+
+
Shares
काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना :

रत्नपार्क-भक्तपुर मेट्रोरेल, चाबहिल-गौशालामा दुईतले सुरुङमार्ग

सरकारले जापानी सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार पारेको छ । यसअघि तीन पटकसम्म उस्तै प्रकारका गुरुयोजना बनाउँदै थन्काउँदै गरेको सरकारले यस पटक चौथो गुरुयोजना बनाएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८३ साउन २१ गते २०:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जापानी सहयोग नियोगको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका शहरी यातायात प्रणालीको नयाँ गुरुयोजना सार्वजनिक गरेको छ।
  • यो गुरुयोजनाले रत्नपार्क–भक्तपुर मेट्रोरेल, चक्रपथमा बस र्‍यापिड ट्रान्जिट र विभिन्न स्थानमा सुरुङमार्ग निर्माणसहितका १५ मुख्य पूर्वाधार परियोजना अगाडि सारेको छ।
  • सन् २०५० सम्मको जनसंख्या वृद्धि र यातायात चापलाई लक्षित गरिएको यो गुरुयोजना कार्यान्वयनका लागि २ खर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ।

२१ साउन, काठमाडौं । सरकारले जापानी सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगमा काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना तयार पारेको छ ।

यसअघि तीन पटकसम्म उस्तै प्रकारका गुरुयोजना बनाउँदै थन्काउँदै गरेको सरकारले यस पटक चौथो गुरुयोजना बनाएको हो । सन् १९९३, सन् २०१२ र २०१७ मा समेत मास्टरप्लान बनाइएको छ, तर कार्यान्वयन गरिएन । बिहीबार पूर्वाधार विकास मन्त्रालय र जाइकाले संयुक्त रुपमा यस गुरुयोजनाको अवधारणा सार्वजनिक गरेका छन् ।

छलफलबाट आएका सुझाव समेत समावेश गरी गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गराउने योजना रहेको पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा चक्रथपमा मास ट्रान्जिट सिस्टम, रत्नपार्क–भक्तपुर रुटमा उच्च क्षमताको सार्वजनिक यातायात सञ्चालन गर्नेसहित मास्टरप्लान बनाइएको हो । गुरुयोजना अनुसारका आयोजना कार्यान्वयन गर्दा २ खर्ब माथि लागत लाग्ने अनुमान छ ।

रत्नपार्क–भक्तपुर मेट्रोरेल

गुरुयोजनाले काठमाडौं उपत्यकामा उच्च क्षमताका सार्वजनिक यातायात सञ्चालनका लागि तीन रुट उपयुक्त हुने बताएको छ । जसमा चक्रथप, उत्तर–दक्षिण रुट र पूर्व–पश्चिम रुट छन् ।

यसमध्ये पूर्व–पश्चिम अर्थात् रत्नपाकदेखि–भक्तपुरसम्म मेट्रोरेललाई पूर्व सम्भाव्यता अध्ययनका लागि प्राथमिकतामा राखिएको छ । सो मेट्रोलाई विभिन्न स्थानमा बस र्‍यापिड ट्रान्जिटसँग एकीकृत गराउँदै सुर्वसुलभ र सुरक्षित सार्वजनिक यातायात विकासको लक्ष्य राखिएको छ ।

सहरीको भित्री इलाका र जडिबुटी/कोटेश्वर खण्डमा समेत अन्डरग्राउन्ड रुटबाट मेट्रो सञ्चालनको योजना मास्टर प्लानमा समेटिएको छ । यो मेट्रोरेलको लम्बाई १४.६ किलोमिटर बराबर हुनेछ ।

चक्रथपमा बस र्‍यापिड ट्रान्जिट बनाएर सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव गरिएको छ । उच्च यात्रु क्षमताका सार्वजनिक बसलाई डेडिकेटेड लेनमा सञ्चालनको योजना छ । चाबहिल–गौशाला खण्डमा भने यस्ता लेन व्यवहारिक हुने छैन ।

