News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो र सभामुख डोलप्रसाद अर्यालबीच नेपाल–युरोपेली संघ सम्बन्ध, आर्थिक साझेदारी र विकास सहकार्यका विविध विषयमा छलफल भएको छ।
- सभामुख अर्यालले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा गरेका छन्।
- सभामुख अर्यालले भविष्यमा युरोपेली संघसँग संसदीय मैत्री समूह गठन गरिने जानकारी दिँदै द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन्।
१९ साउन, काठमाडौं । नेपालका लागि युरोपेली संघकी महामहिम राजदूत भेरोनिक लोरेन्जोले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँगको भेटमा लोरेन्जोले यस्तो बताएका हुन् ।
संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो।
भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए । यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा रहेको उनले उल्लेख गरे ।
सभामुख अर्यालले नेपाल सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखी अघि बढिरहेको उल्लेख गर्दै रोजगारी सिर्जना, पूर्वाधार विकास, द्रुत आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताए ।
उनले हालै युरोपेली संघका विभिन्न सदस्य राष्ट्रहरूसँग संसदीय मैत्री समूह गठन भएको उल्लेख गर्दै निकट भविष्यमा युरोपेली संघसँग पनि संसदीय मैत्री समूह गठन गरिने जानकारी दिए ।
यस्ता मैत्री समूहहरूले संसदीय कूटनीति सुदृढ गर्न तथा नेपाल–युरोपेली संघबीचको संसदीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।
सभामुख अर्यालले नेपाल–युरोपेली संघ संयुक्त आयोगका नियमित बैठकहरूले द्विपक्षीय सहयोगका विविध क्षेत्रको समीक्षा तथा सहकार्य विस्तारका लागि महत्वपूर्ण संयन्त्रका रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । उनले विभिन्न तहमा भएका उच्चस्तरीय भ्रमण तथा भेटघाटको आदानप्रदानले नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए ।
सभामुख अर्यालले नेपालले युरोपेली संघसँगको साझेदारीलाई उच्च महत्व दिएको उल्लेख गर्दै आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध र सहयोग अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
भेटमा राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, संघीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।
प्रतिक्रिया 4