२१ साउन, गण्डकी । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन् । पोखरामा बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा राजदूत बासले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताएका हुन् ।
राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताए । ‘केयर गिभर’का रूपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो ।
राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिए ।
सन् २००१ देखि सञ्चालनमा रहेको ‘सिक्दै, कमाउँदै’ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनरत नेपाली विद्यार्थीले व्यावहारिक र सीपमूलक प्रशिक्षणको अवसर पाइरहको उनले बताए ।
उक्त कार्यक्रममार्फत विद्यार्थीले केवल सैद्धान्तिक ज्ञान मात्र नभई आधुनिक कृषि प्रविधिको प्रत्यक्ष अनुभवसमेत प्राप्त गर्ने गरेको उनको भनाइ थियो । उक्त कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाहरूले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको राजदूत बासले बताए ।
इजरायलले आफ्नो प्रविधि र अनुभव विकासशील देशहरूसँग साझेदारी गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राजदूत बासले बताए ।
प्रतिक्रिया 4