+
+
Shares

एलपी ग्यासबारे निगमको दाबी : अस्वाभाविक मागले आपूर्ति प्रभावित, दुई साताभित्र सहज हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १६:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको अस्वाभाविक मागका कारण आपूर्तिमा समस्या भएको बताएका छन् ।
  • बरालले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै दुई हप्ताभित्र ग्यास अभावको समस्या हल भइसक्ने विश्वास व्यक्त गरेका छन् ।
  • निगमले दशैँ–तिहारलाई लक्षित गर्दै मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सरकारसँग पहल गरिरहेको उनले उल्लेख गरेका छन् ।

२० साउन, काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गए पनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताए ।

उनले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको बतबाए ।

उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि आग्रह गरे ।

उनले निगमले भारतीय आयल कर्पोरेसनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको पनि बताए ।

यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको आएको थियो । निगमको उक्त मागअनुसार थप ग्यास तकाल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ ।

उनले निगमले दशैं–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास गरिरहेको पनि बताए ।

बरालले सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैँ–तिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘ग्यासको आयातमा केही वृद्धि भएको छ । तर वास्तवमा हामीले कन्जुमरको डिमान्डलाई व्यवस्थापन गर्न सकिएको अवस्था चाहिँ छैन । उपभोक्ताको माग सम्बोधन गर्नका लागि हामी लागि परेको अवस्था छ ।’

उनले अगाडि थपे, ‘यसबीचमा हिजो उपभोक्ता हित संरक्षण समितिमा पनि कुराहरू उठे । यसका लागि सरकारले नै आग्रह गरेर ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अवस्था भइदियो भने हामीले यो दशैं र तिहारलाई मध्यनजर गरेर जनताको घरमाखाली रहेका सिलिण्डरहरू समेत भरिदिनसक्छौँ । त्यसपछि सामान्य माग आउँछ भन्ने बाटोमा हामी अगाडि बढिरहेका छौँ ।’

उनले बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?