ण नागरिकलाई हार्दिक अपिल गर्दछौं।’

सुनसरीको देवानगञ्जबाट सुरु भएको विवाद अनपेक्षित रूपमा तराई मधेशका केही जिल्लामा हिंसात्मक रूपमा फैलिनु अत्यन्त दुःखद र चिन्ताजनक विषय भएको र यसबाट ठूलो मात्रामा भएको जनधनको क्षतिले सम्पूर्ण नेपालीलाई मर्माहत बनाएको अपिलमा उल्लेख छ ।

देवानगञ्ज–३ मा उत्पन्न सानो झिल्कोलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसले डढेलोको रूप लिँदै तराईका केही जिल्लामा हिंसात्मक स्वरूप ग्रहण गरेको नागरिक अगुवाहरुको निश्कर्ष छ।

‘तैपनि सरकार, विपक्षी दल, स्थानीय समुदाय, नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको सक्रियताका कारण धार्मिक द्वन्द्व अन्य क्षेत्रमा व्यापक रूपमा फैलिन पाएन र प्रभावित क्षेत्रमा पनि विस्तारै शान्ति पुनःस्थापित हुँदै गएको देखिनु सम्पूर्ण नेपालीका लागि सन्तोषको विषय हुन पुगेको छ,’ उनीहरूले भनेका छन् ।

धार्मिक आधारमा हिंसात्मक अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण मात्र होइन, राज्यले सामाजिक विविधताको प्रभावकारी व्यवस्थापन गर्न नसक्नु, अन्तरसमुदाय तथा अन्तरधार्मिक समन्वयलाई पर्याप्त प्राथमिकता नदिनु तथा प्रारम्भिक घटनालाई समयमै नियन्त्रण गर्न नसकेको अपिल जारीकर्ताहरूको धारणा छ ।

उनीहरूले भनेका छन्, ‘सरकार गठन भएको केही समयमै तराईका केही जिल्लामा देखिएको दुई समुदायबीचको हिंसात्मक द्वन्द्वले पुनः मुलुक अशान्तितर्फ जाने हो कि भन्ने चिन्ता र त्रास आमनागरिकमा उत्पन्न गराएको छ ।

सम्भावित द्वन्द्वको समयमै पूर्वानुमान गरी रोकथाम गर्न सक्ने संस्थागत संयन्त्रलाई थप सक्षम, चुस्त र उत्तरदायी बनाउन सरकारको विशेष ध्यान जान आवश्यक छ ।’

प्राध्यापक, पूर्वप्रशासक, सामाजिक अभियन्ता, ज्येष्ठ नागरिक लगायतले संयुक्त रुपमा संयुक्त विज्ञप्ति निकालेका हुन् ।

अपिलमा प्राध्यापक डा. नरेन्द्रराज खनाल, प्रा.डा. राजकुमार पोखरेल, प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङ, पूर्वसचिव द्वारिकानाथ ढुंगेल, डा.रामभक्त ठाकुर, प्रचण्डजंग शाह, विदुरप्रसाद मैनाली, डा. जनक नायभा, रमेशप्रसाद खरेल, द्वारिका शर्मा र देविराम शर्माले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, हस्ताक्षर गर्नेहरूमा भीम उदास, रबिराज थापा, डा. चन्द्रमणि अधिकारी, डा. जगत भुसाल, भरतबहादुर रायमाझी, रामबाबु नेपाल, उद्वबप्रसाद ढुंगाना, धरा सापकोटा, अच्युतप्रसाद कोइराला, आदित्यमान श्रेष्ठ लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?