+
+
Shares

कांग्रेसले भन्यो : सरकार संकटमा पर्दा विषयान्तर गर्न खोज्छ

सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोडिएका विषयहरू समाजमा सधैं जीवित रहने उनको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लिप्त रहेको आरोप लगाएको छ।
  • प्रवक्ता देवराज चालिसेले सरकारले समस्याको समाधान खोज्नुको साटो नयाँ विषय सिर्जना गरी विषयान्तर गरिरहेको टिप्पणी गरेका छन्।
  • कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा बलियो र स्थिर हुनुपर्ने आफ्नो धारणा पुनः दोहोर्‍याएको छ।

२० साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार नैतिक तथा राजनीतिक संकटमा पर्दा समस्याको समाधान खोज्नुको सट्टा जनताको ध्यान अन्यत्र मोड्ने रणनीतिमा लागेको आरोप लगाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ–नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी गरे ।

‘नेपालको सन्दर्भमा जब सरकार नैतिक संकटमा पर्छ, जब राजनीतिक अक्षमता प्रदर्शित हुन्छ, जतिबेला जनविश्वसको संकटले सरकार घेरिन्छ तब समस्याको समाधान सरकार खोज्दैन,’ उनले भने, ‘त्यो समस्यालाई विषयान्तर गर्न अर्को घटना घटाउँछ । यो चलाखी सरकार गरिरहेको छ । ध्यान मोड्ने प्रयासमा सरकार लिप्त रहेको देखिन्छ ।’

सरकारले जतिसुकै विषयान्तर गर्न खोजे पनि सुशासन, पारदर्शिता, उत्तरदायित्व र नागरिक अधिकारसँग जोडिएका विषयहरू समाजमा सधैं जीवित रहने उनको भनाइ थियो ।

‘केही मुद्दाहरू यस्ता हुन्छन्, जसको महत्व न समयले घटाउन सक्छ, न सरकारी प्रयासले छोप्न सक्छ,’ प्रवक्ता चालिसेले भने । कांग्रेसले वर्तमान सरकार अस्थिर होस् भन्ने चाहना नराखेको स्पष्ट पार्दै सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा बलियो र स्थिर बन्नुपर्ने आफ्नो धारणा दोहोर्‍याएको छ ।

‘हामी सरकारको अस्थिरता चाहँदैनौं । सुशासन, पारदर्शिता र उत्तरदायित्वका आधारमा सरकार बलियो र स्थिर होस् भन्ने चाहना राख्नु हाम्रो कमजोरी होइन,’ प्रवक्ता चालिसेले भने ।

उनले कांग्रेसले कुनै पनि राजनीतिक दलको आन्तरिक विषयमा टिप्पणी गर्न नचाहेको उल्लेख गर्दै सरकारका गतिविधिका कारण लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेका बेला भने मौन बस्न नसकिने बताए ।

‘हामी कुनै पनि दलको आन्तरिक विषयमा टिप्पणी गर्न चाहँदैनौं । तर, सरकारका गतिविधिले लोकतान्त्रिक प्रणाली, संवैधानिक मूल्य र नागरिक अधिकारमाथि प्रश्न उठेको अवस्थामा हामी मौन रहन सक्दैनौं,’ प्रवक्ता चालिसेले भने ।

राजनीतिक घटनाक्रमले सत्तामा पुगेका दल संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक मूल्यमान्यताप्रति समान रूपमा प्रतिबद्ध रहन्छन् भन्ने सुनिश्चितता नहुने देखिएको प्रवक्ता चालिसेको भनाइ थियो ।

‘कहिले काँही सत्तामा पुग्ने बित्तिकै चुनाव जितेका दलहरू संवैधानिक सर्वोच्चताको पक्षमा नरहन सक्छन् भन्ने कुरा पनि विकसित राजनीतिक घटनाक्रमले देखाएको छ,’ उनले भने, ‘विशेष गरेर त्यो दलको विचारधारा, इतिहास, समर्पण भाव र भविश्यले त्यसको लोकतन्त्र प्रतिको विश्वासलाई परीक्षण गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?