News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सिप विकास कार्यक्रमअन्तर्गत छनोट भएका उत्कृष्ट २० उद्यमीले काठमाडौँमा आफ्नो व्यवसाय प्रस्तुत गर्दैछन् ।
- तीन दिने आवासीय कार्यक्रममा उद्यमीहरूले व्यवसाय विस्तार, लगानी तयारी, एआई प्रयोग र बजार व्यवस्थापनलगायत विषयमा गहन प्रशिक्षण लिइरहेका छन् ।
- अमेरिकी दूतावासका माइक हार्करले नेपाली उद्यमीमा गरिएको लगानीले अमेरिका–नेपाल आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
२१ साउन, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सिप विकास कार्यक्रम अन्तर्गत ‘क्यापस्टोन एक्सेलेरेटर’ अन्तिम चरणमा पुगेको छ ।
देशभरिका ७ सहरबाट प्रतिस्पर्धात्मक छनोट मार्फत उत्कृष्ट २० उद्यमीले शुक्रबार (२२ साउन) मा काठमाडौंमा आफ्ना व्यवसाय लगानीकर्ता, उद्योगी तथा उद्यमशीलता क्षेत्रका सरोकारवाला समक्ष प्रस्तुत गर्ने भएका छन् ।
देशभरि सञ्चालन गरिएका क्षेत्रीय कार्यशालामा सहभागी २ सय उद्यमीमध्ये उत्कृष्ट २० जना राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका छन् ।
काठमाडौंमा आयोजना गरिएको तीन दिने आवासीय कार्यक्रममा उनीहरूले व्यवसाय विस्तार, लगानी तयारी, निर्यात सम्भावना, कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग, बजार व्यवस्थापन तथा रणनीतिक सञ्चार लगायत विषयमा प्रशिक्षण लिइरहेका छन् ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा आयोजना हुने ‘लगानी तथा विश्व बजार केन्द्रित पिचिङ सत्र’ मा सहभागीले आफ्ना व्यवसाय विशेषज्ञ प्यानल समक्ष प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार यो प्रतिस्पर्धा नभई उद्यमीलाई बजार विस्तार, लगानी आकर्षित गर्ने क्षमता, नवप्रवर्तन तथा निर्यात सम्भावनाबारे व्यावहारिक सुझाव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रम समापन ‘क्यापस्टोन मेन स्ट्रिट शोकेस’ बाट हुनेछ । अमेरिकी ‘मेन स्ट्रिट’ अवधारणाबाट प्रेरित उक्त प्रदर्शनीमा सहभागीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन् ।
यसले उनीहरूलाई लगानीकर्ता, उद्योगी, एमच्याम नेपाल तथा अन्य अमेरिकी व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष संवाद गर्न, बजारबाट प्रतिक्रिया लिन र नयाँ व्यावसायिक सहकार्यका अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अमेरिकी दूतावास नेपालका पब्लिक अफेयर्स प्रमुख माइक हार्करले नेपाली उद्यमीमा गरिएको लगानीले अमेरिका–नेपाल आर्थिक साझेदारी थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रमबाट उद्यमीलाई आवश्यक सिप, व्यावसायिक सञ्जाल र विश्वव्यापी दृष्टिकोण प्रदान गर्दै व्यापार, लगानी, नवप्रवर्तन तथा निजी क्षेत्रीय सहकार्यका नयाँ अवसर सिर्जना गर्ने उनले बताए ।
क्यापस्टोन एक्सेलेरेटर अमेरिकी दूतावासको सहयोगमा सञ्चालित उद्यमशीलता सिप विकास कार्यक्रम अन्तिम चरण हो । कार्यक्रम इन्टरनेसनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) ले आद्यन्त एड्भाइजरीसँगको साझेदारीमा कार्यान्वयन गरिरहेको छ ।
यसअघि नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, भैरहवा र पोखरामा सञ्चालन गरिएका क्षेत्रीय कार्यशाला मार्फत २ सय उद्यमी लाभान्वित भएका थिए ।
त्यसपछि सहभागीले कानुनी अनुपालन, निर्यात तयारी, एआईमा आधारित व्यवसाय विस्तार तथा डिजिटल मार्केटिङ सम्बन्धी भर्चुअल मास्टरक्लासमा सहभागिता जनाएका थिए । तीमध्ये उत्कृष्ट २० उद्यमी राष्ट्रिय क्यापस्टोन एक्सेलेरेटरका लागि छनोट भएका हुन् ।
छनोट भएका उद्यमी कृषि तथा कृषि प्रशोधन, खाद्य तथा पेय पदार्थ, सूचना प्रविधि, उत्पादन, सिर्जनात्मक उद्योग, परामर्श सेवा, डिजिटल सेवा, प्राकृतिक उत्पादन, हस्तकला, सहकारी तथा सामाजिक उद्यम लगायत विविध क्षेत्रमा सक्रिय छन् ।
उनीहरूले नवप्रवर्तन, रोजगारी सिर्जना तथा नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने सम्भावना भएका उद्यम प्रतिनिधित्व गर्छन् ।
प्रतिक्रिया 4