+
+
Shares

पूर्णबहादुर-शेखर : पार्टी सभापति ताक्थे, विभाजनको संघारमा शशांकलाई अघि सारे

पूर्णबहादुर खड्का र डा. शेखर कोइराला सिंगो कांग्रेसको सभापति नै ताकेर हिँडेका नेता थिए । संस्थापनविरुद्ध मोर्चाबन्दीमा पनि उनीहरू नै अग्रसर थिए । तर अहिले पार्टी विभाजनको संघारमा पुग्दा भने इतर समूहको नेतृत्वमा डा. शशांक कोइरालालाई अघि सारे ।

केशव सावद केशव सावद
२०८३ साउन १९ गते २१:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले २९ साउनमा काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दै पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई ५५१ सदस्यीय मूल आयोजक समितिको संयोजक तोकेको छ ।
  • डा. शेखर कोइराला र पूर्वउपसभापति पूर्णबहादुर खड्काको सहमतिमै शशांकलाई जिम्मेवारी दिइएको भन्दै समूहले पार्टी विभाजनको चर्चालाई अस्वीकार गरेको छ ।
  • राष्ट्रिय भेलाको तयारीका लागि १६ वटा समिति गठन गरी इतर समूहले विधान संशोधन र संगठनात्मक एजेन्डामा बहस केन्द्रित गर्ने तयारी गरेको छ ।

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १६ साउनमा काठमाडौंमा पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समूहको नेताका रूपमा अगाडि सार्‍यो । उनको नेतृत्वमा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको घोषणा भयो ।

तर, लामो समयदेखि इतर समूहको नेतृत्व गर्दै आएका पूर्वउपसभापति पूर्णबहादुर खड्का र छुट्टै विचार समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइराला भने कार्यक्रममा उपस्थित भएनन् ।

शेखर चुनदेवीमा अनुपस्थिति देखिएपछि पत्रकारले जिज्ञासा राखे । पत्रकार सम्मेलनमा शेखरको अनुपस्थितिबारे पूर्वमहामन्त्री शशांकले प्रष्टीकरण दिँदै उनीसँग सहमति रहेको दाबी गरे ।

‘शेखर दाइसँग मैले पटक-पटक अनुरोध गरेँ । उहाँ व्यस्त भएको कारणले के भन्नुभयो भने- मेरो सहमति त छँदै छ,’ उनले भने, ‘म न्युजमा पनि भनिदिन्छु-  मेरो सहमति छ । म आउन सकिनँ भनेर क्षमा माग्नुभएको छ ।’

उक्त पत्रकार सम्मेलनमा पूर्वउपसभापति खड्काको अनुपस्थितिबारे भने कुनै प्रश्न उठेन । यद्यपि, पछिल्लो समय कांग्रेस वृत्तमा इतर समूहले खड्कालाई ‘पाखा’ लगाउँदै शशांकलाई अगाडि सारेको र शेखर पनि इतर समूहसँग पहिलेजस्तो सन्तुष्ट नरहेको चर्चा चलिरहेको छ ।

यसै बीचमा इतर समूहले २९ साउनमा काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई लिएर विभिन्न अड्कलबाजीसमेत भइरहेका छन् ।

भेलाले पार्टीभित्र थप ध्रुवीकरण वा विभाजनको अवस्था सिर्जना गर्दा खड्का र शेखर पुनः संस्थापन पक्षसँग नजिकिन सक्ने आकलन कतिपयले गरिरहेका छन् ।

तर, संस्थापन इतर समूह भने राष्ट्रिय भेला मूल आयोजक समितिको संयोजक चयनमा नेताहरूबीच कुनै विमति नरहेको दाबी गरिरहेको छ ।

‘सबैसँग छलफल गरेरै शशांक दाइलाई संयोजक तोकेका हौं,’ इतर समूहको प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माले भने, ‘पूर्ण दाइ र शेखर दाइको सहमतिबाटै सबै भएको हो ।’

अर्का एक युवा नेताले पूर्वउपसभापति खड्काले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएको र शेखरले पार्टी मिलाउन भूमिका निर्वाह गरिरहेकाले पूर्वमहामन्त्री शशांकलाई संयोजक बनाइएको पनि दाबी गरे ।

‘पूर्ण दाइले मुद्दा हालेकोले उहाँ अन्यथा गर्न नमिल्ने भयो । शेखर दाइ पार्टी मिलाउन लागिराख्नुभएको छ । पार्टी मिलाउन लागेको मान्छे आफैं संयोजक बस्न मिलेन,’ उनले भने, ‘सहमतिमै सबै कुरा गरेका छौं । बाँकी कुरा त बाहिरको अड्कलबाजी न हो ।’

पूर्वउपसभापति खड्काले सर्वोच्च अदालतबाट भएको विशेष महाधिवेशनसम्बन्धी फैसलाहरू त्रुटीपूर्ण रहेको दाबी गर्दै त्यसलाई सच्याउनुपर्ने माग गरेर निवेदन दिएका छन् । अदालतमा पूर्वसभापति देउवाका तर्फबाट पनि पुनरावलोकनको निवेदन छुट्टै दर्ता भएको छ ।

इतर समूहमा रहेका पूर्वकेन्द्रीय सदस्य गुरू बरालले पनि पूर्वमहामन्त्री शशांकलाई संयोजक बनाउने कुरामा सबै नेताहरूको सहमति रहेको प्रतिक्रिया दिए । ‘शशांक दाइलाई संयोजक तोक्ने कुरामा पूर्ण दाइ, शेखर दाइ सबैजना सहमत हो,’ उनले भने, ‘राष्ट्रिय भेलासम्म सबैजना सहमत हुनुहुन्छ ।’

नेता बरालले भाइरल संक्रमण भएका कारण पूर्वउपसभापति खड्काको चुनदेवी पत्रकार सम्मेलनमा उपस्थिति नभएको पनि जानकारी दिए । ‘अस्तिको पत्रकार सम्मेलनमा शेखर दाइ आउन नसक्नुको कारण शशांक दाइले भनिनै सक्नुभएको थियो,’ उनले भने, ‘पूर्ण दाइ अस्वस्थ्य हुनुहुन्छ । उहाँ भाइरल भएर अहिले पनि भेटघाटमा हुनुहुन्न ।’

पार्टी विभाजन भए सभापति को ?