१५ सडक–पुल पूर्वाधार

सडक पूर्वाधारतर्फ कुल १५ वटा परियोजना मास्टरप्लानमा राखिएको छ । महाराजगन्जमा ३०८ मिटर लम्बाईको अन्डरपास निर्माणको योजना समेटिएको छ । चाबहिल–गौशालामा १५ सय ६२ मिटर लामो दुई तले सुरुङमार्ग बनाइने छ । यस सडक खण्डको दुबैतर्फ विश्व सम्पदा सूचीमा सूचिकृत संरचना रहेको भन्दै मास्टरप्लानमा सुरुङमार्गको अवधारणा ल्याइएको हो ।

यद्यपी ऐतिहासिक, सांस्कृतिक वा पुरातात्त्विक सम्पदामा पार्न सक्ने प्रभावको अध्ययन र मूल्याङ्कन (हेरिटेज इम्प्याक्ट एसेसमेन्ट) पछि मात्र यहाँ परियोजनाको प्रक्रिया अगाडि बढ्नेछ । मास्टरप्लान अनुसार हालको ४ लेन सडक यथावत राखी जमिनमुनि चार लेन सडक थप हुनेछ । विष्णुमती रिभर करिडोरमा ३४ सय मिटर लम्बाइको इलिभेटेड हाइवे (आकासे राजमार्ग) निर्माणको प्रस्ताव गरिएको छ । चक्रपथको गौशाला–तीनकुने खण्ड २५ सय १९ मिटरलाई भने विस्तार गरिनेछ ।

थापाथली–त्रिपुरेश्वर खण्डमा नयाँ नदी करिडोर निर्माणको प्रस्ताव गरिएको छ । बागमती नदी करिडोरको स्तरोन्नति र यूएन पार्क पुल विस्तारको अवधारणा मास्टरप्लानमा समेटिएको छ । विष्णुमती खोलामा नयाँ पुल निर्माण गरिने छ । धोवीखोलामा समेत नयाँ पुल निर्माण मास्टरप्लानमा राखिएको छ ।

कर्मनासा र ग्वार्कोमा समेत नयाँ पुल निर्माण गर्ने मास्टर प्लान छ । थापाथलीमा नयाँ पुल निर्माण गरिने छ । चक्रपथ जोड्ने सहायक मार्गहरूको विकास र विस्तारसँगै बालाजु–विष्णुमती रिभर करिडोर निर्माण समेत यसै मास्टप्लानको हिस्सा बनाउन थालिएको छ ।

यातायात सेवा सुधार

पूर्वाधारसँगै मास्टरप्लानमा समग्र यातायात क्षेत्र सुधारका लागि अन्य सरोकारवाला क्षेत्रमा समेत सुधार गरिने उल्लेख छ । मुख्य मुख्य सडकमा युलिटिली करिडोर निर्माण गरिने छ । ठमेल र उपत्यकाका तीन वटै दरबार स्क्वायरलाई कार फ्री जोन घोषणा गरिने छ । उपत्यकाका चोक सुधारका योजना यसमा समेटिएको छ ।

साइकल लेन निर्माण र सडक सुरक्षा परियोजनामा काम गर्ने समेत मास्टरप्लानमा राखिएको छ । यसबाहेक आपतकालीन समयमा मुख्य राजमार्गहरू बन्द हुँदा एम्बुलेन्स तथा अन्य सेवा सुचारु गर्न इमर्जेन्सी रोड नेटवर्क निर्माण गरिने उल्लेख छ । अधिक सवारी चाप हुने क्षेत्र पहिचान गरी अफ स्ट्रिट पार्किङ बनाउने योजना छ । मास्टरप्लानले यस्तो पार्किङ रत्नपार्कजस्ता क्षेत्रमा उपयुक्त हुने उल्लेख गरेको छ ।

बढ्दो जनसंख्यालाई लक्षित गर्दै बनाइएको हो गुरुयोजना

जाइकाले प्रस्तुत गरेको यस गुरुयोजनालाई बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै निर्माण गरिएको बताएको छ । सन् २०११ मा २४ लाख २४ हजार रहेको काठमाडौंको जनसंख्या सन् २०२१ मा २९ लाख ३६ हजार ४६२ पुगेको अनुमान छ ।

