News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको छलफलमा बैंकरहरूले कर्जा लिने र दिने दुवैलाई धरपकड नगर्ने वातावरण बनाए कर्जा विस्तार हुने सुझाव दिएका छन् ।
- नेपाल बैंकर एशोसिएसनका अध्यक्ष सन्तोष कोइरालाले व्यवसायीलाई धरपकड गर्दा लगानीको वातावरण खलबलिने र बैंकहरूले ऋण दिने जोखिम मोल्न नसक्ने अवस्था रहेको बताए ।
- बैंकरहरूले हाइड्रोपावर क्षेत्रको पीपीए प्रक्रियामा सहजीकरण गर्न र अर्थतन्त्र चलायमान बनाउन ठूला आयोजनाहरूको ठेक्का प्रक्रिया छिटो अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।
१९ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकरले कर्जा लिने र दिने दुवैलाई धरपकड नगर्ने वातावरण बनाएको खण्डमा कर्जा विस्तार हुने सुझाव दिएका छन् । बैंकरले मंगलबार अर्थमन्त्रीसँग ३ घण्टा छलफल गर्दै व्यवसायीक वातावरण बनाउन गम्भीर भएर लाग्नुपर्ने सुझाएका हुन् ।
अर्थमन्त्रीले न्यून ब्याजदर हुँदा पनि कर्जाको माग नबढेको किन भनी जिज्ञासा राखेको नेपाल बैंकर एशोसिएसनको अध्यक्ष सन्तोष कोइरालाले बताए । त्यसका लागि अर्थमन्त्रालयले गर्नु पर्ने सहजीकरण सुझाउन अर्थमन्त्रीले भनेपछि बैंकहरूले आफ्ना कुरा राखेका थिए । हरेक बैंकरले करिब ५ मिनेटको समयमा पाएका थिए । बैंकहरूले कर्जा असुलीमा समस्या, उद्योगी व्यवसायी कमजोर मनोबल, कालोसूची तथा कर्जा नोक्सानी व्यवस्था लगायतका विषयमा अर्थमन्त्रालयले सहजीकरण गर्न सक्ने बैंकरले बताएका थिए ।
अहिलेको व्यवसायिक वातावरण ठीक नलागेको बताउँदै कोइरालाले व्यवसायीहरूलाई धरपकड र छापा मार्ने जस्ता घटनाले लगानी आउने सम्भावना कम हुने बताए । उद्योगी व्यवसायीप्रति भएका घटनाबारे गम्भीर भएर सोच्न कोइरालाले सुझाए ।
‘यस्ता घटनाक्रमले उद्योगपतिहरू, व्यवसायीहरू सबैजना डराउँछन्,’ त्यो हुँदा बैंकले कसलाई लोन दिने भन्दै कोइरालाले अर्थमन्त्रीलाई प्रश्न गरेको उनले बताए ।
‘कर्जा दिँदा पनि गाह्रो, नदिँदा पनि गाह्रो,’ कोइरालाले भने, ‘कर्जा दिने र लिने दुवै पक्राउन पर्ने र जेल बस्नुपर्ने भएपछि हामी पनि डरायौं । यसमा तालुकदार मन्त्रालय भएको हुनाले सहजीकरण गरिदिनु पर्छ ।’ गल्ती नै भएको अवस्थामा गर्न हुँदैन भनेर भन्न पनि नमिल्ने उनले बताए ।
त्यसका साथै एउटा हाइड्रो सेक्टर अलिकति राम्रै भएर आइरहेको हुनाले पीपीएमा सहजीकरण गरिदिन सुझाएको उनले बताए । सरकारको नीति पनि १० हजार मेगावाट पुर्याउने लक्ष्य रहेको हुनाले सो क्षेत्रमा बैंकहरूले कर्जा लगानी गर्ने उनले बताए । सो क्षेत्रमा नेपाली लगानीकर्ताहरू पनि आइरहेको र एनआरएन पनि आउन खोजेको उनले बताए ।
त्यसैगरी सरकारले ठूला आयोजनाको ठेक्का छिटो गर्न सुझाएको उनले बताए । त्यसले एउटा रोजगारी सिर्जना गने तथा कर्जाको पनि माग बढ्ने हुँदा अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने कोइरालाको भनाइ छ । निर्माण क्षेत्रमा गतिविधि बढ्नसाथ सिमेन्ट, स्टिल उद्योगहरू पनि चलायमान हुने उनी बताउँछन् ।
अर्थमन्त्रीले बैंकरलाइ क्रेडिट सेक्टर ग्रोथ (वृद्धि) नभइकन देश नबन्ने बताएका थिए । त्यसमा बैंकहरूको मूख्य भूमिका रहने बताएका अर्थमन्त्रीले आवश्यक सहयोग र सहजीकरण गर्ने आश्वासन दिए ।
छलफलमा बैंकहरूले असुलीमा समस्या, घरबाटो सिफारिस नदिने समस्या, खराब कर्जा, प्रोभिजनिङ लगायतमा पनि सहजीकरण गरीदिन सुझाएका थिए । अर्थ मन्त्रालयले सहजीकरण गरेको खण्डमा कर्जा बढ्ने र बजेटको लक्ष्य ७ प्रतिशतको आर्थिक वृद्धि हुनसक्ने उनको भनाइ छ । सरकारलाई सहयोग गर्न तयार बैंकर तयार रहेको सन्देश बैंकरहरूले दिएको कोइरालाले बताए ।
प्रतिक्रिया 4