२० साउन, काठमाडौं । सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा देश छाडेर भारतमा निर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले दुई वर्षपछि सार्वजनिक रूपमा मुख खोलेकी छन् ।
बुधबार साँझ भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गर्दै हसिनाले दुई वर्षपछि पहिलो पटक आफ्नो धारणा दिएकी छन् । उनको यो पत्रकार सम्मेलन भिडिओ माध्यमबाट नभई अडिओमा गरिएको छ ।
हसिनाको यो पत्रकार सम्मेलनलाई नयाँ दिल्लीबाट फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसियाले आयोजना गरेको थियो । जसमा हसिना जोडिएकी थिइन् ।
पत्रकार सम्मेलनमा हसिनाले आफ्नो स्वदेश फर्किने योजना, आफ्नो दल आवामी लिग, बंगलादेशको राजनीति, २०२४ को विद्यार्थी आन्दोलन लगायतका विषयमा धारणा सार्वजनिक गरेकी छन् ।
हसिनाले पत्रकार सम्मेलनमा यही वर्ष डिसेम्बरमा बंगलादेश फर्किने कुरा दोहोर्याएकी छन् । जुन कुरा यसअघि पनि समाचारमा आएको थियो ।
‘म आफ्ना जनतामाझ डिसेम्बरमा फर्किनेछु,’ पत्रकार सम्मेलनमा हसिनाले भनिन् । सही समयमा मितिबारे जानकारी दिने उनले बताएकी छन् ।
‘यो त्यो बंगलादेश होइन’
हसिनाले आफूलाई मनगढन्ते र फर्जी केसमा फसाउने कोसिस हुनसक्ने बताएकी छन् । ‘तर, डर जनताप्रति मेरो दायित्व, मेरो जिन्दगी वा अगाडिका बारेमा फैसला गर्न सक्दैन,’ उनले भनिन् ।
पछिल्ला दुई वर्ष बंगलादेशले ठूलो तनाव र दु:ख देखेको पनि उनले बताइन् । उनले अगाडि भनिन्, ‘यो त्यो बंगलादेश होइन, जसलाई हामीले बनाएका थियौं । यो त्यो बंगलादेश होइन जसका लागि १९७१ मा ३० लाख मानिसले बलिदान दिएका थिए ।’
‘विद्यार्थी आन्दोलन शान्तिपूर्ण थिएन’
हसिनाले सन् २०२४ जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलन ‘शान्तिपूर्ण’ नरहेको पनि टिप्पणी गरेकी छन् ।
‘सत्य यो हो कि त्यो कुनै शान्तिपूर्ण विद्यार्थी आन्दोलन थिएन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सुरुवातदेखि नै मेरो सरकारले वार्ता, कानुनी प्रक्रिया र धैर्यताका माध्यमबाट मुद्दालाई शान्तिपूर्ण तरिकाले सुल्झाउने कोसिस गरेको थियो ।’
उनले विद्यार्थी आन्दोलनका पछाडि केही संगठित समूहले काम गरिरहेको पनि दाबी गरेकी छन् । ‘जो विद्यार्थीका मागलाई एक हिंस्रक राजनीतिक हतियारमा बदल्न चाहन्थे,’ पत्रकार सम्मेलनमा क्रममा हसिनाले भनिन् ।
उनले आफ्ना यी कुरा कुनै एक व्यक्तिका रूपमा मात्रै नभनिरहेको पनि दाबी गरिन् । ‘जसले आफ्नो जिन्दगी बंगलादेशका जनतासँग बिताएको छ । र, जसले आफ्नो देशबाट दूर जान बाध्य हुनुपरेको छ । तर, म कहिल्यै पनि आफ्ना मानिससँग अलग भएकी थिइनँ,’ हसिनाले भनिन् ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा
प्रतिक्रिया 4