सन् २०५० सम्म जनसंख्या ४२ लाख १ हजार पुग्ने र सो जनसंख्याले मास्टरप्लानमा प्रस्ताव गरिएका पूर्वाधार धान्न सक्ने अनुमानसहित यस्तो गुरुयोजना अगाडि बढाएको जाइका र मन्त्रालयको धारणा छ । उपत्यकामा पछिल्लो समय केन्द्रबाट टाढा टाढाका बस्तीमा जनसंख्या विस्तार हुन लागेको भन्दै सोही अनुसार यातायात पूर्वाधार विकासको योजना बनाएको कार्यक्रममा जानकारी दिइयो ।

वर्तमान ट्राफिक प्रणाली अनुसार गौशाला, कोटेश्वरजस्ता चोकमा अधिक समस्या छ । कोटेश्वरमा जाइकाकै सहयोगमा अन्डपास र फ्लाइओभर निर्माणको योजना अगाडि बढेको छ । जाइकाले सो परियोजनाले चोक सुधारको काम गर्ने भन्दै मास ट्रान्सपोर्टेसन सुधारमा गुरुयोजना अनुसार काम गर्नुपर्ने बताएको छ ।

मास्टप्लानमा काठमाडौंमा यातायातको मुख्य समस्याका रुपमा साँघुरा सडक र बोटल नेक, अपर्याप्त पुल र अप्रोच सडक, पार्किङको अभाव, चोकहरूमा वैज्ञानिक ट्राफिक लाइट प्रणालीको अभाव, बढ्दो दुर्घटना, चालकहरूमा अनुशासनको अभाव र कमजोर नियमनलाई मानिएको छ ।

यी पक्षमा सुधारका योजना मास्टरप्लानमा राखिएका छन् । पछिल्लो समय उपत्यकामा मोटरसाइकलको अधिक चाप रहेको भन्दै सार्वजनिक यातायात र प्रणाली सुधार गरी सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्य मास्टरप्लानमा छ ।

उपत्यकामा २ सय भन्दा बढी रुट, ६५ भन्दा बढी यातायात समिति, ७ सयदेखि १ हजार ठूला बस चल्ने अनुमान छ । मिनीबस र माइक्रोबस ४ हजारसम्म, टेम्पो ७ सयसम्म र ट्याक्सी १२ हजार हाराहारी रहेको अनुमान छ ।

यसकारण बनाइएको हो मास्टरप्लान

पूर्वाधार विकास मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार पूर्वाधार विकास मन्त्रालयका सचिवको अध्यक्षतामा गठित समितिको अग्रसरतामा यो मास्टरप्लान तयार पारिएको हो । जसमा जाइकाले प्राविधिक सहयोग गरेको छ । मास्टरप्लानले सन् २०५० सम्मको सार्वजनिक यातायातको सुधार र विकासलाई लक्षित गरेको छ ।

सार्वजनिक यातायातलाई सर्वसुलभ र सुरक्षित बनाउने उद्देश्यसहित गुरुयोजना कार्यान्वयन गर्न लागिएको उनले जानकारी दिए । राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले पछिल्लो समय उपत्यकामा सडक पूर्वाधारमा धेरै काम भए पनि ती गुरुयोजना अनुरुप नभएको बताए ।

सन २०१७ मा बनेको गुरुयोजना कार्यान्वयन हुन नसकेसँगै सरकारले त्यसलाई अपडेट गरी अझ उन्नत गुरुयोजना बनाउन लागेको उनले जानकारी दिए । यसले सार्वजनिक यातायात संरचनाको वर्तमान अवस्था देखाउँदै भविष्य तय गर्ने समेत बताए । गौशाला–चाबहिल रुटमा सम्पदा क्षेत्र रहेको भन्दै सुरुङमार्गको अवधारणा ल्याइएको उनले जानकारी दिए ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?