१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिका लागि कार्यविधि बनाएको छ ।
कांग्रेस संसदीय दलले संघीय संसद्का दुवै सदनका सांसदहरूका लागि स्वकीय सचिव नियुक्त गर्न ‘स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि २०८३’ बनाएको हो ।
संघीय सांसदलाई संसदीय अध्ययन, कानुन निर्माण, नीति विश्लेषण, जनप्रतिनिधित्व र निर्वाचन क्षेत्र समन्वयलगायतका कार्यमा प्रभावकारी सहयोग पुर्याउन स्वकीय सचिवको नियुक्ति, जिम्मेवारी र आचारसंहितालाई मापदण्डमा आधारित, पारदर्शी र उत्तरदायी बनाउन कार्यविधि बनाइएको प्रस्तावनामा उल्लेख छ ।
स्वकीय सचिव प्रशासनिक सहयोगीमात्र नभएर सांसदको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, संसदीय प्रभावकारिता बढाउने तथा जनप्रतिनिधित्वलाई थप उत्तरदायी, पारदर्शी र नतिजामुखी बनाउन सहयोग गर्ने प्रमुख सहकर्मीका रूपमा रहने पनि कार्यविधिमा उल्लेख छ ।
कांग्रेसले सांसदहरूको स्वकीय सचिवका लागि न्युनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने मापदण्ड बनाएको छ । यस्तै, उमेर २१ वर्ष पूरा भएको हुनपर्ने पनि मापदण्ड कार्यविधिमा लेखिएको छ ।
कार्यविधिमा कानून, राजनीति, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आमसञ्चार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य, व्यवस्थापन वा सम्बन्धित विषयलाई प्राथमिकता दिइने पनि उल्लेख छ ।
कार्यविधिमा स्वकीय सचिवका लागि पाँचबुँदे आचार संहिता पनि बनाइएको छ ।
आचारसंहिता र कर्तव्य
१. स्वकीय सचिवले आफ्नो कार्यसम्पादनमा उच्च नैतिकता, इमानदारी, गोपनीयता, निष्पक्षता, अनुशासन, व्यावसायिकता तथा उत्तरदायित्वलाई सदैव पालना गर्नुपर्नेछ ।
२. पदको दुरुपयोग, अनुचित प्रभाव वा व्यक्तिगत लाभका लागि कुनै कार्य गर्न पाइने छैन ।
३. गोपनीय सूचना सार्वजनिक गर्न नपाउने ।
४. स्वार्थको द्वन्द्व हुने गतिविधिमा संलग्न हुन नपाउने ।
५. सांसद सदस्य, संसद, पार्टी तथा सार्वजनिक संस्थाको गरिमा कायम राख्दै कानुन, संसदीय मर्यादा र संस्थागत मूल्य–मान्यता अनुरूप शिष्ट, जिम्मेवार र सेवामुखी आचरण प्रदर्शन गर्नु स्वकीय सचिवको अनिवार्य कर्तव्य हुनेछ ।
स्वकीय सचिवको कार्यसम्पादन मूल्यांकन तोकिएको जिम्मेवारीको प्रभावकारी कार्यान्वयन, कार्यसम्पादनको गुणस्तर, समय पालना, अनुशासन, गोपनियताको पालना, अध्ययन–अनुसन्धान क्षमता, समन्वय तथा सञ्चार कौशल, जनउत्तरदायित्व र सांसदप्रतिको व्यावसायिक सहयोगको आधारमा नियमित रूपमा गरिने पनि कार्यविधिमा उल्लेख छ ।
‘नवप्रवर्तन र उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन तथा कमजोरी देखिएमा आवश्यक सुधार, परामर्श वा उपयुक्त निर्णयका लागि मूल्यांकनको आधारमा लिइने छ,’ कार्यविधिमा लेखिएको छ ।
प्रतिक्रिया 4