संस्थापन इतर समूहका नेताहरू अहिले पनि आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको अभिव्यक्ति दिँदै आएका छन् । तर, एकताले सार्थकता नपाए राष्ट्रिय भेलाले गर्ने निर्णय स्वीकार्नुको विकल्प नरहेको उनीहरूको तर्क छ ।

इतर समूहको प्रचार-प्रसार समितिका संयोजक विश्वकर्मा पार्टी एकताका लागि सभापति गगन थापाले चमत्कारिक निर्णय लिएमात्रै सम्भव रहेको बताउँछन् ।

‘सभापति गगन थापाले नै पार्टी मिलाउने कुनै चमत्कारिक निर्णय गर्नुभयो र एकै पटक सहमतिको घोषणा हुने अवस्था भयो भने पार्टी मिल्यो,’ उनले भने, ‘अन्यथा पहिले जस्तैका कुराबाट हामी पहिले जस्तै अवस्थामा हुन्छौं ।’

इतर समूह स्रोतका अनुसार २९ साउनका लागि तय भएको राष्ट्रिय भेलाबाट पार्टी विभाजन भए नयाँ पार्टी सभापति पनि शशांक बन्ने छन् । ‘यदि भेलाबाट नयाँ कार्यसमिति घोषणा भयो भने सम्भवतः शशांकजी नेतृत्व लिनुहुन्छ,’ स्रोतले भने ।

इतर समूहकै अर्का नेताका अनुसार पूर्वउपसभापति खड्का भने पार्टी विभाजनको पक्षमा अहिले पनि देखिएका छैनन् । ती नेताका अनुसार उनी समूहका नेताहरूसँग पार्टी विभाजनमा गए आफू तटस्थ बस्ने बताउँदै आएका छन् ।

‘पूर्ण दाइको एउटा जिकिर के छ भने विभाजन नै हुने हो र पार्टी अलग बन्ने हो भने म कतै पनि लाग्दैन, स्वतन्त्र भएर बस्छु भन्ने छ उहाँको,’ स्रोतले भने, ‘अब जे पर्छ ब्यहोर्ने हो ।’

संस्थापनका नजरमा पनि पूर्वउपसभापति खड्का र नेता कोइराला पार्टी विभाजनको पक्षमा देखिएका छैनन् । तर, इतर समूहका अन्य नेताहरूले खड्का र शेखरलाई पार्टी एकतामा जान बाधा पुर्‍याइरहेको संस्थापन पक्षको तर्क छ ।

‘पूर्ण दाइ र शेखर दाइ दुवैजना पार्टी मिलाउनेमा हुनुहुन्छ । तर, केही नेताहरू यतिमात्रै कुराले हुँदैन भन्नेमा हुनुहुन्छ,’ एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि ५५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न १६ वटा समिति गठन गरेको छ ।

मूल आयोजक समितिमा १४औं महाधिवेशनबाट निर्वाचित तथा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यहरू, पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यहरू राखिएको छ ।

यस्तै प्रदेश कार्यसमितिका सभापति र पदाधिकारी, जिल्ला कार्यसमितिका सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर र नगर कार्यसमितिका सभापतिहरूलाई पनि समितिमा समेटिएको छ ।

समितिमा संघीय सांसद, प्रदेश सांसद, पूर्व संघीय तथा प्रदेश मन्त्री, पूर्वसांसद, भ्रातृ संस्थाका केन्द्रीय प्रमुख तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि समावेश गरिएको छ ।

राष्ट्रिय भेलाको तयारीका लागि भन्दै इतर समूहले राजनीतिक प्रस्ताव तयारी समिति, समसामयिक राजनीतिक प्रस्ताव समिति, संगठनात्मक प्रस्ताव समिति, विधान संशोधन मस्यौदा समिति, आर्थिक नीति तयारी समितिलगायत विभिन्न विषयगत समिति गठन गरेको छ ।

यसले भेला औपचारिक जमघटमा सीमित नरही आगामी महाधिवेशनका एजेन्डा, पार्टीको संगठनात्मक दिशा तथा नीतिगत बहसलाई केन्द्रमा राख्ने तयारी भएको संकेत गरेको छ ।

विशेषगरी विधान संशोधन मस्यौदा समिति गठनलाई इतर समूहले पार्टीको वर्तमान संरचना, विधान वा निर्वाचन प्रणालीबारे आफ्ना प्रस्ताव अघि सार्ने तयारीका रूपमा पनि हेरिएको छ ।

कांग्रेसको संस्थापन इतर समूहले ४४ औं बीपी स्मृति दिवसको अवसर पारेर ६ साउनमा राष्ट्रिय भेलाको घोषणा गरेको थियो । राष्ट्रिय भेलाबाट कांग्रेस विभाजन हुने कतिपयको अशांका छ ।

तर, कांग्रेसका दुवै समूहमा रहेका नेताहरू पार्टी विभाजन नहुने तर्क गर्दै आएका छन् । यद्यपि, सहमतिको प्रयासले सार्थकता पाउन सकेको छैन ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?