News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको दुर्व्यवहारबारे प्रधानमन्त्रीको सचिवालयले उनलाई सचेत गराएको छ।
- गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तारका क्रममा पाण्डेले सेनाका अधिकारीलाई थर्काएको भिडियो भाइरल भएपछि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको थियो।
- प्रधानमन्त्रीको सचिवालयको निर्देशनपछि सांसद पाण्डेले घटनाप्रति आत्मालोचना गर्दै सार्वजनिक रुपमा स्पष्टीकरणसहितको विज्ञप्ति जारी गर्नुभएको छ।
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद राजुनाथ पाण्डेले नेपाली सेनाका क्याप्टेनमाथि गरेको हप्कीदप्कीको विषयमा प्रधानमन्त्री बालेन शाहको सचिवालयले सचेत गराएको छ ।
उनलाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर सचिवालयका केही सदस्यहरूले ‘सचेत’ गराएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री सचिवालय निकट स्रोतका अनुसार, सो क्रममा सांसद पाण्डेलाई सचिवालयका सदस्यहरूले प्रधानमन्त्रीले समेत यो विषयमा सरोकार राखेको जानकारी गराएका थिए ।
‘तपाईंले हिजो सेनाप्रति जे गर्नुभयो, त्यो गल्ती भयो, प्रधानमन्त्रीज्यूले पनि यसबारे चासो राख्नुभएको थियो,’ सांसद पाण्डेलाई सचेत गराइएकोबारे जानकार स्रोतले अनलाइनखबरसँग भन्यो ।
काठमाडौं क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद पाण्डेले गोकर्णस्थित नेपाल ट्रस्टको जग्गामा बाटो विस्तार गर्ने क्रममा ‘थर्काउने शैली’मा नेपाली सेनाका अधिकारीसँग गरेको सवालजवाफ सञ्जालमा भाइरल बन्न पुगेको थियो ।
ट्रस्टको वालमा पाण्डेको अगुवाइको टोलीले डोजर चलाएपछि नेपाली सेनाले रोक्न खोजेको थियो । सो ठाउँमा बाटो साँघुरो रहेको भन्दै स्थानीयले लामो समयदेखि फराकिलो बनाइदिन माग गर्दै आएका थिए ।
तर, ट्रस्टको जग्गा रहेकाले बाटो विस्तार हुनसकेको थिएन । यस्तोमा सोमबार सांसद पाण्डे डोजरसहित त्यहाँ पुगेका थिए । त्यसक्रममा सेनाले रोक्न खोज्दा पाण्डे चर्को स्वरमा थर्कारहेका सुनिन्छन् ।
उक्त विषयमा सांसद पाण्डेले दिउँसो नै विज्ञप्तिमार्फत स्पष्टीकरण पनि दिइसकेका छन् । स्रोतका अनुसार, सचिवालयकै निर्देशनपछि उनले आत्मालोचनासहित स्पष्टीकरणको विज्ञप्ति जारी गरेका हुन् ।
‘तपाईंले हिजो जे गर्नुभयो, त्यो गल्ती भयो । यो कुरा प्रधानमन्त्रीले पनि मन पराउनुभएको छैन । तुरुन्तै सार्वजनिक रुपमा यसबारे बोल्नुहोला,’ पाण्डेलाई सचिवालयका सदस्यले भनेका थिए ।
लगत्तै पाण्डेले सार्वजनिक रुपमा स्पष्टीकरण दिएका थिए ।
प्रतिक्रिया 4