News Summary
Generated by OK AI. Editorially reviewed.- माइक्रोसफ्टले रुस समर्थित ह्याकरहरूले होटल र सार्वजनिक वाइफाइ प्रयोगकर्तालाई निशाना बनाइरहेको भन्दै विशेष सावधानी अपनाउन चेतावनी दिएको छ।
- ह्याकरहरूले सार्वजनिक वाइफाइको लगइन पोर्टलमा नक्कली विन्डोज वा सफ्टवेयर अपडेटको म्यासेज पठाएर प्रयोगकर्ताको डिभाइसमा भाइरस फैलाइरहेका छन्।
- प्रयोगकर्तालाई सार्वजनिक वाइफाइको सट्टा आफ्नै मोबाइल हटस्पट प्रयोग गर्न र शंकास्पद पप-अप म्यासेज वा फाइल डाउनलोड नगर्न माइक्रोसफ्टले अनुरोध गरेको छ।
१९ साउन, काठमाडौं । माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ।
ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन खोज्दा उनीहरूलाई विभिन्न नक्कली अपडेट वा सेक्युरिटी फाइल डाउनलोड गर्ने मेसेज देखाइन्छ।
प्रयोगकर्ताको स्क्रिनमा विन्डोज अपडेट, विन्डोज सेक्युरिटी भाइरस स्क्यान, ब्राउजर अपडेट वा गुगलको ‘वेरिफाई इट इज यु’ जस्ता नक्कली विन्डोहरू आउन सक्छन्। यस्ता फाइल वा अपडेटमा क्लिक गर्दा प्रयोगकर्ताको डिभाइसमा भाइरस प्रवेश गर्छ।
डिभाइसमा भाइरस छिरेपछि ह्याकरहरूले ब्राउजर कुकिज, पासवर्ड र महत्त्वपूर्ण कागजातहरू चोर्छन्। उनीहरूले प्रयोगकर्ताको माइक्रोसफ्ट ३६५ एकाउन्ट, इमेल र वानड्राइभसम्म पहुँच पुर्याएर डिभाइसलाई टाढैबाट नियन्त्रण गर्न सक्छन्।
ह्याकिङको यो खतराबाट जोगिन माइक्रोसफ्टले प्रयोगकर्तालाई होटेल, विमानस्थल वा सार्वजनिक ठाउँको वाइफाइको सट्टा आफ्नो मोबाइलको हटस्पट वा प्राइभेट नेटवर्क प्रयोग गर्न अनुरोध गरेको छ । त्यस्तै सार्वजनिक वाइफाइमा कनेक्ट गर्दा आउने जुनसुकै पप-अप मेसेज वा फाइल डाउनलोड गर्ने अनुरोधलाई स्वीकार गर्नु नहुने बताएको छ।
क्याप्टिभ पोर्टल वा शंकास्पद वेभसाइटबाट ब्राउजर अपडेट, सेक्युरिटी टुल वा सफ्टवेयर अपडेट डाउनलोड गर्नु हुँदैन। सार्वजनिक नेटवर्क प्रयोग गर्दा आफ्नो डिभाइसमा देखिने अनौठा गतिविधि वा लगइन स्क्रिनमा विशेष ध्यान दिनुपर्छ। ।
प्रतिक्रिया 4